विश्व फुटबलमा सबैभन्दा धेरै कमाउने शीर्ष ५ खेलाडी: रोनाल्डोको सम्पत्ति १ खर्ब बढी, मेस्सीको कति ? « Eglish Khabarhub

विश्व फुटबलमा सबैभन्दा धेरै कमाउने शीर्ष ५ खेलाडी: रोनाल्डोको सम्पत्ति १ खर्ब बढी, मेस्सीको कति ?

विभिन्न क्षेत्रमा लगानी, निजी विमानदेखि समाजसेवामा खर्च


१७ पुस २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एजेन्सी । साउदी प्रो लिग क्लबहरुले पछिल्लो दुई खेलाडी ट्रान्सफरमा मात्र करिब करिब १ बिलियन खर्च गरेका छन् ।

फुटबलको शक्ति मानिने राष्ट्रका लागि यो खर्च निकै ठूलो मानिएको छ । युरोपमा चर्चा कमाएका खेलाडीहरु क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा, नेयमार जस्ता खेलाडीलाई अनुबन्ध गर्न साउदी सफल भयो ।

विश्वको सर्वाधिक कमाउने खेलाडीहरुमा साउदी प्रो लिगका खेलाडीहरु धेरै छन् । विश्वका १० सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीहरु मध्ये धेरै साउदी प्रो लिगका छन्।

वर्षमा उनीहरुले गर्ने कमाइ, सामाजिक सञ्जालबाट हुने कमाइ र व्यापारिक प्रयोजनबाट आउने आम्दानीलाई लिँदा शीर्ष १० मध्य ४ जना त्यसैमा रहेको पाइएको फोर्व्समा उल्लेख गरिएको छ।

विश्वको सबैभन्दा धेरै कमाइ गर्ने खेलाडी पोर्चुगिज स्टार खेलाडी रोनाल्डो हुन् । उनी मोटो रकममा साउदी प्रो लिग क्लब अल नासार गएका थिए । उनी मासिक रुपमा पनि धेरै आम्दानी गर्छन् ।

कसको कमाइ कति ?

१) क्रिस्टियानो रोलाल्डो

रोनाल्डो विश्व फुटबलमा सर्वाधिक कमाउने खेलाडी हुन् । रोनाल्डोको सामाजिक सञ्जाल इन्स्टाग्राम, फेसबुक र एक्स (पहिले ट्विटर) मा ९०० मिलियन भन्दा बढी फलोअर रहेका छन् । रोनाल्डो विश्वका सबैभन्दा लोकप्रिय एथलीट हुन् ।

उनको अनलाइन उपस्थिति हालै अगस्टमा युट्युब च्यानलको सुरुवातसँगै अझ धेरै भएको हो । ‘यूआर क्रिस्टियानो’ ले आफ्नो स्रोता, दर्शकको संख्या लगभग ७२ मिलियन पुगेको छ उनको च्यानलमा ८५ भिडियोहरु छन् ।

रोनाल्डोले अन द फिल्डबाट २२० मिलियन अमेरिकी डलर कमाउँछन् । उनी फुटबल अफ द फिल्ड ६५ मिलियन कमाउँछन् । यसबाट जम्मा रकम २८५ मिलियन (३९ अर्ब १४ करोड नेपाली रुपैयाँ) उनको वार्षिक कमाइ हुन आउँछ । ३९ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो अहिले अल नासरबाट खेलिरहेका छन् ।

रोनाल्डोको सम्पत्ति कति ?

रोनाल्डो नसरसँग जोडिएपछि ८०० मिलियन अमेरिकी डलर (१ खर्ब ९ अर्ब ८७ करोड नेपाली रुपैयाँ) को सम्पत्ति उल्लेखनीय रूपमा बढेको छ । रोनाल्डोले फुटबल बाहेक विभिन्न व्यवसायिक परियोजनाहरूमा लगानी गर्दै आफ्नो आर्थिक सामर्थ्यलाई विस्तार गरेका छन्। उनले म्याड्रिड, लिस्बन र न्युयोर्कमा रहेको आफ्नो सीआर सेभेन होटल चेन, इन्स्पारिया हेयर ट्रान्सप्लान्ट क्लिनिक, तथा पहिरन, इत्र र जुत्ताको ब्रान्डद्वारा राम्रो आम्दानी गरेका छन्।

रोनाल्डोको लगानी आधुनिक पाडेल क्लब, पानी ब्रान्ड यूआरएसयू९, तथा नाइक, हर्बालाइफ र क्लियर श्याम्पुजस्ता विश्वव्यापी ब्रान्डहरूसँगको सफल प्रायोजनहरूमा पनि रहेको छ ।

