नविल बैंकको साधारणसभाः सञ्चालकको भत्ता बढाउने प्रस्तावमा सेयरधनीको आक्रोश, मर्जरमा जान सुझाब « Eglish Khabarhub

नविल बैंकको साधारणसभाः सञ्चालकको भत्ता बढाउने प्रस्तावमा सेयरधनीको आक्रोश, मर्जरमा जान सुझाब



काठमाडौं । नविल बैंकका सेयर लगानीकर्ताहरुले बैंकका सञ्चालकहरुको भत्ता बढाउने प्रस्तावको खुलेरै बिरोध गरेका छन् । लगानीकर्तालाई कम लाभांश दिएर सञ्चालकहरुले मोटो रकम भत्ता लिएको भन्दै विरोध गरेका हुन् ।

बैंक मंगलबार भएको ३५औं वार्षिक साधारणसभामा सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा बढाउन प्रस्ताव गरिएको थियो ।

बैंकको सञ्चालक समिति वा अन्य उपसमितिको बैंठकमा उपस्थित भएवापत अध्यक्षलाई २० हजार रुपैयाँ र अन्य सञ्चालकलाई १५ हजार रुपैयाँ बैठक भत्ता दिने प्रस्ताव गरिएको थियो ।

यस अघिसम्म अध्यक्षले १५ हजार रुपैयाँ र अन्य सञ्चालकले १२ हजार रुपैयाँ बैठक भत्ता बुझ्दै आएका थिए । हाल बैंकको अध्यक्षमा शम्भुप्रसाद पौड्याल छन् ।

साधारणसभामा बोल्ने प्रायजसो सेयरधनीले अध्यक्ष र अन्य सञ्चालक समिति सदस्यको भत्ता बढाउने प्रस्तावको विरोध गरे । बैंकको सञ्चालक समितिले गरेको भत्ता वृद्धि प्रस्तावले सभाहल नै तातेको थियो ।

‘हामै्र पैसामा सञ्चालक समितिमा बसेर अर्बौ भत्ता खाएर हामीलाई ३४ प्रतिशतमात्र लाभांश दिने अध्यक्ष र सञ्चालकलाई अब भत्ता र सत्ता दिनु हुँदैन,’ सेयरधनी इन्द्रकृष्ण श्रेष्ठले आक्रोश पोखे, ‘अब नयाँ अध्यक्ष आउनुहुन्छ, उहाँले नै सबै सेयर लगानीकर्ताको हितमा काम गर्नु हुन्छ ।’

नबिल बैंकले पहिलेको तुलनामा पछिल्लो समय सेयर लगानीकर्तालाई भेदभाव गरेको श्रेष्ठले आरोप लगाए ।

भत्ता वृद्धिको प्रस्ताव पारित गर्न हुँदैन भनेर लगानीकर्ताले सभा शुरु भएदेखि अन्त्यसम्म भनिरहँदा पनि बैंकको ३५औं बार्षिक साधारणसभाले भत्ता वृद्धिको पस्ताव पारित गरेको थियो ।

सेयर लगानीकर्ताको चर्को विरोधपछि पनि सञ्चालकको भत्ता वृद्धिको प्रस्ताव पारित भएकोमा बैंकका सेयर लगानीकर्ता डम्बर बल्लभ घिमिरेले असन्तुष्टी व्यक्त गरे ।

‘सेयरधनीको लाभांश वृद्धि हुँदैन्,’ घिमिरेले भने, ‘३५औं बार्षिक साधारणसभामा ३५ प्रतिशत लाभांश पाइएला भन्ने अपेक्षा थियो तर सेयर लगानीकर्तालाई निराश बनाएर सञ्चालक खुसी भए ।’

थोरै लाभाश दिएपनि बैंकले समयमा नै सेयरधनीको खातामा नपठाएको उनको भनाइ छ । हालसम्म बैंकबाट पारित लाभांशमध्ये १ अर्ब ७ करोड २३ लाख ६९ हजार ५३७ रुपैयाँ सेयरधनीको खातामा गएको छैन ।

सानालगानीकर्ताको लाभांश बैंकले नै राखेर ब्याज खाएको आरोप केही सेयर लगानीकर्ताको छ ।

बैंकले कर्मचारीलाई ६ महिनामा १ महिना बराबरको बोनस दिए पनि लगानीकर्तालाई भने १ वर्षमा पनि थोरै लाभांश वितरण गरेको उनीहरुको गुनासो थियो ।

त्यस्तै सो वार्षिक साधारणसभामा बैंकका अर्का लगानीकर्ता मेजर कुँवर श्रेष्ठले सरकार र राष्ट्र बैंकले सम्भावना नै नभएको क्षेत्रमा शाखा विस्तार गर भनेको हुँदा बैंकको खर्च मात्र बढेको बताए ।

‘जुन क्षेत्रमा निक्षेप राख्ने र कर्जा लिने मान्छे नै छैन त्यो ठाँउमा शाखा खोल्नुको कुनै औचित्य छैन्,’ श्रेष्ठले भने ‘सम्भावना नै नभएको ठाँउमा गएर खर्चमात्र बढाउनुभन्दा हामी जाँदैनौ भन्न अध्यक्ष र सञ्चालकले भन्नु सक्नुपर्यो ।’

अनावश्यक क्षेत्रमा शाखा विस्तार गरेर बैंकको नाफा घटी लगानीकर्ताको लाभांश घटेको उनको भनाइ छ । साधारणसभामा सेयरधनी इन्द्रकृष्ण श्रेष्ठले बैंकका सीइओ अनिल शाहमाथि पनि खनिएका थिए ।

‘नविल छाडेर के के न गर्छु भन्दै मेगा बैंक जानुभयो, हलोदेखि हाइड्रोसम्मको नारा लगाउनु भयो, तर केही गर्न नसकेर फेरि नविलमै फर्किनुभयो,’ उनले भने, ‘तपाईं आएर नविल बैंकलाई के नै गर्नुभयो ?’

साधारणसभामा उत्कृष्ट सेयर लगानीकर्तालाई बैंकले सम्मान गरेको थियो ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको ३४ प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ । त्यसैगरी, सञ्चालक र अध्यक्षको भत्ता बढाउने प्रस्ताव पनि पारित गरेको छ ।

साधारणसभामा करिब २ दर्जन सेयरधनीले बोलेका थिए । केही सेयरधनीहरुले भने राम्रो संस्था संस्था खोजेर मर्जरमा जान सुझाब पनि दिएका थिए ।

पछिल्लो समय बैंकहरु ठूला भए पनि बलिया हुन नसकेको उल्लेख गर्दै ती बैंक बलिया हुनुभन्दा अगाडि आफु पनि अझ ठूलो र बलियो हुन आवश्यक भएको सेयरधनीहरुको सुझाब छ ।

‘अरु बैंक बलिया छैनन् भन्दाभन्दै उछिनेको पत्तो नपाइने हुँदा यस विषयमा बैंकले विचार गर्न जरुरी छ,’ सेयरधनीहरुको भनाई थियो, ‘यसको विकल्प भनेको राम्रो संस्था खोजेर मर्जरमा जानु नै हो ।’

लगानीकर्ताको गुसानो संवोधन गर्दै बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले ‘सञ्चालक समितिभित्र पनि कुनै एक संस्थालाई भित्र्याउने या नभित्र्याउने विषयमा छलफल भएको छ तर टुङ्गो लागेको छैन ।’

Publish on: