शेखर र पशुपतिले जतिसुकै फूर्ति गरेपनि यहाँ पुर्याउने मै हुँ, जिल्लानगरको ६०% भोट मसँग छः चण्डीराज ढकाल « Eglish Khabarhub

शेखर र पशुपतिले जतिसुकै फूर्ति गरेपनि यहाँ पुर्याउने मै हुँ, जिल्लानगरको ६०% भोट मसँग छः चण्डीराज ढकाल



काठमाडौं । चण्डीराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् । यद्यपि उनी महासंघका क्रियाकलापमा सक्रिय छन् ।

पूर्वअध्यक्ष भएर पनि महासंघको दैनिक कामकारबाहीमा आफ्नो स्थान खोज्ने गरेको र हस्तक्षेप गर्ने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ ।

महासंघको राजनीतिमा किन उनी बढी सक्रिय हुन्छन् ? दैनिक कामकारबाहीमा किन हस्तक्षेप गर्छन् ? यो विषयमा जानकारी दिने उद्देश्यले यो सामाग्री तयार पारिएको हो ।

अरु पूर्वअध्यक्षहरु पूर्वअध्यक्षका हैसियतमा बस्न सक्ने, दैनिक कामकारबाहीमा हस्तक्षेप नगर्ने तर तपाईंले चाहीँ किन अझै महासंघमै सक्रिय हुँदै दैनिक कामकारबाहीमा हस्तक्षेप गर्नुभएको ? भनेर हामीले सोधेका थियौं ।

आफूले कहिल्यै पनि महासंघको दैनिक कामकारबाहीमा हस्तक्षेप नगरेको चण्डीको दाबी छ ।

‘एउटा कुरा चाहीँ महासंघमा के गलत प्रवृत्ति देखिन्छ भने आफूलाई पर्दा त्यही मान्छे पञ्चामृतले धोएको र आफूलाई सहयोग नगर्दा तथानाम गाली गरिहाल्ने,’ चण्डीले भने, ‘यो भनेको उहाँहरुको मनस्थितिको बैंक्रप्सी हो ।’

चण्डी ढकालले हावी गरो भन्नुभन्दा आफू शक्तिशाली भएर हाबी गर्न उनको चुनौति छ ।

महेशलाल श्रेष्ठ र पदम ज्योतिको पालामा पनि बिनोद चौधरी हामबी भएको ढकालले सुनाए ।

‘रविभक्तजी, महेशलालजी नै हाबी हुन आए भैगो नि,’ उनले भने, ‘ अरु पूर्वअध्यक्षहरुलाई मैले वा अरु कस्ले भनेको छ महासंघमा नजाउ भनेर ? उहाँहरु पनि लाग्नुहोस्, आफ्नो टिम जिताउनुहोस् ।’

कुनै मिटिङमा एजेन्डा लानुभन्दा अगाडि आफूलाई फोन गरेर सोधेको भए समस्या नहुने उनले बताए ।

‘हामीलाई सोध्दैनसोधी एक्कासी एजेण्डा ल्याएपछि अरु सदस्यहरु पनि कन्फ्युज हुन्छन् । र, उनीहरुले त्यहाँ भएको सिनियरको मुख ताक्छन् । त्यस्तो अवस्थामा मैले यसरी जाउँ भन्दा कसरी डिक्टेड गरेको हुन्छ ?’ उनले भने ।

कुर्सीमा पुग्न आफ्नो बुई चढुञ्जेलचाहीँ ठीक हुने र कुर्सीमा पुगेपछि मैले गरेको गुन विर्सने ? भन्दै उनले प्रतिप्रश्न गरे ।

‘मेरो बुई चढेर कोही मान्छे कुर्सीमा पुग्छ अनि मैले दाइजो ल्याएको भनेर भन्छ भने म त भिड्न तयार हुन्छु,’ ढकालले भने, ‘आज केपी शर्मा ओलीले कसैलाई मन्त्री बनाउनुभयो, अनि मन्त्री बनाएपछि त्यो मन्त्रीले मैले प्रधानमन्त्रीका कतिवटा काम गर्दिएँ भन्न मिल्छ ? उसलाई काम गर्ने अवस्थामा कस्ले लगेको ?’

सुरज बैद्य, पशुपति मुरारका, भाष्करराज कर्णिकार, पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, किशोर प्रधान सबैलाई आफूले नै यहाँसम्म ल्याएको ढकालले दाबी गरे ।

‘शेखर गोल्छाले अहिले जतिसुकै फूर्ति गरेपनि उसलाई यो अवस्थामा पुर्याउने मै हुँ,’ ढकालले भने, ‘चण्डीदाई मलाई त केही पनि आउँदैन, हजुरले सिकाइदिनुपर्छ भन्दै हात जोडेर मसँग पूर्वपश्चिम हिँडेकै हो नि शेखरजी । उमाथि मेरो लगानी केही न केही त छ नि ।’

७५ वटै जिल्लामा गाडीबाट, रातिराति, हेलिकप्टर नै चार्टर्ड गरेर, २४सै घन्टा नसुतेर भोट मागेको छु नि शेखरका लागि, के मेरो योगदान नै छैन र ? भन्दै उनले प्रश्न गरे ।

विधान संशोधनको मुद्दा आफूले नभइ हाउसले उठाएको भन्दै यो विषय शेखर गोल्छाले नबुझेको उनको भनाइ थियो ।

शेखरले चण्डीले आफ्नो टिम ल्याएर ६ महिनाभित्र हटाउँछु भनेको हो भनेर बुझेको भए त्यो गलत भएको उनको भनाइ छ ।

‘जो मान्छेले भन्छ नि त्यसले गर्दैन, जसले भन्दैन त्यसले गर्छ,’ उनले भने, ‘भोलिको त्यो अवस्था आयो भने देखा जाएगा ।’

नेतृत्वले सबैलाई मिलाएर लान सक्यो भने त कुनै विवाद नआउने उनले बताए ।

‘शेखर गोल्छा सबैको अध्यक्ष भएर चल्नुपर्छ भन्ने मेरो धारणा हो,’ उनले भने, ‘ तर, शेखरजीले महासंघलाई सुदृढ गर्छु, बलियो बनाउँछु भन्दाभन्दै निर्वाचनको मिति नै तय नभएको अवस्थामा एउटा उम्मेद्धारको पक्षमा गएर भाषण गर्नुभयो, कहाँबाट राजनीति शुरु भयो ?’

हिँजो पशुपति मुरारका र शेखर गोल्छा अर्कै टिममा भएको तर पनि आफ्नो आवश्यकता ठानेर आएको र आफूले चुनाव पनि जिताएको उनले दाबी गरे ।

सुरज बैद्यलाई पनि आफूले नै बनाएको र उनको कार्यकालमा पनि विशिष्ट सदस्य भएको उनले बताए ।

‘सुरजले पूर्वअध्यक्षहरुको सल्लाहकार समितिमा बस्नु भने पनि उनको काम गर्ने शैली चित्त बुझेन र बसिँन,’ उनले भने, ‘कतिपय साथीहरुले सुरज बैद्यलाई मिस गाइड गरे ।’

कुशकुमारलाई अविश्वासको प्रस्ताव राख्न ४८ जनाले हस्ताक्षर गरेर आफूलाई दिएको र जसमा पहिलो हस्ताक्षर सुरज बैद्यले गरेको उनले दाबी गरे ।

‘तर म त्यो स्तरमा कहिल्यै पनि गइँन,’ उनले भने, ‘कुशकुमारजी मसँग बोल्दै बोल्नुहुन्नथ्यो तर मेरो आवश्यकता पर्यो अनि विशिष्ट राख्नुभयो । फेरि समितिमा पनि मलाई नै राख्नुभयो । मन पर्दैन भने किन राख्नू ?’

साथीहरुको समस्या पर्दा आफूले सहयोग गरेकै कारण आफू बलियो भएको उनको तर्क छ ।

‘साथीहरुलाई पर्यो भने आफूले गर्नुपर्ने मैले फोन उठाउनु पर्ने, चाहे राजस्वको होस्, चाहे प्रहरी प्रशासनको होस्, चाहे आन्तरिक होस्,’ उनले भने, ‘अरु त ठूल्ठूला भए फोन नै उठाउँदैनन्, रेस्पोन्स नै गर्दैनन् ।’

आफूले सहयोग गरेको मान्छेप्रति आफूले आशा र विश्वास गर्ने गरेको उनले बताए । जिल्ला नगरको ६० प्रतिशत भोट आफूले भनेकै ठाउँ भोट हाल्ने उनले दाबी गरे ।

‘जिल्ला नगरमा हेर्ने हो भने मैले भन्दा साथीहरुले मलाई विश्वास गरेर भोट हाल्नेहरुको संख्या ५५ देखि ६० प्रतिशत छ, जसले निर्वाचनलाई प्रभाव पार्न सक्छ,’ ढकालले दाबी गरे, ‘मैले सहयोग गरेको टिम ल्याउँछु भन्ने आशा छ ।’

उनले बरिष्ठ उापध्यक्षमा चन्द्र ढकालको प्यानललाई सहयोग गरेका छन् ।

४ जना मान्छे कोठामा बसेर सहमतिमा नेतृत्व छान्ने निर्णय लागू हुँदैन

ढकालले ४ जना मान्छे बसेर निर्णय गर्नासाथ त्यो लागू नहुने बताए । आफू पनि पूर्वअध्यक्ष भएको तर सहमतिमा नेतृत्व चयन गर्ने भन्ने कुरा आफूलाई थाहा नभएको उनले बताए ।

‘चुनाव गर्ने कि नगर्ने र चुनावलाई एउटा लेभलमा प्रधाव पार्नसक्ने व्यक्ति हामीहरुसँग कुनै छलफल नै छैन, अनि उहाँहरुले कोठामा बसेर गरेको कुराले पूर्णता पाउँछ जस्तो मलाई लाग्दैन, साथीभाइहरु चुनावका लागि धेरै अघि बढिसकेका छन् ।’

पूर्वअध्यक्षज्यूहरु कहीँ न कहीँ आफूलाई चुनावमा सक्रिय गराउन खोजेको उनले बताए ।

‘कस्को लागि सहमति गराउने ? एउटा व्यक्तिको लागि ? कि समग्र टिमको लागि ? जुन कुरा संभव छैन ।’ उनले भने, ‘उहाँहरुले के उद्देश्यका लागि बसेर समझदारी गर्नुभयो हामी त त्यसमा छैनौं । म पनि पूर्वअध्यक्ष नै हो क्यारे । मैले मान्नुपर्छ भन्ने जरुरी पनि छैन ।’

Publish on: