काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीसँग कुनैपनि अतिरिक्त शूल्क नलिन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बिहीबार एभरेष्ट बैंकको व्यवस्थापनका उच्च अधिकारीलाई ऋणीसँग अतिरिक्त शूल्क लिने काम तत्कालै बन्द गर्न निर्देशन दिएको हो ।
‘एभरेष्ट बैंकले ऋणीसँग अतिरिक्त शूल्क लिएको विषयमा राष्ट्र बैंकमा धेरै गुनासोहरु पनि आएका थिए र मिडियामा पनि समाचारहरु आएका थिए,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘त्यसपछि हामीले हेर्दा एभरेष्ट बैंकले ऋणीमाथि अन्याय गरेको पाइयो । र, तत्कालै रोक्न निर्देशन दिएका छौं ।’
एभरेष्ट बैंकको बदमासीः यसरी ठग्दैछ ऋणीलाई, डेपुटी गभर्नर भन्छन्,- कारबाही हुन्छ
एभरेष्ट बैंकले ब्याजदर घटाउने भन्दै त्यसबापत ऋणीसँग अतिरिक्त शूल्क मागेको समाचार क्लिकमाण्डू डटकमले सम्प्रेषण गरेको थियो ।
एभरेष्ट बैंकले सावाँको १ प्रतिशत कमिशन तिरेको खण्डमा मात्रै घटेको ब्याजदर लागू गर्न सकिने भन्दै कमिशन मागेको थियो ।
राष्ट्र बैंकको नियम अनुसार यसरी ग्राहकसँग अतिरिक्त शूल्क लिन पाइँदैन ।
क्लिकमाण्डूमा समाचार प्रकाशित भएपछि देशभरका दर्जनौं ऋणीले फेसबुक म्यासेञ्जर, इमेल र टेलिफोनमार्फत् आफूलाई बैंकले ठगी गरेको सुनाएका थिए ।
एभरेष्ट बैंकका अधिकारीहरुले आइतबारसम्ममा प्रदेश र सबै शाखा कार्यालयलाई यस्तो शूल्क नलिन आन्तरिक शर्कुलर गर्छौं भन्नुभएको छ,’ राष्ट्र बैंकका ती अधिकारीले भने, ‘प्रदेशमा शर्कुलर पठाएको जानकारी गराइसक्नु भएको छ । शाखामा प्रदेशले पठाउँदै होलान् ।’
राष्ट्र बैंकले मौखिक निर्देशन दिएको ती अधिकारीले बताए ।
‘राष्ट्र बैंकले निर्देशन दिएपछि कार्यान्वयन हुन्छ, भएन भने तपाईं पत्रकारहरुले पनि फलोअप गर्नुहोस्,’ उनले भने, ‘कार्यान्वयन भएन भने हामी थप एक्सन लिन्छौं ।’
यस विषयमा बुझ्न एभरेष्ट बैंकका प्रवक्ता केशब पौडेललाई फोन गर्दा बैंकले यसरी अतिरिक्त शुल्क नलिने गरेको बताए ।
‘शर्कुलर भन्ने कुरा आन्तरिक हो हामीले तपाईंलाई भन्न मिल्दैन, तपाईंलाई यत्ति मात्रै भन्न मिल्छ एभरेष्ट बैंकले तपाईंले भनेजस्तो अतिरिक्त शुल्क लिने गरेको छैन,’ प्रवक्ता पौडेलले भने ।
यद्यपि कतिपय ऋणीहरुहरुसँग अहिले पनि अतिरिक्त शूल्क लिन भने छाडेका छैनन् ।
सोमबार मात्रै टेकु ब्राञ्चमा एक ऋणी पुग्दा त्यहाँका कर्मचारीले अतिरिक्त शूल्क नलिनु भनेर आफूलाई हेड अपिसबाट शर्कुलर नआएको भन्दै अतिरिक्त शूल्क नतिरेसम्म घटेको ब्याजदर लागू गर्न नसकिने जवाफ दिए ।
क्लिकमाण्डूले केही ब्राञ्चमा फोन गरेर सोध्दा हेड अफिसबाटै माघ १ गतेदेखि ऋणीसँग १ प्रतिशत कमिशन लिएर मात्रै घटाएको ब्याजदर लागू गर्नु भन्ने निर्देशन भएकाले सोही अनुसार काम गरिरहेको जवाफ दिए ।
‘केन्द्रिय कार्यालयबाट कमिशन लिनु भन्ने निर्देशन आएपछि हामीले ऋणीसँग कमिशन लिएका हौं, नलिनू भन्ने शर्कुलर आएसम्म लिइरहन्छौं,’ उपत्यका बाहिरका एक ब्राञ्च म्यानेजरले भने ।
SHARE YOUR THOUGHTS