काठमाडौं । पर्यटन व्यवसायीहरुले भिजिट नेपाल २०२० लाई लक्षित गरी विशेष पर्यटन प्याकेज ल्याउने घोषणा गरेका छन् ।
होटल एसोसिएसन अफ नेपालकि अध्यक्ष सिर्जना राणाले सबै सरोकारवाला निकायसँग छलफल गरी विशेष पर्यटन प्याकेज ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।
राजधानीमा मंगलबार चीनबाट शुरु भएको कोरोना भाइरसले नेपालको पर्यटन व्यवसायमा पारेको प्रभावको विषयमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै राणाले नेपाल अहिले सुरक्षित रहेको बताइन् ।
उनले पर्यटन व्यवसायी र नेपाल भ्रमण वर्ष २०२० को सचिवालय यसबाट कतिपनि विचलित नभइ भारत, बंगलादेश, मध्यपूर्ण, दक्षिण पूर्वी एसियालगायतबाट लक्ष्य अनुसारको पर्यटक ल्याउन खटिरहेको जानकारी दिइन् ।
राणाले पर्यटन स्रोत बजारका बारेमा नेपाल सरकार, हवाई कम्पनीलगायत सबै सरोकारवालाहरुसँग छलफल गरी विशेष पर्यटन प्याकेज ल्याउने तयारी भइरहेको समेत बताइन् ।
कार्यक्रममा बोल्दै नेपाल भ्रमण वर्ष २०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज बैद्यले सरकारले छिट्टै नयाँ नीति ल्याउने र यसका लागि मन्त्रालयमा छलफल भइरहेको जानकारी दिए ।
‘कारोना भाइरसका कारण आगामी अप्रिल महिनासम्म यसले असर पार्ने देखिएको छ, नेपालमा पर्यटक ल्याउनका लागि अर्को विकल्प खोज्नु पर्ने बेला आएको छ,’ उनले भने ।
नेपाल भ्रमण वर्षको शुरुवातमै चीनमा कोरोना भाइरसको संक्रमण बढेको उल्लेख गर्दै यसबाट नेपालमा विदेशी पर्यटकको आगामनमा असर पर्ने वैद्यले बताए ।
उनले कतिपय चिनियाँ पर्यटकले काठमाडौं आउने यात्रा रद्द गरेको र यसको असर नेपालको होटल क्षेत्रमा देखिएको समेत बताए ।
‘अहिले होटल क्षेत्रमा उल्लेख्य रुपमा पर्यटकको कमी आएको छ, विशेष गरी पोखरा र सौराहका होटलमा अकुपेन्सी घटेको छ,’ हानका प्रथम उपाध्यक्ष विनायक शाहले भने ।
उनले होटलहरुमा कोरोना भाइरसबाट बच्नका लागि सबै सदस्य होटललाई पूर्वतयारीका लागि सजकता अपनाउन भनिसकिएको र होटलहरुले पनि सोही हिसाबले सर्तक रहेको जानकारी दिए ।
SHARE YOUR THOUGHTS