
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरू पारित गरेको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सभामा बैंकले आफ्ना सेवा सुविधामा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकतामा राखेको जानकारी दिइएको छ। अध्यक्ष ढुङ्गानाले बैंकिङ क्षेत्रमा विद्यमान प्रतिस्पर्धा सामना गर्न प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै समयानुकूल नीति, नियम तथा कार्यविधिमा परिमार्जन गरिरहेको बताए।
सभामा बैंकका प्रमुख शेयरधनीहरू नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रतिनिधि तथा सर्वसाधारण शेयरधनीहरूको उपस्थिति रहेको थियो। अध्यक्ष ढुङ्गानाले प्रस्तुत गरेको प्रतिवेदनमाथि शेयरधनीहरूले टिप्पणी गर्नुका साथै बैंक सुधारका लागि विभिन्न सुझाव राखेका थिए। ती सुझावहरूबारे अध्यक्षले जवाफ दिएका थिए।
साधारण सभामा बैंक सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, सुशिल घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालको उपस्थिति रहेको थियो। साथै, नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरू विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा पनि सहभागी भएका थिए।
साधारण सभामा बाह्य लेखापरीक्षकहरू, बैंकका कानूनी सल्लाहकारहरू तथा अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो। साधारणसभालाई कम्पनी सचिव प्रमोद अधिकारीले सहजीकरण गरेका थिए।
राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ वटै जिल्लाका सदरमुकामहरूमा शाखा विस्तार गरेको छ। बैंकको २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटीएम तथा ९९ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन्।
SHARE YOUR THOUGHTS