काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकरको शाखा आगामी बैशाख १५ गतेभित्र संचालनमा ल्याइसक्न निर्देशन दिएको छ । नेप्सेले सोमबार विज्ञप्ति जारी गर्दै शाखा विस्तारको सहमति पाएका ब्रोकरलाई सो समयभित्रमा शाखा विस्तार गरिसक्न निर्देशन दिएको जानकारी दिएको छ ।
‘२०७४ वैशाख १५ गतेसम्म तोकिएको मापदण्ड पूरा गरेर शाखा विस्तार गरी संचालन गर्न हुन जानकारी गराईएको छ, उक्त मितिभित्र शाखा स्थापना गर्न नसक्ने भएमा अन्य ईच्छुक सदस्य दलाल कम्पनीहरुलाई शाखा विस्तार स्थापनाका लागि अवसर दिईने व्यहोरा समेत सरोकारवाला सबैको जानकारीको लागि सूचना जारी गरिएको छ,’ नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेप्सेले ४१ ब्रोकरलाई शाखा स्थापनाको सहमति दिएको थियो । तर पुँजी बजारको सुपर लेगुलेटरी धितोपत्र बोर्डले केही नीतिगत र कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै केही समय पर्खन ब्रोकरलाई मौखिक आग्रह गरेको थियो । बोर्डको आग्रहकै कारण सबै तयारी पूरा भएपनि ब्रोकरले शाखा स्थापना गरेर कारोबार सुरु गरिसकेका थिएनन् ।
नेप्सेले शाखा विस्तारका लागि गत माघ ११ गते स्वीकृत प्रदान गरी विभिन्न शर्तहरु सहित पूर्वाधार तोकिदिएको थियो । सोही अनुरुप सम्बन्धित सदस्य दलालहरुलाई यस सम्बन्धमा भएको प्रगति विवरण पेश गर्न गत फागुन २४ गते पुनः पत्राचार गरेको थियो ।
SHARE YOUR THOUGHTS