सरकारी अनुदानमा सुरु भयो कोरोना बीमा, सरकारीलाई शतप्रतिशत/ सर्वसाधारणलाई ५० प्रतिशत « Eglish Khabarhub

सरकारी अनुदानमा सुरु भयो कोरोना बीमा, सरकारीलाई शतप्रतिशत/ सर्वसाधारणलाई ५० प्रतिशत



काठमाडौं । सरकारी अनुमानमा कोरोना बीमा शूरु भएको छ । सरकारले बजेटमा घोषणा गरेको कोरोना बीमा कार्यक्रमलाई कार्याविधि बनाएर बीमा समितिले औपचारीक रुपमा लागू गरेको हो ।

बीमा समितिले १ लाख रुपैयाँको कोरोना बीमा गर्दा सरकारी कर्मचारीले शत प्रतिशत र सर्वसाधारणले ५० प्रतिशत सरकारी अनुदान पाउने जनाएको छ ।

सरकारी कर्मचारीको निःशुल्क सामूहिक बीमा गर्ने सम्बन्धमा बजेटले व्यवस्था गरेको कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बताए ।

‘नागरिकले आफ्नो परिवारको सामूहिक बीमा गर्दा ५० प्रतिशत अनुदान पाउने व्यवस्थालाई पनि कार्यान्वयनमा ल्याइएको छ,’ समितिले बुधबार पत्रकार सम्मेलनमा अध्यक्ष चापागाईले भने, ‘परिवारका सबै सदस्यको सामूहिक बीमा गरे मात्रै उक्त अनुदान पाउन सकिन्छ ।’

अनुदानमा हुने सोे बीमालेखको अवधि २०७८ असार मसान्त सम्ममात्र हुने अध्यक्ष चापागाईले जानकारी दिए ।

कस्ताले गर्न पाउछन् अनुदानमा कोरोना बीमा

बीमालेख खरिद गर्नका लागि नेपाली नागरिक हुनुपर्नेछ । भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको भएमा १५ दिन अनिवार्य क्वारेन्टाइनमा बसेको र थप १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको हुनुपर्ने समितिले जानकारी दिएको छ ।

त्यस्तै समितिकाअनुसार सामूहिक कोरोना बीमाका लागि एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको स्वघोषणा सहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात पेश गर्नुपर्ने व्यवस्था समेत गरेको छ । अनुदान प्राप्त गर्नका लागि कोरोना बीमा मापदण्ड, २०७७ मा तोकिए बमोजिमका जोखिमाङ्कन व्यवस्था सम्बन्धी सम्पुर्ण प्रक्रिया तथा मापदण्ड पुरा भएको हुनुपर्छ ।

जसमा एकाघर परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बीमा गरिएको स्वघोषणा एवं सम्बन्धित स्थानीय तहले प्रमाणीत गरेको कागजात, एकाघर परिवारका सदस्यहरुको नाम तथा उमेर खुल्ने सम्बन्धित स्थानीय तहले प्रमाणीत गरेको कागजात पेश गर्नु पर्नेछ । साथै विगत ३० दिनसम्म नेपालमा नै बसोबास गरेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात पेश गर्नुपर्ने छ ।

बीमा लेख अन्तर्गत एक लाख र ५० हजार गरी दुई प्रकारको बीमाङ्क कायम गरिएको छ । एक लाख बीमाङ्क कायम भएको बीमालेखका लागि प्रतिव्यक्ति एक हजार र ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति ५ सय बीमाशुल्क कायम गरिएको छ । परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बीमा गरिएको खण्डमा १ लाखको बीमाङ्कका लागि प्रतिव्यक्ति ६ सय र ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति ३ सय बीमाशुल्क लाग्ने छ । परिवारको सामूहिक बीमा गर्दा १ लाखको बीमाङ्कका लागि प्रतिव्यक्ति ३ सय रुपैयाँ र ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति १ सय ५० रुपैयाँ सरकारबाट अनुदान उपलब्ध हुने छ ।

कोरोना बीमालेख खरिद गरेको १५ दिन पछि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी हुने बीमा समितिले जनाएको छ । त्यसको लागि बीमालेख दाबी गरेको ७ दिन भित्र बीमितलाई दाबी भुक्तानी हुने व्यवस्था पनि समितिले गरेको छ ।

दाबी भुक्तानी नहुँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्ने व्यवस्था गरिएको छ । बीमकले सामूहिक बीमा गर्दा उल्लेखित प्रक्रिया र मापदण्ड विपरीत गरेको पाइए बीमाशुल्क अनुदान स्वरुप उपलब्ध नहुने पनि समितिले स्पस्ट पारेको छ । तर त्यस्तो बीमितको कोरोना संक्रमण भएको पाइएमा बीमालेख विक्री गर्ने बीमा कम्पनीको वासलातबाट दावी भुक्तानी दिन सम्बन्धित बीमकलाई समितिले निर्देशन दिन सक्नेछ

Publish on: