
काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा तीन प्रमुख अन्तरबिरोध रहेको बताएका छन् ।
शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौं साधारण सभामा बोल्दै खनालले बैंकिङ र वित्तीय क्षेत्रमा देखिएका समस्यासँगै आन्तरिक र बाह्य क्षेत्रको सन्तुलनमा चुनौती रहेकामा जोड दिए।
बैंक तथा वित्तीय क्षेत्रको प्रभावकारी नियमन तर उनीहरूको सम्पत्तिको गुणस्तर घट्दो रहेको उनको भनाइ छ ।
खनालका अनुसार, बैंकिङ क्षेत्रको नियमन प्रभावकारी भए पनि बैंकहरूको सम्पत्तिको गुणस्तर घट्दो छ । उनले निष्क्रिय कर्जाको दर बढिरहेको र यसलाई अझै स्पष्ट रूपले देख्न नसकिएको बताए ।
‘निष्क्रिय कर्जा बढिरहेको तथ्यांक उपलब्ध छ, तर नदेखिएको निष्क्रिय कर्जा अझै देखिँदैन,’ उनले भने।
बैंकिङ क्षेत्रमा पर्याप्त तरलता भए पनि व्यक्तिको हातमा तरलताको अभाव रहेको उनी बताउँछन् ।
नेपालको बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेको भए पनि, व्यवसायीहरूलाई कर्जा प्राप्त गर्न समस्या रहेको खनालले बताए।
‘बैंकहरूले पर्याप्त लगानीयोग्य रकम रहेको दाबी गरे पनि व्यवसायीहरूले कर्जा पाउन समस्या भोगिरहेका छन्,’ उनले भने, ‘धेरै बैंकहरूले कर्जा दिन चाहिरहेका छैनन्, कतिपयको क्षमता छैन ।’
खनालले बाह्य क्षेत्र राम्रो हुँदा आन्तरिक क्षेत्रको सबलता बढ्नुपर्ने बताए । ‘बाह्य क्षेत्र राम्रो हुँदा आन्तरिक क्षेत्र सबल हुनुपर्छ । विदेशी मुद्रा सञ्चितिले ब्याजदर घटाएर आन्तरिक उत्पादन बढ्नुपर्छ र माग सुधार हुनुपर्छ,’ खनालले भने ।
आन्तरिक क्षेत्र बलियो नभएको कारण निर्यातमा कमी देखिएको र यसले बाह्य क्षेत्रको विकासमा चुनौती सिर्जना गरेको उनको भनाइ छ।
SHARE YOUR THOUGHTS