२९ मंसिर २०८२, आइतबार

बादल माथिको मानुङकोट (तस्बिरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि निकै भिड लाग्न थालेको छ ।

जाडो मौसम लागेसँगै मानुङकोट एकाबिहानै भीड बढ्न थालेको छ । प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ।डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर पनि बनिसकेको छ। मौसम खुलेसँगै उक्त ठाउँ देखि धौलागिरी, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुछ्रेजस्ता थुप्रै हिमश्रृङ्खला देखिन्छ। दमौली बजार, मादी नदी, रिसिंग, साङ्गे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादी पनि देख्न सकिन्छ।

पौराणिक किम्बदन्ती अनुसार महर्षी वेद व्यासकी माता मत्स्यगन्धासँग प्रेममा थिए महर्षी परासर। उनीसँगको प्रेमलीला अरुले नदेखुन् भन्ने हेतुले महर्षी परासरले कुहिरोको उत्पति गरेको कथन छ भने मनुङकोट डाँडाबाटै कुहिरोको उत्पति भएको हो पनि भन्ने गरिन्छ ।

काठमाडौँ देखि १६० किलोमिटर र पोखरा देखि ५५ किलोमिटर दूरीमा पर्ने मानुङकोट पुग्न तनहुँ जिल्लाको सदरमुकाम दमौलीदेखि मनुङकोट १० किलोमीटर लामो कतै पिच कतै कच्ची बाटो छिचोल्नु पर्छ ।

गन्तव्यसम्म स्कुटर, बाइक, गाडीमा सजिलै पुग्न सकिन्छ। पैदल यात्रीले भने दमौलीदेखि करिब १ घण्टा हिँड्नु पर्छ । विशेष गरेर शुक्रबार र शनिबार बढी भीड हुने मानुङकोटमा शनिबार मात्र ५ हजारभन्दा बढी पर्यटक पुग्ने गरेको होटेल सञ्चालकहरु बताउँछन् ।

खानेपानीको अभावमा विसं २०५२ साल तिर स्थानीयवासीले त्यस ठाउँ, गाउँ छाडेका थिए । अहिले पनि खाने पानीको भने दुख नै छ । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । अहिले त्यहाँ बस्न र खानको लागि प्रसस्त होटेल खाजा घरसमेत खुलेका छन् ।

तस्बिरहरु- नेपाल फोटो लाईब्रेरी