काठमाडौं । बैंकहरुले ‘रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा कारोबार गर्न साढे २ करोड रुपैयाँ राष्ट्र बैंकलाई बुझाएका छन् ।
राष्ट्र बैंकले गत साउन २९ गतेदेखि सञ्चालनमा ल्याएको आरटीजीएस प्रणालीमा हालसम्म २७ वटा वाणिज्य बैंक र १० वटा विकास बैंक आवद्ध भएका छन् ।
जसमध्ये २७ वटा वाणिज्य बैंकले प्रणालीबाट कारोबार गरिरहेका छन्, भने १० वटा विकास बैंकले राष्ट्र बैंकसँग सम्झौता गरी हाल परीक्षणमा रहेको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका निर्देशक टेकराज भण्डारीले जानकारी दिए ।
गत भदौ २९ गतेदेखि भुक्तानी प्रणालीमा शुरु गरिएको आरटीजीएस प्रणाली केही समय सञ्चालनमा आएर बन्द भएर पुनः मसिर ६ गतेबाट सञ्चालनमा आएको थियो ।
राष्ट्र बैंकले आरटीजीएस प्रणालीमा आवद्ध हुन प्रत्येक बैंक तथा वित्त कम्पनीलाई ५ लाख रुपैयाँ प्रवेश शुल्क तोकेको छ । साथै बैंकहरुले कारोबारवापत वार्षिक शुल्क २ लाख रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।
सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले गत भदौबाट नै आरटीजीएस प्रणालीबाट कारोबार गर्दै आएका थिए । १० वटा विकास बैंकहरुले माघ पहिलो सातासम्म प्रणालीबाट कारोबार गर्न सम्झौता गरी प्रणालीबाट कारोबार गर्न परीक्षण गरिरहेका हुन् ।
राष्ट्र बैंकले नेपालमा विद्युतीय भुक्तानी प्रणालीको शुरुवात गर्ने तयारी गरेसँगै विकास बैंकहरुले पनि आवश्यक तयारी गरेको हुँदा सम्झौतपछि अन्य जटिल तयारी गर्नु नपर्ने डेभलपमेन्ट बैंकसं एशोसिएशनका अध्यक्ष गोविन्दप्रसाद ढकालले क्लिकमाण्डुलाई बताए ।
‘राष्ट्र बैंकसँग सम्झौता भएपनि केही सामान्य आइटीका कामहरु बाँकी छन्’ उनले भने ‘केही दिनमा नै सम्झौता गरेको सबै विकास बैंकले आरटीजीएसमार्फत् कारोबार गर्छन् ।’
हाल आरटीजीएस प्रणालीको परीक्षणको अन्तिम अवस्थामा रहेकोे उनले जानकारी दिए ।
प्रणालीमा रहेका कारोबार गर्ने बैंकहरुले हाल प्रत्येक कारोबारमा बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म १० रुपैयाँ, साढे १ बजेदेखि ३ बजेसम्म २० रुपैयाँ र साँझ ४ बजेर १० मिनेटसम्मको प्रत्येक कारोबारको भने १०० रुपैयाँ शुल्क लिने राष्ट्र बैंकले जानकारी दिएको छ ।
बैंकिङ कारोबारमा तत्कालै भुक्तानी हुने आरजीटीएसमा आवद्ध भएसँगै बैंकमा चेक काट्ने चलन कम हुदै गरेको पाइन्छ । यो प्रणालीबाट भुक्तानी गर्दा चेक काट्नु पर्दैन ।
खातावालले बैंकलाई भुक्तानीको आदेश दिएपुग्छ । र, तत्कालै सम्बन्धित व्यक्तिले भुक्तानी पाउँछ । यो प्रणाली सुरक्षित, भरपर्दा, सरल र सस्तो पनि भएको भुक्तानी प्रणाली विभागका निर्देशक टेकराज भण्डारी जानकारी दिए ।