भीमेश्वर । दोलखा जिल्लाकै पहिलो उद्योगको रुपमा चिनिने गौरीशङ्कर तयारी पोशाक उद्योग लामो समयदेखि राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । विसं २०७२ वैशाखमा आएको भूकम्पले तहसनहस भएको यस उद्योगको पुःस्थापनातर्फ कसैले सहयोग गरेका छैनन् ।
उद्योग महाभूकम्पपछि करीब रु ६० लाख लगानी डुबेसँगै बन्द हुने अवस्थामा आएको हो । हाल सञ्चालन गर्नुपर्दा करोडौँ लगानी लाग्ने उक्त उद्योगलाई सरकार र बैंकले समेत सहयोग नगर्दा बन्द हुने अवस्थामा आएको हो । केही सामग्री र तयारी पोशाक बाँकी रहे तापनि हाल यो उद्योग बन्द हुने अवस्थामा पुगेको तयारी पोशाक उद्योगका सञ्चालक आरसी कार्कीले बताए ।
कार्कीले भने, ‘‘मैले कति बैंक तथा वित्तीय संस्था धाएँ, चार वर्ष बितिसक्यो तर यसलाई मूर्तरुप दिन सकिनँ, घर जग्गा पनि बैंकमा छ ।’’ अलिअलि भएको लगानी पनि त्यसैमा डुबेपछि के गर्ने, के नगर्ने आफू दोधारमा परेको उनले बताए। अब सञ्चालन गर्नका लागि वित्तीय संस्थाले मेरो उद्योगलाई आर्थिक सहयोग गरे मात्रै लगानी उठाउन सकिने उनको भनाइ छ ।
“घर जग्गा टन्न हुने र करोडौँको कारोवार गर्नेलाई मात्र ऋण दिने र हामीजस्ता साना उद्योगलाई नहेर्ने हो भने अर्काको देशमा गई भाँडा माझ्ने अवस्थामा पुगेको छु”, उनले भने ।
विसं २०५९ मा दर्ता भई भीमेश्वर नगरपालिका–४ मा दर्ता भएको यो तयारी पोशाक उद्योग विस्थापित हुन लागेको हो । दश कामदारले दैनिक रोजगारी गर्दै आएका थिए । उद्योग सञ्चालन गरी पहिलो लगानी नै डुबेपछि कारोवार जोखिममा परेको सञ्चालक कार्कीले बताए ।
हाल यस उद्योग सञ्चालन गर्नका लागि करीब रु २० लाख जति खर्च गर्दा यो उद्योग सञ्चालनमा आउने सञ्चालक कार्की बताउँछन् । हाल उद्योगलाई उत्पादन गर्नका लागि चाहिने कच्चा पदार्थको अभाव समेत भएको उनको भनाइ छ ।
SHARE YOUR THOUGHTS