काठमाडौं । मंगलबार र बुधबार २ दिनका लागि खुलेको सेयर बजारमा ६४ अर्ब रुपैयाँको लगानीकर्ताको सम्पत्ति घटेपछि धितोपत्र बोर्डले अनुसन्धान गर्ने भएको छ ।
धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धानमा २ दिनमा सेयरको मूल्य घटाउन चलखेल भएको तथा नियोजित रुपमा घटाउन खोजेको निष्कर्ष निकालेको छ ।
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले २ दिनको कारोबारको बारेमा अध्ययन गर्ने र अध्ययनले चलखेल गरेको निष्कर्ष निकालेमा कारोबार रद्द हुने बताए ।
‘अहिले हामी अध्ययनको क्रममा रहेका छौ,१० कित्ता मात्र सेयर बिक्रीमा हालेर चलेखल गरेको गुनासो आएको छ,अध्ययनपछि मात्र चलखेल भएको नभएको भन्न सकिन्छ,’बोर्ड अध्यक्ष ढुंगानाले भने ।
गतसाता सरकारले सेयर कारोबार खोल्न दिने निर्णय गरेको थियो ।
सो अनुसार बोर्डले मंगलबारदेखि सेयर कारोबार खोल्ने निर्णय लिएको थियो । जसमा सेयर कारोबार २ घण्टाको लागि हुने थियो भने परिसूचक २ प्रतिशतले तलमाथि भएमा सर्किट ब्रेक लागेर बन्द गरिने निर्णय थियो ।
बोर्डमा ब्रोकरहरुले लगानीकर्तालाई सबैलाई समान अवसर नदिएको र केही ब्रोकरहरु समेत सेयर बजार घटाउने चलखेलमा लागेको आरोप लागेको छ ।
अध्ययनबाट चलखेल गरेको सेयर बजार घटाइएको पाएमा २ दिनको कारोबार रद्द हुने छ
सेयर कारोबार खोल्ने र नखोल्ने विषयमा लगानीकर्ताबीच एकमत भने छैन । सुरुमा बन्द गर्नुपर्छ भनेका लगानीकर्ताका संगठनहरु पछि सेयर कारोबार खोल्नुपर्छ भन्नेमा थिए । तर,सेयर बजार ओरालो लागेपछि उनीहरुले बन्द गराउन लबिङ गरेका थिए ।
‘सेयर मूल्य बढेको भए लगानीकर्ताले बजार खोल्न दवाव दिने थिए,घटेको कारण बन्द गराउन लागे यसले बजारमा कुनैपनि परिपक्वता देखिएन,’एक ब्रोकरले भने ।
सेयर बजार घटेपछि लगानीकर्ताले २ दिनको कारोबार रद्द गर्न माग राखेका छन् ।
SHARE YOUR THOUGHTS