काठमाडौं । एनआइसी एशिया बैंकले करारमा राखेका कर्मचारीलाई समयावधि नसकिँदै राजीनामा दिन दबाब दिएको छ ।
कोरोना भाइरसका कारण बैंकको आम्दानी खुम्चिएको भन्दै बैंकले करारमा रहेका कर्मचारीलाई राजीनामा दिन चरम दबाब दिएर धमाधम हटाउन थालेको हो ।
काठमाडौं उपत्यकाभित्रै कार्यरत दर्जनौं कर्मचारीले आफूलाई व्यवस्थापनले राजीनामा गर्न दबाब दिएको भन्दै क्लिकमाण्डूको सम्पर्कमा आएका छन् ।
‘म वितेको डेढ/दुई वर्षदेखि बैंकमा करारमा काम गर्दै आएको छु, मेरो करार अवधि ०७७ असारसम्म बाँकी छ,’ एक कर्मचारीले क्लिकमाण्डूसँग भने, ‘श्रम ऐन अनुसार ६ महिना करारमा काम गरेको कर्मचारीलाई स्थायी गर्नुपर्छ । तर, बैंकले प्रत्येक ५ महिनामा करार सम्झौता नविकरण गरेर हाम्रो श्रम शोषण गर्दै आएको छ ।’
कोरोना भाइरसका कारण बैंकहरुको आम्दानी घटेका कारण नाफामा असर पर्ने भन्दै धमाधम आउटसोर्सिङ र करारमा रहेका कामदारलाई हटाउन थालेका छन् ।
कर्मचारी नहटाउन राष्ट्र बैंकको निर्देशन
राष्ट्र बैंकले बैंकर्स संघमार्फत् सबै बैंकहरुलाई करारमा राखेका कर्मचारीहरुलाई नहटाउन प्रष्ट निर्देशन दिइसकेको छ ।
बैंकहरुले करारका कर्मचारी हटाउने भनेपछि राष्ट्र बैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्देशन दिएको हो ।
त्यतिमात्रै होइन, राष्ट्र बैंकले एनआइसी एशिया बैंकलाई करारमा राखेका कर्मचारी नहटाउन छुट्टै मौखिक निर्देशन पनि दिइसकेको छ ।
कोरोना कहरः बैंकिङ क्षेत्रका हजारौं कर्मचारीको रोजगारी गुम्दै, बैंकरको सेवा सुविधा कटौति हुने
‘यो संकटको घडीमा कामदारको समस्या पनि बुझ्नुपर्छ, अहिले तपाईंहरुले करारमा राखेका कर्मचारी हटाउनुभयो भने अबको २ वर्ष नयाँ कर्मचारी भर्ना गर्न रोक लागाउँछौं भनेर प्रष्ट निर्देशन दिएका छौं,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘हाम्रो निर्देशनपछि पनि कर्मचारी हटाएको पाएमा थप एक्सन लिन्छौं ।
के एनआइसी एशिया कर्मचारी निकाल्नुपर्ने अवस्थामा पुगेकै हो ?
होइन । बैंकले प्रत्येक वर्ष उल्लेख्य नाफा कमाउँदै आएको छ । यसरी लगातार नाफा बढाइरहेको बैंकले त्यही नाफा कमाउन अहोरात्र खटिएका कर्मचारी निकाल्नुपर्ने अवस्था छैन ।
चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ५० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिको भन्दा १० प्रतिशतले बढी हो ।
कर्मचारी निकाल्ने बैंकले ऋणीलाई भने ब्याजमा १० प्रतिशत छुट दिइरहेको छ । राष्ट्र बैंकले गत चैत मसान्तको ब्याजदरमा मात्रै १० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको भएपनि एनआइसी एशियाले भने बैशाख र जेठ महिनामा किस्ता तिर्ने ऋणीलाई पनि १० प्रतिशत ब्याजछुट दिने घोषणा गरिसकेको छ ।
आजका दिनमा बैंकमा लगानीकर्ताले गरेको लगानीको प्रतिफल अर्थात् रिटर्न अन इक्विटीका आधारमा एनआइसी एशिया बैंक सबैभन्दा धेरै आम्दानी गर्नेमा पर्छ । ०७६ चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको रिटर्न अन इक्विटी २३.९२ प्रतिशत छ ।
‘हामी कर्मचारीहरुको गरेको मिहेनतका कारण बैंकले यतिधेरै रिटर्न अन इक्विटी राख्न सफल भएको हो,’ राजिनामा दिन दबाद दिएका अर्का कर्मचारीले भने, ‘आज संकटको घडीमा आएर हामीलाई कामबाट निकाल्छु भन्दा अत्यन्तै दुःख लागेको छ ।’
आफू राजिनामा नदिएर श्रम अदालत जाने उनले बताए ।
बैंकमा अहिले ३४ सय ७२ जना कर्मचारी कार्यरत छन् । जसमध्ये १ हजार ७ सय ८४ जना पुरुष र १ हजार ६ सय ८८ जना महिला कर्मचारी कार्यरत छन् ।
बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै आउटसोर्सिङ र करारमा कामदार राख्ने बैंक हो एनआइसी एशिया । यस्ता कर्मचारीलाई दैनिक काम गरेको आधारमा ज्याला दिए पुग्छ । स्थायी कर्मचारी भएको अवस्थामा अन्य सेवा सुविधा, भत्ता र बोनस पनि दिनुपर्छ । त्यसैले करारमा कर्मचारी राख्दा बैंकको ठूलो खर्च जोगिन्छ ।
जबकी एनआइसी एशिया बैंकका सीइओ रोशन न्यौपानेले बैंकबाट तलब/भत्ता र बोनस गरी वार्षिक ३ करोड रुपैयाँ बुझ्छन् भने उच्च व्यवस्थापनका कार्यरत कर्मचारीको तलब/भत्ता पनि निकै आकर्षक छ ।
केही समयअघि राष्ट्र बैंकले आउटसोर्सिङ र करारका कर्मचारीलाई कोर बैंकिङको काम नलगाउन निर्देशन दिएको थियो । तर, एनआइसी एशियाले करारका कर्मचारीलाई पनि कोर बैंकिङको काममा लगाउँदै आएकोछ ।
सम्बन्धित निकायले समयै ध्यान पुर्याउन नसके बैंकिङ क्षेत्रबाट मात्रै १०/१५ हजार जनाभन्दा बढी रोजगारी गुमाउने निश्चित छ । बेरोजगारीको व्यवस्थापन गर्नु राज्यका लागि ठूलो चुनौति हुनेछ ।
SHARE YOUR THOUGHTS