रोनाल्डोसँग विश्वका महँगा कारहरु, निजी विमानहरू रहेका छन् । रियल म्याड्रिडका खेलाडी हुँदा उनले २०१५ मा गुल्फस्ट्रिम जी २०० विमान खरिद गर्न २५ मिलियन खर्च गरेका थिए ।

त्यस्तै गुल्फस्ट्रिम जी ६५० विमान पनि उनीसँग रहेको छ । यसको मूल्य ७३ मिलियन भन्दा बढी रहेको जनाइएको छ ।

रोनाल्डो परोपकारी काममा पनि लाग्ने गरेका छन् ।

रोनाल्डोले आफ्नो अनुमानित ७६६ मिलियन यूरो सम्पत्तिको ठूलो हिस्सा विभिन्न परोपकारी कारणहरूको लागि दान गरेका छन् । उनले बालबालिका, प्राकृतिक प्रकोपमा प्रभावित समुदायहरू र विभिन्न संस्थाहरूलाई दान गरेका छन्।

२०१५ मा उनले पोर्चुगलको एक बाल अस्पतालमा ७ मिलियन यूरो दान दिएका थिए । रोनाल्डोले २०१४ देखि सेभ द चिल्ड्रेन जस्ता संस्थाहरूसँग काम गर्दै बालबालिका र उनीहरूको भलाइका लागि काम गर्दै आएका छन्। उनले बालदारी, भोकमरी, र शिक्षासम्बन्धी मुद्दाहरूमा ध्यान केन्द्रित गर्दै ठूलो रकम दान गरेका छन्।

२०२० मा रोनाल्डोले सीआर सेभेन फाउन्डेशन स्थापना गरेका छन् । जसले सामाजिक जिम्मेवारीको प्रचार गर्दै गरिब बालबालिकाहरूका लागि स्वास्थ्य र शैक्षिक कार्यक्रमहरूको कार्यान्वयन गर्छ ।

२) लियोनल मेस्सी

अर्जेन्टिनालाई विश्वकप जिताउन सफल खेलाडी हुन् लियोनल मेस्सी । विश्व फुटलमा मेस्सीले खेलेको सबै प्रकारका प्रतियोगिताको उपाधि उचाली सकेका छन्।

अर्जेन्टिनालाई लगातार दुई पटक कोपा अमेरिकाको उपाधि दिलाएका मेस्सी विश्व फुटबलमा सर्वाधिक कमाउने खेलाडीको सूचीको दोस्रो स्थानमा छन् । मेस्सीको अन द फिल्ड कमाइ ६० मिलियन डलर छ । त्यस्तै उनको अफ द फिल्ड कमाइ ७५ मिलियन डलर छ ।

अमेरिकी क्लब इन्टर मायामीका स्टार खेलाडी मेस्सीको कमाइ १३५ मिलियन डलर(१८ अर्ब ५४ करोड नेपाली रुपैयाँ) छ । मेस्सी सन् २०२६ को विश्वकप पनि खेल्ने बताइएको छ ।

मेस्सीको सम्पत्ति कति?

६५० मिलियन अमेरिकी डलरभन्दा बढी (९० अर्ब नेपाली रुपैयाँ) सम्पत्तिसहित र करियरभरि १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ मेस्सीले गरेका छन् । पेरिस सेन्टजर्मन र इन्टर मियामीतर्फका ठूला स्थानान्तरण र आकर्षक सम्झौताहरूले उनको आर्थिक अवस्थालाई उल्लेखनीय रूपमा सुदृढ बनाएका छन्।

फुटबल आम्दानीबाहेक, मेस्सीले एप्पल, एडिडास, पेप्सी, बुडवाइजर, गेटोरेड, र मास्टरकार्ड जस्ता प्रतिष्ठित ब्रान्डहरूसँगको प्रायोजनबाट ठूलो आम्दानी गरेका छन् । फोर्ब्सका अनुसार, २०२३ मा उनको कुल कमाई करिब १३५ मिलियन अमेरिकी डलर पुगेको छ।

फुटबल बाहिर पनि मेस्सीले व्यावसायिक क्षेत्रमा महत्त्वपूर्ण पाइला चालेका छन्। उनले मिडिया, खेलकुद, र प्रविधिमा लगानी गर्न समर्पित २०० मिलियन अमेरिकी डलरको प्ले टाइम स्पोर्टस् टेक होल्डिङ कम्पनी स्थापना गरेका छन्।

मेस्सीले स्पेनमा एमआईएम होटल चेन सञ्चालन गर्छन्, आफ्नो कपडाको ब्रान्डमार्फत फेसन व्यवसायमा प्रवेश गरेका छन्, र विलासी घडी निर्माता ज्याकोब एण्ड सीओसँग साझेदारी गरेर घडीको श्रृंखला सार्वजनिक गरेका छन् ।

मेस्सीको भव्य कार सङ्ग्रह रहेको छ भने उनको निजी विमान गल्फस्ट्रिम जेट यसमा थप आकर्षणको प्रतीक हो । सन् २०१८ मा अर्जेन्टिनामा दर्ता गरिएको यो विमान करिब १५ मिलियन अमेरिकी डलर मूल्य पर्छ ।

यो निजी विमानमा १६ जना यात्रुका लागि सीट, प्लेस्टेशन ५, टिभीहरू, पूर्ण रूपमा सुसज्जित भान्सा, र दुईवटा बाथरूम छन् । यसमा रहेका रोल्स-रोयस इन्जिनहरूले यसलाई ९४० किमी प्रतिघण्टाको वेगमा उडान गर्न र १०,००० किमीभन्दा बढी दूरी तय गर्न सक्षम बनाउने जनाइएको छ ।

मेस्सीले आफ्नो सम्पत्ति र प्रभावलाई सामाजिक सेवाका लागि उपयोग गरेर मानवताका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

सन् २००७ मा स्थापना गरिएको लियो मेस्सी फाउन्डेसनले विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको छ । यो संस्थाको उद्देश्य गरीब बालबालिकाहरूलाई शिक्षा र स्वास्थ्यसेवा प्रदान गर्न सुनिश्चित गर्नु हो । यस संस्थाले आर्थिक रूपले कमजोर बालबालिकाहरूका लागि छात्रवृत्ति, औषधि उपचार, र खेलकुद कार्यक्रमहरूजस्ता थुप्रै परियोजनाहरूलाई समर्थन गर्दै आएको छ ।

३) नेयमार

ब्राजिलियन स्टार खेलाडी नेयमार सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध हुँदा नै उनको चर्चा चलेको थियो ।

बार्सिलोनाका पूर्वकप्तान लियोनल मेस्सी रहँदा उनको छायामा परेको भन्दै उनी पीएसजी गएका थिए । तर, पछि घाइते भएपछि धेरै खेल उनले गुमाउन पुगे ।

हाल साउदी प्रो लिग क्लब अल हिलालबाट खेलिरहेका नेयमार सर्वाधिक कमाउने खेलाडीको सूचीको तेस्रो स्थानमा छन् ।

उनको खेल मैदान भित्रको कमाइ ८० मिलियन डलर रहेको छ । ३२ वर्षीय स्टारको मैदान बाहिरको कमाइ ३० मिलियन डलर रहेको छ । समग्रमा उने कमाई ११० मिलियन डलर (१५ अर्ब १० करोड नेपाली रुपैयाँ) छ ।

नेयमारसँग निजी विमान

नेयमारक कूल सम्पत्ति २५० मिलियन अमेरिकी डलर (३४ अर्ब ३३ करोड रुपैयाँ) रहेको जनाइएको छ ।

बार्सिलोनाबाट पेरिस सेन्टजर्मन र त्यसपछि साउदी अरबको क्लब अल हिलालसम्मको यात्रा गर्दै नेयमारले आफूलाई विश्वका सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडीहरूमध्ये स्थिर रूपमा सूचीबद्ध गराएका छन् ।

ब्राजिलको सान्तोस क्लबसँगको पहिलो कार्यकाललाई छोडेर हेर्दा, नेयमारले आफ्नो करियरभरि पुम, रेड बुल, र पोकरस्टार्सजस्ता ब्रान्डहरूसँगको प्रायोजन सम्झौताबाट कम्तीमा ७१७.५ मिलियन अमेरिकी डलर आर्जन गरेका छन्।

उनको अपार सम्पत्ति एक विलासी जीवनशैलीमा स्पष्ट देखिन्छ । अल हिलालले नेयमारलाई बोइङ ७४७-४०० निजी जेट उपहार दिएको थियो, जसको मूल्य २२ करोड अमेरिकी डलर छ । यो जेटमा मास्टर सुइट, विलासी छालाका आन्तरिक सजावट, र सिंहासनजस्तो सुनौलो सीट पनि रहेको छ।

परिवारद्वारा सञ्चालन गरिएको उनको कम्पनी एनआर स्पोर्टस्ले नेयमारको ब्रान्ड र छविसम्बन्धी अधिकारहरूको व्यवस्थापन गर्दै आएको छ । संगीत, चलचित्र, र अन्य क्षेत्रका स्टारहरूसँगको निरन्तर सहकार्यले पनि उनको आर्थिक साम्राज्यलाई ठूलो मद्दत पुर्‍याएको छ ।

४) करिम बेन्जिमा

फ्रान्सेली स्टार खेलाडी करिम बेन्जिमा क्लब फुटबलमा राम्रोसँग जमेका खेलाडी हुन् । विश्व फुटबलमा आफ्नो बेग्लै छाप छोड्न सफल बेन्जिमा सर्वाधिक कमाई गर्ने खेलाडीको सूचीको चौथो स्थानमा छन् ।

स्पेनिस क्लब रियल मड्रिडबाट साउदी प्रो लिग क्लब अल इतिहादमा जाँदा नै उनको कमाइ दोब्बर भएको थियो । ३६ वर्षीय स्टार खेलाडी बेन्जिमाको मैदान भित्रको कमाइ धेरै छ ।

उनको मैदान भित्रको कमाइ १०० मिलियन डलर रहेको छ । बेन्जिमाको मैदान बाहिरको कमाइ ४ मिलियन डलर छ । समग्रमा उनको कमाई १०४ मिलियन डलर(१४ अर्ब २८ करोड रुपैयाँ) छ ।

करिम बेन्जिमाको सम्पत्ति कति ?

करिम बेन्जिमाको कुल सम्पत्ति २०० मिलियन अमेरिकी डलर (२७ अर्ब ४६ करोड रुपैयाँ) रहेको छ । स्पेनिस क्लब रियल म्याड्रिडमा १४ वर्ष खेलेका बेन्जिमाले पाँच च्याम्पियन्स लिग, चार ला लिगा, र तीन कोपा डेल रे उपाधि जित्दै आफ्नो क्लब करियरलाई अद्वितीय उचाइमा पुर्‍याए ।

जुन २०२३ मा, करिम बेन्जिमाले साउदी प्रो लिग क्लब अल-इतिहादसँग दुई वर्षका लागि ४३६ मिलियन अमेरिकी डलरको सम्झौता गरे। यो खेलकुद इतिहासकै ठूला सम्झौतामध्ये एक हो, जसअनुसार उनले वार्षिक रूपमा २१४.५३४ मिलियन अमेरिकी डलर कमाउनेछन् ।

५) केलियन एम्बाप्पे

२५ वर्षीय फ्रेन्च स्टार केलियन एम्बाप्पे सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडीको सूचीको पाँचौ स्थानमा छन् । फ्रान्सलाई सन् २०१८ मा विश्वकप उपाधि जिताएका उनले २०२२ को विश्वकपको फाइनलमा पुर्‍याएका थिए ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट रियल मड्रिडमा अनुबन्ध भएपछि एम्बाप्पेले विश्व फुटबलमा झन धेरै चर्चा कमाएका थिए । युवा स्टारको उपमा पाएका एम्बाप्पेको मैदान भित्रको कमाइ ७० मिलियन डलर रहेको छ ।

उनको मैदान बाहिरको कमाइ २० मिलियन डलर रहँदा समग्रमा उनको कमाइ ९० मिलियन डलर (१२ अर्ब ३६ करोड नेपाली रुपैयाँ) रहेको छ ।

कति छ सम्पत्ति ?

एमबाप्पे रियल म्याड्रिडमा वार्षिक तलब पीएसजीमा रहँदा पाएको ७० मिलियन यूरोभन्दा कम भए पनि, उनी ला लिगाका शीर्ष कमाई गर्ने खेलाडीहरूमध्ये एक हुन् ।

एमबाप्पेले स्थानान्तरणका क्रममा महत्त्वपूर्ण साइनिङ बोनस पाएका छन् । पीएसजीमा स्थानान्तरण गर्दा ११ मिलियन यूरो र पछि रियल म्याड्रिडमा ट्रान्सफर हुँदा १०० मिलियन युरोको साइनिङ बोनस प्राप्त गरेका उनले आर्थिक रुपा ठूलो फड्को मागरेका हुन् ।

२०२२ मा एमबाप्पे संसारकै सबैभन्दा बढी पारिश्रमिक पाउने फुटबलर बनेका थिए। उनको ४०.७ मिलियन यूरोको तलबसँगै नाइक, हब्लोट, डियोर, र ओक्लेजस्ता विश्वव्यापी ब्रान्डहरूसँगको प्रायोजन सम्झौताले उनलाई वार्षिक रूपमा थप १८ मिलियन युरो प्रदान गरिरहेको छ। अहिले एम्बाप्पेको सम्पत्ति १८० मिलियन डलर रहेको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार ००:००  ११ : २४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping