सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान नपाइने, खुम्बु पासाङल्हामु गाउँपालिकाले लगायो प्रतिबन्ध « Eglish Khabarhub

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान नपाइने, खुम्बु पासाङल्हामु गाउँपालिकाले लगायो प्रतिबन्ध



सोलुखुम्बु । खुम्बु पासाङल्हमु गाउँपालिकाले हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउने भएको छ । गाउँपालिकाले हेलिकप्टरको अनियन्त्रित प्रयोगले पर्यटन व्यवस्थापनमा असर पुर्‍याएको भन्दै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

हेलिकप्टर उडानमा प्रतिबन्ध पुस १७ गते वा जनवरी १ तारिखबाट कार्यान्वयनमा आउनेछ । गाउँपालिकाको मंसिर २२ गते बसेको कार्यपालिका बैठकले यो निर्णय गरेको हो । यस्तै सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा खुम्बु क्षेत्रका सरोकारवालको मंसिर २५ गते बसेको वैठकले समेत आपतकालीनबाहेक हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

अनावश्यक हेलिकप्टर उडानका कारण स्थानीय व्यापार, वातावरण र पर्यटन व्यवस्थापनमा नकारात्मक असर परेको गुनासो आउन थालेपछि गाउँपालिकाले यस्तो कदम चालेको जनाएको छ । स्वास्थ्य आपतकालीन सेवाका लागि मात्र हेलिकप्टरको उडान गर्न अनुमति दिइनेछ भने अन्य प्रयोजनका लागि हेलिकप्टर उडान पूर्ण रूपमा प्रतिबन्धित हुने जनाइएको छ ।

गाउँपालिकाले हेलिकप्टरको अनावश्यक प्रयोगले स्थानीय वातावरणमा अस्थिरता ल्याएको, पर्यटनको दिगो विकासमा चुनौती खडा गरेको र व्यवसायमा समेत असर पुर्‍याएको ठहर गरेको छ । यस निर्णयले हेलिकप्टर कम्पनीहरूको अनियमित उडान नियन्त्रण गर्ने र स्थानीय पर्यटन व्यवसायलाई व्यवस्थित बनाउने विश्वास गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र पर्यटन व्यवसायीहरूसँगको सहकार्यमा यस निर्णय कार्यान्वयन गरिने बताइएको छ। गाउँपालिकाले हेलिकप्टर कम्पनीहरूलाई यो नियम पालना गर्न र उल्लंघन गरेमा कानुनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएको छ। साथै, स्थानीय समुदाय, पर्यटन व्यवसायी र सबै सरोकारवालालाई यस निर्णयमा पूर्ण सहयोग गर्न अनुरोध गरिएको छ ।

गाउँपालिकाले पर्यटन क्षेत्रको दीर्घकालीन हितका लागि यो कदम आवश्यक भएको बताउँदै यसले खुम्बु क्षेत्रको पर्यावरण संरक्षण र पर्यटन व्यवस्थापनलाई प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ ।

यसअघि मंसिर २८ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानको विषय आफ्नो अधिकार क्षेत्रको भएको भन्दै विज्ञप्ति जारी गरेको थियो । त्यसअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्राधिकरणलाई संरक्षण क्षेत्र आफ्नो अधिकारो क्षेत्र रहेको भन्दै खुम्बु क्षेत्रका पर्यटन, वातावरण, तथा जनजीवनमा हेलिकप्टर उडानको अनियन्त्रित प्रयोगले नकारात्मक असर पारिरहेको कारण उडानमा पूर्ण रोक लगाउन पत्राचार गरेको थियो ।

Publish on: