सेयर धितोमा ऋण दिन ‘आक्रमक’ बन्दै कृषि विकास बैंक, १० अर्ब रुपैयाँसम्म लगानी गर्ने « Eglish Khabarhub

सेयर धितोमा ऋण दिन ‘आक्रमक’ बन्दै कृषि विकास बैंक, १० अर्ब रुपैयाँसम्म लगानी गर्ने



काठमाडौं । कृषि विकास बैंकले सेयर धितोमा अर्बौं रकम ऋण प्रवाह गर्ने भएको छ । सेयर बजार बढिरहेको बेला बैंकले ऋण बढाउन लागेको हो ।

बैंक व्यवस्थापनले सेयर धितो कर्जा (मार्जिन लेण्डिङ)मा आक्रमकरुपमा अघि बढ्ने रणनीति बनाउँदै तत्काल १० अर्ब रुपैयाँसम्म ऋण दिने गृहकार्य थालेको छ ।

‘हामी सेयर कर्जामा ‘एग्रेसिभ’रुपमा प्रस्तु हुन खोजेका हौं,’ बैंकका सीइओ अनिल उपाध्यायले क्लिकमाण्डूसँग भने, ‘त्यसका लागि मैले सम्बन्धित शाखाका कर्मचारीहरुलाई अनुसन्धान गरेर प्रतिवेदन बुझाउन भनिसकेको छु ।’

कुलेश्वर शाखाबाट बैंकले एग्रेसिभरुपमा सेयर कर्जा दिन थालेकोा उनले जानकारी दिए ।

‘केहीदिन अघिको तथ्यांक अनुसार हाम्रो बैंकले १८ करोड रुपैयाँ सेयर कर्जा दिएको पाइएको छ, कुलेश्वर शाखाबाट बढी सेयर कर्जा दिइरहेका छौं,’ उपाध्यायले भने, ‘अब अन्यत्र शाखाबाट पनि दिन्छौं ।’

बैंक व्यवस्थापनको सेयरमा कर्जा बढाउने रणनीतिमा सञ्चालक समितिले पनि साथ दिएको उनले सुनाए ।

‘हाम्रो सञ्चालक समिति पनि सेयर कर्जा बढाउन सहमत छ,’ उनले भने, ‘हामीसँग पर्याप्त तरलता छ, अन्यत्र क्षेत्रबाट ठूलो मात्रामा कर्जाको माग छैन, त्यसैले सेयरमा लगानी गर्ने सोच बनाएका हौं ।’

केही दिनअघि मात्रै बैंकका अधिकारीहरुले सेयर ब्रोकरहरुसँग के कसरी लगानी गर्न सकिन्छ भनेर छलफल गरेका थिए । आफ्नो बैंकले सेयर १० अर्ब रुपैयाँसम्म लगानी गर्ने रणनीतिका साथ अघि बढेको सुनाएका थिए ।

ब्रोकर संघ र कृषि विकास बैंक केही दिनभित्रै यसै विषयमा औपचारिक छलफल गर्दैछन् ।

‘कृषि विकास बैंकका साथीहरुले सेयर धितोमा आक्रमकरुपमा कर्जा विस्तार गर्न लागेका छौं, के कसो गर्न सकिन्छ छलफल गरौं भनेर भन्नुभएको छ,’ स्टक ब्रोकर संघका अध्यक्ष भरत रानाभाटले भने, ‘केही दिनभित्रै संघ र बैंकका प्रतिनिधिहरुबीच औपचारिक छलफल गर्छौं ।’

यही माघ ७ गते बैंकको ५३औं वार्षिकोत्सव छ । वार्षिकोत्सवपछि उक्त नीतिलाई कार्यान्वयन गर्ने उनले जानकारी दिए । वार्षिकोत्सवपछि के कति ब्याजदर लिने, कति सहजै कर्जा दिने लगायतका विषयमा आवश्यक निर्णय लिएर अघि बढ्ने उनले बताए ।

अहिले बैंकको आधार दर १०.१८ प्रतिशत छ । आधार दरमा अति कम प्रिमियम थप गरेर ऋण दिने योजना रहेको उनले सुनाए ।

‘कृषिलाई नछोड्ने, अरुलाई जोड्ने,’ नीतिका साथ अघि बढिरहेको उनले बताए । बैंकका १२ लाख निक्षेपकर्ता र १ लाख ४५ हजार ऋणी छन् ।

Publish on: