बुद्ध एयरले राजविराजमा शनिबार दैनिक उडान शुरू गर्यो « Eglish Khabarhub

बुद्ध एयरले राजविराजमा शनिबार दैनिक उडान शुरू गर्यो



सप्तरी । पर्यटन वर्ष २०२० लाई लक्षित गरी बुद्ध एयरले काठमाडौदेखि सप्तरीस्थित ‘राजविराज विमानस्थल’ मा दैनिक उडान सेवा भर्न शुरुआत गरेको छ ।

एयरलायन्सको ९ एनएजेओ नम्बरको विमानले शनिबारबाट दैनिक उडान सेवा शुरु गरेको हो । यात्रुको बढ्दो चाप तथा पर्यटनलाई लक्षित गरी एयरलायन्सले दैनिक उडान सेवा थालेको जनाएको छ । हाललाई २५०० रूपैया न्यूनतम भाडादर कायम गरिएको छ ।

पहिलो उडान लिएर राजविराज ओर्लेको विमानस्थलका चालक दल सहित यात्रुलाई शनिबार सप्तरी उद्योग वाणिज्य सङ्घ र राजविराज नगरपालिकाले स्वागत गरेका थिए । पर्यटकको आवागमनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र आर्थिक वृद्धि हुने सङ्घका अध्यक्ष अरुण प्रधानले बताए ।

सो अवसरमा राजविराज धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण शहर भएकाले यहाँ उडान थप हुँदा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नगरप्रमुख शम्भुप्रसाद यादवले बताए ।

राजविराज विमानस्थलमा सो एयरलायन्सले दैनिक उडान सेवा शुरु गरेसँगै यात्रुलाई राहत मिल्ने विश्वास गरिएको छ । राजविराज उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुलाई थप हवाई सुविधा पुग्ने कम्पनीका प्रवक्ता रुपेश जोशी जानकारी दिए ।

उडान सेवा काठमाडौँबाट राजविराजका लागि ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौँका लागि १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समयतालिका निर्धारण गरिएको स्टेशन इञ्चार्ज अनिल राजवंशीले बताए । कम्पनीका अनुसार काठमाडौँबाट राजविराजको उडान अवधि करीब ३५ मिनेटको हुनेछ ।

राजविराज विमानस्थल तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले विसं २०१६ मा शिलान्यास गरेका थिए । । सप्तरीको विष्णुपुर गाउँपालिकास्थित विमानस्थलमा १ हजार ५०० मिटर लामो तथा ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माणकार्य सम्पन्न भएसँगै विसं २०७५ जेठ १० गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए । ६० मिटर चौडाइ तथा ९० मिटर लामो एप्रोन रहेको राजविराज विमानस्थलमा ११० मिटर लामो तथा २० मिटर चौडा ट्याक्सी वे छ ।

यहाँबाट छिन्नमस्ता, वराहक्षेत्र, कोशीटप्पु, सलहेश बहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिने जनाइएको छ । राजविराज उडानले सीमापारिका सहरसा, सुपौल, निर्मली, वीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडिया, लौकहालाई सजिलैसँग जोड्न सकिने र यसबाट दुवै देशका पर्यटकलाई फाइदा पुग्ने जनाइएको छ ।

यसअघि राजविराज विमानस्थलमा श्री एयरलाइन्सले साताको तीन दिन उडान सेवा दिँदै आएकामा छ । प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने जानकारी दिइएको छ ।

Publish on: