काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रियस्तरका विकास बैंकहरुको नाफाको वृद्धिदर वाणिज्य बैंकहरुको भन्दा ७.७८ प्रतिशतले बढी रहेको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुको चैत मसान्तसम्म २.६५ प्रतिशत खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा बढाएका थिए, भने १० वटा राष्ट्रियस्तरका विकास बैंकहरुले १०.४३ प्रतिशतले खुद नाफा बढाएका हुन् ।
बैंकहरुद्वारा सार्वजनिक चालु आर्थिक तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुले ४ अर्बको हाराहारीमा खुद नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका १० वटा विकास बैंकहरुले चैत मसान्तसम्म ३ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
गत आर्थिक वर्षको तेस्रोे त्रैमासमा राष्ट्रियस्तरका विकास बैंकले ३ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए, भने उक्त नाफा चालु आर्थिक वर्षको सोही अवधिमा ३६ करोड ९९ लाख रुपैयाँले बढाएर ४ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ पुर्याएका हुन् । सो अवधिमा १० वटा विकास बैंक वितरण योग्य नाफा भने ७७ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउने राष्ट्रियस्तरका विकास बैंकको सुचीमा मुक्तिनाथ विकास बैंक सुचिकृत हुन सफल भएको छ । बैंकले सो अवधिमा नाफामा ८ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आवको चैत मसान्तसम्मको ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफालाई ५ करोड ४ रुपैयाँले बढाएर ६७ करोड ६० लाख रुपैयाँ पुर्याएको हो ।
चालु आवको चैत मसान्तसम्म ५ वटा विकास बैंकले ५० करोड रुपैयाँ बढी र ५ वटा विकास बैंकले २० करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । ५० करोड रुपैयाँ नाफा कटाउने विकास बैंकमा मुक्तिनाथ विकाससँगै गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट र ज्योति विकास बैंक रहेको छन् । साथै यस्तै, चालु आवको चैत मसान्तसम्म महालक्ष्मी विकास बैंक, गण्डकी विकास बैंक, देव विकास बैंक, सांग्रिला विकास बैंक र कामना सेवा विकास बैंकले २० करोड रुपैयाँ बढी नाफा कमाएका हुन् ।
गत आवकोे चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा २० करोड रुपैयाँभन्दा बढी नाफा कमाउने ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक र गण्डकी विकास बैंक हुन् । सो अवधिमा १० करोड रुपैयाँ नाफा कटाउने बैंकमा सांग्रिला डेभलपमेन्ट बैंक, देव विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।
चैत मसान्तसम्म १० वटा राष्ट्रियस्तरका विकास बैंकहरु मध्ये ३ वटा बैंकको खुद नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ, भने ७ वटा विकास बैंकको नाफा बढेको छ । नाफा घटाउने विकास बैंकमा देव विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंक रहेका छन् । बाँकी ७ वटा विकास बैंकको नाफा चालु आवको चैत मसान्तमा १.६२ प्रतिशतदेखि ५२.७७ प्रतिशतसम्म नाफामा वृद्धि भएको छ ।
मुक्तिनाथ विकास बैंक
बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका १० वटा विकास बैंकहरुमा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ । बैंकले चालु आवको तेस्रोे त्रैमासमा गत आवको सोही अवधिमा भन्दा ८.०६ प्रतिशत अर्थात ५ करोड ४ लाख रुपैयाँले नाफामा वृद्धि गर्दै ६७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको हो । सो अवधिमा बैंकको वितरण योग्य नाफा ३२ करोड ३७ लाख रुपैयाँ रहेको छ ।
गरिमा विकास बैंक
चालु आवको तेस्रो त्रैमासमा राष्ट्रियस्तरका विकास बैंकहरुमा गरिमा विकास बैंक बढी नाफा कमाउने बैंकको दोस्रो नम्बरमा सुचीकृत भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ४३ करोड २५ लाख रुपैयाँ कमाएको बैंकले चालु आवको सोही अवधिमा नाफामा १४.७६ प्रतिशत अर्थात ६ करोड ३८ लाख रुपैयाँले वृद्धि गरी ४९ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । सो अवधिमा बैंकको ७ करोड ७३ लाख रुपैयाँ वितरण योग्य नाफा रहेको छ ।
लुम्बिनी विकास बैंक
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३७ करोड ४९ लाख नाफा गरेको लुम्बिनी विकास बैंकले चालु आव सोही अवधिमा १६.७० प्रतिशतले नाफामा वृद्धि गरी ४३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवको तेस्रो त्रैमासमा भन्दा समीक्षा अवधिममा ६ करोड ३८ लाख रुपैयाँ नाफा बढाएको हो । सो अवधिमा बैंकको वितरण योग्य नाफा १० करोड ३२ लाख रुपैयाँ रहेको छ ।
साइन रेसुङ्गा डेभलपमेन्ट बैंक
चालु आवको दोस्रो त्रैमासबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा स्थापित भएको साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चैतमसान्तसम्म नाफामा अन्य ६ वटा पुराना राष्ट्रियस्तरका विकास बैंकलाई पछि पारेको छ । बैंकले चालु आवको तेस्रो त्रैमासमा नाफामा ४०.४८ प्रतिशतले वृद्धि गरेको छ । गत आवको चैत मसान्तमा बैंकले ३१ करोड ९ लाख रुपैयाँ नाफामा १२ करोड ५८ लाख रुपैयाँ थप गरी चालु आवको सोही अवधिमा ४३ करोड ६७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो । सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ७ करोड ८ लाख रुपैयाँ रहेको छ ।
ज्योति विकास बैंक
गत आवको तेस्रो त्रैमासमा २८ करोड ५३ लाख रुपैयाँ नाफा गरेको ज्योति विकास बैंकले चालु आवको सोही अवधिमा नाफामा ५२.७७ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आवको चैत मसान्तमा आर्जन गरेको नाफामा १५ करोड ६ लाख रुपैयाँले बढाएर ४३ करोड ६० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । चैत मसान्तसम्म बैंकको वितरण योग्य नाफा ९ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकले गत आव चैत मसान्तको भन्दा २.४३ प्रतिशतले नाफा बढाएको छ । गत आवको तेस्रो त्रैमासमा ३८ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको बैंकले उक्त नाफामा ९४ लाख रुपैयाँले बढाएर चालु आवको सोही अवधिमा ३९ करोड ७३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो । सो अवधिमा बैंकको वितरण योग्य नाफा ४ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
गण्डकी विकास बैंक
राष्ट्रियस्तरका विकास बैंकहरुमा गण्डकी विकास बैंकले चालु आवको तेस्रोे त्रैमासमा गत आवको सोही अवधिको तुलनामा ५.३३ प्रतिशतले नाफा घटाएको छ । गत आवको सोही अवधिमा ३९ करोड १८ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा २ करोड ८ लाख रुपैयाँले नाफा घटाएर ३६ करोड ९५ लाख रुपैयाँमा सीमित गरेको हो । सो अवधिमा बैंको वितरण योग्य नाफा ३ करोड २८ लाख रुपैयाँ रहेको छ ।
देव विकास बैंक
गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा देव विकास बैंकको खुद नाफा चालु आवको सोही अवधिमा १९.४९ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तमा २९ करोड १८ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा ५ करोड ६९ लाख रुपैयाँ नाफा घटाएर २३ करोड ४९ लाख रुपैयाँमा नाफा सीमित गरेको छ । उक्त अवधिमा बैंकको वितरण योग्य नाफा १ करोड १८ लाख रुपैयाँ छ ।
सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकले चालु आवको तेस्रोे त्रैमासमा २२ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तसम्म २४ करोड ३१ लाख रुपैयाँ नाफा कममाएको बैंकले चालु आवको सोही अवधिमा नाफा ७.६८ प्रतिशत अर्थात १ करोड ८६ लाख रुपैयाँले नाफा बटाएको हो । सो अवधिमा बैंकको वितरण योग्य नाफा ९० लाख रुपैयाँ रहेको छ ।
कामना सेवा विकास बैंक
राष्ट्रियस्तरका विकास बैंकहरुमा सबैभन्दा कम नाफा आर्जन गर्ने कामना सेवा विकास बैंक हो । गत आवको तेस्रोे त्रैमासमा २१ करोड ५४ लाख रुपैयाँ नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा नाफा १.६२ प्रतिशतले वृद्धि गरी २१ करोड ५४ लाख रुपैयाँ पुर्याएको छ । सो अवधिमा बैंकले नाफामा ३४ लाख रुपैयाँ थप गरेको हो । चैत मसान्तसम्म बैंकको वितरण योग्य नाफा भने ५८ हजार रुपैयाँ रहेको छ ।
SHARE YOUR THOUGHTS