नक्कली स्मार्ट लाईसेन्स र विभिन्न सरकारी परिचयपत्र बनाउने गिरोह पक्राउ « Eglish Khabarhub

नक्कली स्मार्ट लाईसेन्स र विभिन्न सरकारी परिचयपत्र बनाउने गिरोह पक्राउ




काठमाडौं । स्मार्ट सवारी चालक अनुमति पत्र र सरकारी कार्यालयका कर्मचारीहरुको परिचयपत्र नक्कली बनाई बिक्री गर्ने गिरोह पक्राउ परेको छ । प्रहरी महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उक्त गिरोह पक्राउ गरेको हो ।

नेपाल प्रहरीका अनुसार प्रहरीले अनुसन्धान गर्दै जाँदा पुतलीसडकबाट दिपक ब्लोनलाई ०२०६००४४३३९७ नं. को विएफजी बर्गको नक्कली स्मार्ट लाईसेन्स सहित फेला पारेको थियो । सोधपुछ गर्दा उनले नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बल्खुमा रहेको शुबास भन्ने बुद्धि बहादुर रोक्कालाई ३० हजार रुपैयाँ दिई बनाएका थिए ।

सुवासले आफ्नो आशिष स्टुडियोबाट डिजाईनिङ गरी काठमाण्डौको न्युरोडमा रहेको फोटो कन्सर्नबाट नक्कली स्मार्ट लाईसेन्स बनाई लिने गरेको र फोटो कन्सर्नले बिभिन्न ब्यक्तिहरुको सरकारी लिखतहरु डिजाईनिङ गरी प्रिन्ट गरी बिक्री गर्ने गरेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।

आशिष स्टुडियोका संचालक सुबाष भन्ने बुद्धि बहादुर रोक्कालाई दिपक ब्लोनको नामको स्मार्ट लाईसेन्स, बिभिन्न ब्यक्तिहरुको सवारी चालक अनुमति पत्र  ४थान, नागरिकताका प्रमाणपत्रहरु, भारत सरकारको आधार कार्डसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी फोटो कन्सर्नमा खानतलासी गर्दा लक्ष्मण झाक्रीको नामको सवारी चालक अनुमतिपत्र, निजकै नामको सशस्त्र प्रहरी जवानको परिचय पत्र, बिभिन्न कलेजहरुको परिचयपत्रहरुको प्रिन्ट, सिपियु, कटर मेसिन, प्रिन्टर, हार्डड्राईभ सर्बर सेमत फेला पारी बरामद गरी अनुसन्धानको क्रममा उक्त फोटो स्टुडियोका फोटो ग्राफर कुमार तण्डुकार, सेल्स अफिसर अनन्ता गुरुङ, प्रिन्टर तथा मार्केटिङको काम गर्ने अशोक कार्की, क्यासियर मोहन यादबलाई पक्राउ गरेको थियो ।

Publish on: