काठमाडौं । के तपाईं नयाँ प्रविधिको विकास गर्ने सोचमा हुनुहुन्छ ? यस्तो सोचमा हुनुहुन्छ तर तपाईंलाई भोलिका दिनमा पैसाको अभाव हुन्छ जस्तो लागेको छ भने चिन्ता नगर्नुहोस् । तपाईंको नयाँ सोच र आइडियालाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
सम्मृद्ध नेपालका लागि नयाँ सोच र प्रविधिको विकास आवश्यक रहेको निष्कर्श निकाल्दै सरकारले यस्तो सोच भएका व्यक्तिहरुलाई आर्थिक सहायता गर्ने भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले शुक्रबार एक सूचना प्रकाशित गर्दै नाष्टले नयाँ सोचसहितको प्रविधि र विद्यमान प्रविधिलाई सुधार गर्नेलाई १० लाख रुपैयाँसम्म अनुदान दिने घोषणा गरेको छ ।
ईच्छुकले नास्टमा ३५ दिनभित्र प्रस्तावसहितको आवेदन दिनुपर्नेछ ।
आवेदनको नमूना नास्टको वेबसाइटमा उपलब्ध छ । नयाँ सोच प्रस्ताव आम नेपालीको समस्या समाधान गर्ने किसिमको हुनुपर्नेछ । र, अनुदान प्राप्त गरिसकेपछि चालूआर्थिक वर्षभित्रै काम सम्पन्न गर्नुपर्ने छ ।
आवेदकले कृषि प्रविधि तथा यान्त्रिकरण, खाद्य प्रविधि, सूचना प्रविधि, उर्जा तथा यातायात प्रविधि, सहरी विकास प्रविधि, उदियमान प्रविधि, प्राकृतिक स्रोत साधनको उपयोग सम्बन्धि प्रविधि, वातावरण एवम् जलवायु परिवर्तनको क्षेत्रमा विद्यमान समस्याको समाधान गर्ने किसिमको प्रस्ताव गर्नुपर्ने नास्टले जनाएको छ ।
SHARE YOUR THOUGHTS