२९ मंसिर २०८२, आइतबार

बीमा कम्पनीले अब ७ दिनभित्रै दावी भुक्तानी गर्नुपर्ने (निर्देशिकासहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बीमा समितिले दावी भुक्तानी सम्बन्धी मार्गदर्शन-२०७६ र दावी उजुरी कार्यविधि-२०७६ लागू गर्ने भएको छ ।

सो मार्गदर्शन र कार्यविधि लागू भएपछि बीमा कम्पनीहरुले ७ दिनभित्रमा नै दावी भुक्तानी गर्नुपर्ने भएको छ । मार्गदर्शन अनुसार बीमा कम्पनीले दावी भुक्तानी नगरेको वा दावी सम्बन्धी अन्य उजुरी परेमा समितिमा कम्पनीले १५ दिनभित्रमा लिखित जवाफ पेश गरिसक्नु पर्नेछ ।

दावी भुक्तानीमा देखिँदै आएको समस्या समाधानका लागि नयाँ कार्यविधि ल्याउन लागेको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले जानकारी दिए ।

‘छिटो र विश्वसनीय प्रकारले दावी भुक्तानीलाई व्यवस्थीत बनाउन बीमा समितिले त्यससम्वन्धी मार्गदर्शन र दाबी उजुरी कार्यविधि लागू गर्न लागेको छ,’ अध्यक्ष चापागाईं क्लिकमाण्डूसँग भने ।

कार्यविधि र मार्गदर्शन १५ दिनभित्र लागू हुने उनले जानकारी दिए ।

बीमा कम्पनीहरुले बिमितलाई छिटोभन्दा सहज, सरल र पारदर्शीरुपमा दावी भुक्तानी गर्न र दावी उजुरीलाई सहज बनाउन सो मार्गदर्शन र कार्यविधि लागू गर्न लागिएको चापागाईंको भनाइ छ ।

‘जनताले छिटोभन्दा छिटो न्याय पाउन र समयमा नै भुक्तानी पाउन भन्ने उद्देश्यले दावी भुक्तानी मार्गदर्शन र दावी उजुरी कार्यविधि जारी गर्न खोजिएको हो,’ उनले भने ।

हालसम्म अधिकांश बीमा कम्पनीहरुले दावी भुक्तानी दिन ढिलाइ गरेको गुनासो आउँछन् । बिमितले बीमा कम्पनीमा दावी भुक्तानी विभाग गठन गर्नुपर्ने छ । सो विभागले दावीको प्रकृति हेरी आवश्यक कागजपत्र संकलन गरेर दावी भुक्तानीको प्रक्रिया तुरुन्तै शुरु गर्नुपर्नेछ ।

जीवन बीमाको हकमा बीमाको शुल्कको अन्तिम किस्ता भुक्तानी गरिसकेका बिमितको नाममा किस्ता भुक्तान गरेको मितिले १५ दिनभित्र त्यस्तो जीवन बीमाको दावी भुक्तानी गर्नका लागि चाहिने बीमालेख आदि कागजात समेत संलग्न राखी दावी भुक्तानी लिन आउनको निमित्त सूचना जारी गर्नुपर्नेछ ।

बीमितले जीवन बीमाको दाबी भुक्तानीको निमित्त बीमालेख तथा अन्य कागजातहरू बीमकसमक्ष पेश गरेमा बीमकले आवश्यक जाँचबुझ गरी ७ दिनभित्र जीवन बीमाको दाबी भुक्तानी दिनुपर्न व्यवस्था छ ।

यस्तै निर्जीवन बीमाको दाबी भुक्तानीको निमित्त बीमितको निवेदन प्राप्त भएमा बीमकले जाँचबुझ गर्न आवश्यक परेमा तुरुन्त सर्भेयर खटाउन पर्नेछ ।

सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बीमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमक समक्ष पेश गर्नुपर्ने र सर्भेयरले बीमक समक्ष प्रतिवेदन पेश गरेको ३५ दिनभित्र बीमकले दायित्व ठहर गरी बीमितिलाई दाबी भुक्तानी गर्नुपर्नेछ ।

बीमकले १० लाखभन्दा माथिको समपूर्ण मूल्य वा ऋण भुक्तानी कारोबारको सम्बन्धमा सम्पत्ती शुद्धिकरण तथा आतंकबादी क्रियाकलाप वित्तिय लगानी निवारणको लागि विशेष ध्यान दिने प्रणालीको विकास गरी लागू गर्नु पर्ने सो मार्गदर्शनमा उल्लेख छ ।

साथै बीमालेख अन्तर्गत दावी भुक्तानी गर्दा ५० हजार रुपैयाँभन्दा बढीको भुक्तानीमा अनिवार्य रूपमा भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामार्फत भुक्तानी गर्नु पर्ने व्यवस्था गरिएको छ ।

समितिले हालसम्म दावी भुक्तानीको सन्दर्भमा पर्ने गरेको उजुरीलाई पनि छिटो, सहज र व्यवस्थीत बनाउन दावी उजुरी कार्यविधि २०७६ जारी गर्न लागेको बीमा समितिले जानकारी दिएको छ ।

समितिले प्रस्ताव गरेको दावी उजुरी कार्यविधि अनुसार समितिमा समक्ष परेको उजुरी उपर समितिका अध्यक्षले बीमकलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिनेछन् ।

उजुरी अनुसार समितिले उजुरीकर्ता, वा निवेदक, बीमक, सर्भेयर, तथा सम्बन्धित पक्षलाई समितिमा झिकाउनेछ । समितिको आदेशमा तोकिएको व्यक्ति संस्थाबाट लिखित जवाफ वा सोको जानकारी, हाजिरीमा नआएमा समितिले एकतर्फी निर्णय लिनेछ ।