काठमाडौं । बिमा प्राधिकरणका अध्यक्ष मदन दाहालले आफ्नो कार्यकालमा २–४ बिमा कम्पनीलाई कारबाही गर्ने बताएका छन् । बुधबार प्राधिकरणमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्र्दै गलत काम गर्ने, बिमितलाई दुःख दिने कम्पनीलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।
उनले आफूले कुन कुन कम्पनीलाई कारबाही गरेको हो भन्ने कुरा सबैले थाहा पाउने दाबी पनि गरे ।
बिमा प्राधिकरणका तत्कालिन अध्यक्ष सूर्य प्रसाद सिलवाललाई दोहोरो नागरिकता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्ष बनेका अर्थ मन्त्रालयका सहसचिव दाहालले बिमा प्राधिकरणले अनुगमनको काम गरिरहेको बताए । उनले बिमा प्राधिकरणले नेपाल राष्ट्र बैंक जस्तो अनुगमन गर्न भने नसक्ने जानकारी गराए । बिमा क्षेत्रलाई थप व्यवस्थित बनाउन आवश्यक नियमावली प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेको जानकारी गराए ।
उनले आफू प्राधिकरणका अध्यक्ष बनेर आएपछि बिमा कम्पनीलाई बिमा पोलिसी परिपक्व भएपछि बिमितलाई दाबी भुक्तानी वापतको पैसा बिमितको खातामा सीधै जम्मा गर्ने व्यवस्था गर्न निर्देशन दिएको बताए ।
‘कतिपय बिमा कम्पनीहरुले बिमालेख परिपक्व भएपछि त्यो पैसाले अर्को बिमालेख किन्न लगाउने, समयमा नै भुक्तानी नदिने गरेको गुनासो आयो,’ उनले भने, ‘यस्ता गुनासा बन्द गर्न बिमितको खातामा सिधै पैसा हाल्न निर्देशन दिएको हो ।’
अध्यक्ष दाहालले आगामी दिनमा प्राधिकरणले बिमा सर्भेयर र अभिकर्तालाई निश्चित तालिम नलिई लाइसेन्स नविकरण नगर्ने ब्यबस्था गर्ने तयारी गरेको जानकारी गराए ।
अन्तरक्रिया कार्यक्रममा उनले सार्वजनिक सम्पतिको बिमा गर्ने विषय धेरै पहिलादेखि उठेको भए पनि अहिले नै बिमा गर्ने विषयमा प्राधिकरणले यसै भन्न नसक्ने बताए ।
‘सरकारी सम्पत्तिको बिमा गर्न सरकारी, सार्वजनिक सम्पति बिमा गर्न सरकारले नै छुट्टै नीति लिनु पर्छ,’ उनले भने, ‘अहिले सरकारको कति सम्पति छ भन्ने यकिन छैन । यसमा महालेखापरीक्षकले केही काम गरिरहेको छ ।’
अध्यक्ष दाहालले सम्पत्ति शुद्धिकरणका विषयमा प्राधिकरणले शाखा बनाएर काम गरेको र बिमा कम्पनीका सम्बन्धित शाखा हेर्ने व्यक्तिसँग छलफल समेत गरेको जानकारी गराए । कम्पनीलाई यो विषयमा फोकल पर्सन तोक्न निर्देशन दिइसकेको जानकारी गराए । उनले सम्पत्ति शुद्धिकरणका विषयमा सबै नियामक निकायले धेरै काम गर्नुपर्ने बताए ।
अहिले सम्पत्ति शुद्धीकरणका विषयमा सबै नियामकको कमजोरी रहेको उनले स्वीकारे । उनले आफ्नो कार्यकालमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गर्ने तर्फ लाग्ने बताए ।
प्रतिक्रिया