काठमाडौं । नेपाल धितोपत्र बोर्डले सगुन इन्कर्पोरेशनले बिना अनुमती लगानीकर्ताहरुलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको भन्दै भ्रम फैलाएको जनाएको छ ।
उक्त इन्कर्पोरेशनले सार्वजनिक निष्काशन गर्न बोर्डबाट अनुमति नलिएको र बोर्डबाट स्वीकृति प्राप्त नगरेका निष्काशन तथा योजनाहरुमा सहभागी नहुन सर्वसाधारण लगानीकर्ताहरुलाई आग्रह समेत गरेको छ ।
‘केही समययता विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमहरुमा विदेशमा दर्ता भएको सगुन इन्कर्पोरेशन जस्ता कम्पनीले नेपाली लगानीकर्ताहरुलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको समाचार र विज्ञापनहरुप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भाएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ (१) मा संगठित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गर्नुअघि बोर्डमा दर्ता गराउनु पर्ने र दफा २९(१) मा संगठित संस्थाले एकपटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र विक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यवस्था रहेको जानकारी गराएको छ ।
बोडको स्वीकृती बिना नेपालमा धितोपत्रको निष्कासन गर्ने कार्य गैरकानूनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डबाट स्वीकृत प्राप्त गरेको निष्काशनमा मात्र लगानी गर्न सर्वसाधारण लगानीकताहरुलाई अनुरोध समेत गरेको छ ।
प्रचलित कानुन बमोजिम स्वीकृति नपाएका त्यस्ता निष्काशनमा लगानीकर्तालाई लक्षीत गरी कनै पनि व्यक्ति वा सस्थाले संचारका माध्यम मार्फत त्यस्तो सूचना तथा विज्ञापन प्रकाशन तथा सम्प्रेषण नगन नगराउन समेत बोर्डले आग्रह गरेको छ ।
SHARE YOUR THOUGHTS