काठमाडौं । सरकारले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान सूचारु गर्ने निर्णय गरेसँगै विभिन्न वायुसेवा कम्पनीहरुले टिकट बिक्री शुरु गरेका छन् । कम्पनीहरुले सरकारको अनुमतिसँगै भदौ १ गतेदेखिका लागि विभिन्न गन्तव्यका लागि टिकट बिक्री शुरु गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पर्यटन मन्त्रालयलाई हवाई उडानका लागि प्रोटोकल बनाउनका लागि निर्देशन दिएको थियो । अब सोही प्रोटोकल अनुसार हवाई उडान सूचारु हुनेछन् ।
सरकारको उक्त निर्णयसँगै निजी वायुसेवा कम्पनीहरु बुध्द एयर, यति एयरलायन्स र सिम्रिक एयरलाइन्सले वेवसाइट तथा मोबाइल एपबाट टिकट बिक्री शुरु गरिसकेका छन् ।
बुध्द एयरका प्रबन्ध निर्देशन बीरेन्द्रबहादुर बस्नेतले सरकारले भदौ १ गतेदेखि आन्तरिक उडान खुला गर्ने निर्णयसँगै मंगलबारदेखि टिकट बिक्री खुला गरिएको जानकारी दिए ।
त्यसैगरी यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिृकत अनोज रिमालका अनुसार सरकारको निर्णयसँगै विभिन्न गन्तव्यका लागि टिकट बिक्री शुरु गरिएको छ ।
आन्तरिक तथा अन्तरराष्ट्रिय व्यवसायिक उडान गत चैतदेखि नै बन्द थियो । कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो । आवश्यक तयारी गरेर उडान शुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने भएको छ ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको भनिएको पर्यटन र उड्डयन क्षेत्र खुलाउनका लागि व्यवसायीहरुले दबाब दिँदै आएका थिए ।
यसअघि पर्यटनसँग सम्बन्धित करिब ३ दर्जन संघ संस्थाले साउन १५ गतेदेखि आन्तरिक उडान र साउन ३१ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्नुपर्ने माग गरेका थिए । उनीहरुले पर्यटन क्षेत्र पुनः सूचारु हुनका लागि हवाई उडान आवश्यक रहेको भन्दै सबैभन्दा शुरुमा हवाई उडान खोल्नु पर्ने माग राखेका थिए ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सरकारले अनुमति दिएमा घाटामा भए पनि सेवा सूचारु गर्ने स्पष्ट पारिसकेका छन् ।
निजी क्षेत्रका हवाई कम्पनीहरुले समेत आन्तरिक उडानका लागि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्दै आफूहरु उडानका लागि तयारी अवस्थामा रहेको बताइसकेका छन् । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले यसअघि नै नमूना परीक्षण गरिसकेको छ ।
यस्तो छ विभिन्न गन्तव्यको भाडादर
बुध्द एयरको होलिडे प्याकेज
बुध्द एयरका सिनियर एक्जुकेटिभ म्यानेजर परासरजंग पाण्डेका अनुसार भदौ १ गतेदेखि एक महिनाका लागि पोखरा र चितवनका लागि होलिडे प्याकेज पनि शुरु हुनेछ ।
जस अन्तर्गत पोखराका लागि ४ हजार ९९९ रुपैयाँ र चितवनका लागि ६ हजार ९९९ रुपैयाँको प्याकेज तय गरिएको पाण्डेले जानकारी दिए । प्याकेजमा दुईतर्फी हवाई टिकट, ट्विन सेयरिङ होटल, एयरपोर्ट पिकअप एन्ड ड्रप तथा ब्रेकफास्ट समावेश गरिएको छ ।
बुध्द एयरले यसअघि पनि लकडाउनको समयमा जुन १ देखि लागू हुने गरी होलिडे प्याकेज ल्याएको थियो । तर लकडाउनका कारण हवाई उडान सूचारु नभएपछि स्थगित गरिएको थियो । पाण्डेका अनुसार यसअघि कायम गरिएको प्याकेजको मूल्यलाई घटाएर नयाँ प्याकेज कायम गरिएको हो ।
SHARE YOUR THOUGHTS