सेयर बजार कहिल्यै बन्द नहुनेः बोर्डसँग झुके लगानीकर्ताका संगठन, आन्दोलन नगर्ने सम्झौता « Eglish Khabarhub

सेयर बजार कहिल्यै बन्द नहुनेः बोर्डसँग झुके लगानीकर्ताका संगठन, आन्दोलन नगर्ने सम्झौता



काठमाडौं । सेयर बजार बन्द गराएर विश्वमै किर्तिमान कायम गर्न सफल नेपाल धितोपत्र बोर्डले सेयर लगानीकर्ताका संगठनलाई झुक्न बाध्य बनाएको छ ।

विभिन्न बाहनामा आन्दोलनमात्रै होइन आमरण अनसनसमेत बस्न तम्सिने लगानीकर्ताले शुक्रबार धितोपत्र बोर्डमा पुगेर आइन्दा कहिल्यै पनि बजार बन्द नगर्ने र आन्दोलनमा पनि नउत्रिने निर्णयमा हस्ताक्षर गरेर फर्किएका छन् ।

शुक्रबार धितोपत्र बोर्डमा पुगेका सबै लगानीकर्ताका संगठनहरुले गरेको हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ‘अब उप्रान्त कुनै पनि बाहनामा धितोपत्रको दोस्रो बजार बन्द नगर्ने व्यवस्था मिलाउन सबै लगानीकताहरूले प्रतिवद्धता जाहेर गर्दै बोर्डले यस अवधिमा भए गरेका प्रतिहरुलाई जानकारी गराउँदै सकेसम्म चाँडो दोस्रो बजार खुला गर्नसमेत अनुरोध गर्ने निर्णय भयो’ भन्ने उल्लेख छ ।

बोर्डका अधिकारी र लगानीकर्ताका संगठनबीच भएको छलफलमा दोस्रो बजार कहिलेबाट खोल्ने भन्ने ठोस निर्णय हुन सकेको छैन ।

लगानीकर्ताले आइतबारबाटै बजार खोल्नु पर्छ भने पनि बोर्डले त्यो मानेको छैन । बोर्डले चाँडै दोस्रो बजार खोल्ने भनेको छ ।

बोर्ड स्रोतले क्लिकमाण्डूसँग भन्यो ‘आइतबार नै भन्दा पनि अर्को साता भनेका छौं, अब हामी सेयर बजार खुलेपछि कुनै पनि बाहनामा बन्द नगर्ने गरी खोल्ने तयारीमा छौं, सम्भवत मंगलबारबाट बजार खुल्ने सम्भावना छ ।’

छलफलमा लगानीकर्ताका संघ संस्थाहरुले आफ्ना सदस्यहरुलाई यस महामारीको अवस्थामा घरमै बसेर सेयर कारोबार गर्न प्रोत्साहित गर्ने र सो अनुरूप सल्लाह सुझाव दिने निर्णय पनि भएको छ ।

छलफलमा नेपालको पूँजी बजारलाई नीति, नियम, पूर्वाधार र प्रविधिले सम्पन्न गरी बजार विकास, विस्तार सुधार गर्न लगानीकर्ता तथा अन्य सरोकारवालहरुको सुझाव नेपाल धितोपत्र बोर्डले गभीरतापूर्वक लिएको जनाएको छ ।

नेप्सेको अनलाइन कारोबार प्रणालीमा केही सुधार भएको र विद्यमान अवस्थामा युजरनेम र पासवर्ड प्राप्त गर्ने, तत्कालको लागि नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस सेवा या उपयुक्त विद्युतीय माध्यम प्रयोग गर्ने व्यवस्था भएपछि बजार पूर्णरुपमा सूचारु हुने सहमती पत्रमा उल्लेख छ ।

यस्तै मिडिएम एण्ड क्लियरिट लिमिटेडले तोकेको क्लियरिङ बैंकहरुको इन्टरनेट बैकिङ सेवा तथा सिडिएस एण्ड क्लियरिस लिमिटेडको मेरो सेयर सुविधा प्राप्त गरे पश्चात ग्राहकले घरमै बसी अनलाइन मार्फत शेयर खरीद बिक्री गर्नुका साथै शेयर बिक्री पश्चात इलोक्ट्रोनिक माध्यमबाट रकम भुक्तानी गर्न र प्राप्त गर्न समस्या रहेको नदेखिएकोले बजार पूर्ण रुपमा सञ्चालन हुन सक्ने पत्रमा उल्लेख छ ।

अब बोर्डले सम्बन्धित लगानीकतालाई सुसूचित गर्ने र अन्य सुधारका काम कारवाहीहरु क्रमशः अगाडि बडाउदै जाने कुरामा सबै लगानीकर्ताका सँघ, संस्था र समूह बीच मतैक्यता भई नेपाल धितोपत्र बोर्डलाई दोस्रो बजार सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ । 

Publish on: