काठमाडौं । बुध्द एयरले लकडाउन खुलेपछि आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि २ वटा होलिडे प्याकेज ल्याएको छ ।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै कम्पनीका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले काठमाडौंबाट पोखरा र चितवनमा जाने आन्तरिक पर्यटकलाई लक्षित गरी दुई वटा प्याकेज ल्याएको जानकारी दिए ।
बस्नेतका अनुसार जुन १ तारिखदेखि प्याकेज कार्यान्वयनमा लगिनेछ । तर सरकारले लकडाउनको अवधि बढायो भने सोही अनुसार प्याकेजलाई पछाडि सारी नयाँ मिति तय गरिनेछ ।
‘कोभिडका कारण परेको प्रभावबाट अब हामी बाहिर निस्कनु पर्छ, त्यसका लागि हामी सबै आशावादी भएर लाग्नुपर्छ त्यसकारण हामीले यो प्याकेज शुरु गरेका हौं,’ उनले भने ।
उनका अनुसार काठमाडौंबाट हुने पर्यटनमा पोखरा र चितवनको बजारको हिस्सा ३० प्रतिशत हो । त्यसैले शुरुमा बुध्द एयरले यी दुई गन्तव्यबाट शुरुवात गरेको हो ।
यसका लागि कम्पनीले सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी प्याकेज कार्यान्वयनमा ल्याउनेछ । बस्नेतका अनुसार निर्देशिका समेत बनाएको र त्यसको अक्षरशः पालना पनि गरिनेछ ।
‘यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यानमा दिँदै प्रतिरक्षात्मक निर्देशिका बनाइएको छ, सोही अनुसार पालना पनि हुनेछ,’ उनले भने ।
यस्तो त प्याकेज
बस्नेतका अनुसार काठमाडौंबाट पोखराका लागि एक जनाका लागि २ दिने प्याकेजका लागि ५ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । जसमा दुईतर्फी हवाई टिकट, बस्नका लागि होटलको व्यवस्था र एयरपोर्ट पिकअप र ड्रपको व्यवस्था गरिएको छ । यस प्याकेजमा खानाको व्यवस्था भने गरिएको छैन ।
त्यस्तै, चितवनका लागि एक जनाका लागि २ दिने प्याकेज ल्याइएका छ । जसको मूल्य १३ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । यसमा दुईतर्फी हवाई टिकट, भरतपुर विमानस्थलबाट सौराहका होटलसम्म पिक अप र ड्रप सेवा उपलब्ध हुनेछ भने होटलमा खाना र बस्नको व्यवस्थासँगै जंगल सफारी र थारु कल्चरल शो पनि देखाइनेछ ।
कोभिडको महामारीका कारण अहिले सबैभन्दा बढी पर्यटन क्षेत्र र त्यसमा पनि एभिएसन क्षेत्र प्रभावित भएको भन्दै आगामी दिनमा चीन र भारतीय पर्यटकलाई आकर्षित गर्नुपर्ने बस्नेतले बताए ।
‘भारत र चीन दुई छिमेकी मुलुकबाट मात्रै वर्षेनी १४ करोड मानिसहरु विदेश घुम्न जान्छन्, नेपाल नजिक पनि पर्ने र विश्वासको वातावरण सिर्जना गर्न सकियो भने आगामी दिनमा ती पर्यटकलाई नेपालमा आकर्षित गर्न सकिन्छ,’ उनले भने ।
SHARE YOUR THOUGHTS