दुई वर्षपछि लिवर्टी इनर्जीले राम्रो प्रतिफल दिन्छ, ढुक्क भएर लगानी गर्दा हुन्छ: सञ्चालक राम पाण्डे « Eglish Khabarhub

दुई वर्षपछि लिवर्टी इनर्जीले राम्रो प्रतिफल दिन्छ, ढुक्क भएर लगानी गर्दा हुन्छ: सञ्चालक राम पाण्डे



लमजुङको दोर्दी करिडोरमा निर्माण सम्पन्न हुने चरणमा रहेको आयोजना हो माथिल्लो दोर्दी एक । कुनै समस्या नआएको खण्डमा आगामी ३ महिनाभित्र आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने तयारीमा छ ।

आयोजनाको प्रवर्द्धकमा लिवर्टी इनर्जी हो । कम्पनीले सर्वसाधारणका लागि आगामी भदौ ३ गतेदेखि ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ ।

कम्पनीले सोमबार एक आह्वानपत्र सार्वजनिक गरी साधारण सेयर बिक्री गर्न लागिएको जनाएको हो । कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको सेयर बिक्री गर्न लागेको हो ।

प्रतिकित्ता १०० अंकित मूल्यका कूल ३७ लाख ५० हजार कित्तामध्ये आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि बिक्री गर्दा बाँकी रहेको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर सर्वसाधरणलाई बिक्री गर्न लागेको छ ।

कम्पनीले निर्माण गरेको आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रुपैयाँ रहेको छ । दोर्दी करिडोरका निर्माण भइरहेका राम्रा आयोजनामध्ये माथिल्लो दोर्दी एक आयोजना पनि एक हो । दोर्दी करिडोरलाई हाइड्रो करिडोरका रुपमा पनि लिने गरिन्छ । उक्त करिडोरमा एक दर्जन साना ठूला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।

आयोजनाको कूल लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ ७२ पैसा रहेको छ । यसै सन्दर्भमा कम्पनीका प्रवर्द्धकमध्येका एक राम पाण्डेले आयोजना निर्माणमा भोग्नु परेको समस्याका बारेमा हामीलाई सुनाए ।

उनले जलविद्युत् आयोजना निर्माणमा देखिएको समस्या, कम्पनीको अवस्था र प्रतिफलका बारेमा समेत सविस्तार व्याख्या गरे । उनले कम्पनीले आगामी दिनमा निर्माण गर्न लागेका दुई आयोजनाको सम्भाव्यताका बारेमा समेत जानकारी दिए । पाण्डेले हामीसँग प्रस्तुत गरेको विचार उनकै शब्दमा ।

पछिल्ला दिनमा सरकारले जलविद्युत् आयोजना निर्माणलाई विशेष प्राथमिकता दिएपनि व्यवहारिक रुपमा भने त्यसलाई अगाडि बढाउन अझै सकेको छैन । कारण अनेकन छन् । नीतिगत, कानूनी प्रश्नसँगै अन्य व्यवहारिक र स्थानीय समस्या पनि जेलिएको छ ।

सामान्यतयाः ठूला आयोजनामा समस्या देखिएको छैन । उनीहरुको सेयर मूल्य आजको दिनमा १ सय देखि माथी ४ सय रुपैयाँ भन्दा माथि सम्म रहेको छ । वाणिज्य बैंकलाई हेर्ने हो भने पनि त्यही हाराहारीमा नै देखिन्छ ।

जलविद्युत आयोजना हामीले ३५ वर्षसम्म मात्रै उपभोग गर्न पाउँछौं । साना आयोजना जुन ५ मेगावाट भन्दा कम क्षमताका छन् , ती बढी समस्यामा परेका छन् । त्यो समस्यामा पर्नुको कारण भनेको विकासकर्ता राम्रो ज्ञान नहुनु नै हो । आयोजनालाई व्यवस्थापन गर्न नसक्नु, विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्दा वित्तीय व्यवस्थापनमा ध्यान दिन नसक्नु हो ।

कतिपय आयोजनमा प्रवद्र्धकले विद्युत् उत्पादन सुरु गरिसकेका छन् तर प्रसारण लाइन नै बनेको छैन । सोही कारण ठूलो समस्या सिर्जना भएको छ । त्यो कुरामा राज्यले ध्यान दिन सकेको छैन ।

जनताको चासो सेयर मूल्यमा रहेको हुन्छ । जसरी नेपाल राष्ट्र बैंक, बीमा समितिले आफ्नो मातहतमा रहेको संस्थाको मनिटरिङमा निकै ध्यान दिएका हुन्छन । कुनै समस्या परेमा समाधानको बाटो पनि देखाउने गरेका हुन्छन् । अर्को शब्दमा भन्दा समस्या आउन नै दिँदैनन । समस्या आउन नदिने, आइ हाल्यो भने पनि विद्युत प्राधिकरण, विद्युत नियमन आयोगले विशेष ध्यान दिएर काम गर्न सकेका छैनन् ।

प्राधिकरण आफैले विद्युत् खरिद सम्झौता (पिपिए) गरेको हुन्छ । आयोजना निर्माण गर्नका लागि अनुमतिपत्र दिने काम विद्युत् विकास विभागले गर्दछ । आफैले अनुमति दिएर प्रसारण लाइन बनाइदिन्छु भनेर सम्झौता गरेपनि त्यसतर्फ काम हुन सकेको छैन । आफैले प्रतिवद्धता जनाएको कुराको समेत सम्बोधन भएको छैन ।

आफैले बोलेको कुरा पुरा भएको छैन । आयोजना बचाउने तर्फ प्राधिकरण पनि अग्रसर देखिएन । ३५ वर्ष पनि आयोजना दिने भनेपछि आयोजना निर्माण गर्दा जग्गा किन्न समस्या भयो, स्थानीयले अवरोध गरेको खण्डमा त्यसलाई सहजिकरण गर्ने काम राज्यको हो ।

राज्यले सहयोग नगरेमा समयमा नै आयोजना बन्दैन । समयमा आयोजना नबने आयोजनाको लागत स्वतः बढन जान्छ । विकासकर्ताले ३ वर्षमा काम सकिन्छ भनेर सोही अनुसार योजना बनाएर काम गर्न थालिन्छ ।

न ३ वर्षमा काम सकिन्छ, न प्राधिकरणले पीपीए गरेको समयमा प्रसारण लाइन जोडिदिन्छ । दुवै तर्फबाट प्रतिबद्धता पुरा नभएपछि त्यो आयोजना राम्रो र प्रभावकारी हुन सक्दैन ।

सोही कारण बजारमा राम्रो सन्देश जाँदैन । त्यसपछि त्यसको सेयर मूल्य बढने सम्भावना पनि हुँदैन ।

आजको दिनमा १० प्रतिशत लाभांश दिने माइक्रोफाइनान्सको सेयर मूल्य हेर्ने हो भने ७ सय देखि १ हजार रुपैयाँको हाराहारीमा छ । त्यही १० प्रतिशत प्रतिफल दिने जलविद्युत् कम्पनीको सेयर मूल्य ८० देखि १ सय रुपैयाँको हाराहारीमा रहेको छ ।

मेरो विचारमा आजको दिनमा जलविद्युत् कम्पनी नै लगानीका लागि सुरक्षित हो । यतिखेर कोरोनाको महामारी फैलदो क्रममा रहेको छ । त्यसको असर स्वतः जलविद्युत् क्षेत्रमा परेको छैन नै । सेयर मूल्य तलमाथि हुनुको कारण भनेको विकासकर्तालाई राज्यले हेर्ने दृष्टिकोण नै प्रमुख कारण हो । विगतमा पनि केही असर थियो । त्यसको ठूलो असर अहिले बजारमा देखिएको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएपछि वा सामान्य रुपमा १ वर्षको वित्तीय विवरण सार्वजनिक भएपछि साधारण सेयर निष्कासनमा जाने गरेका छन् । सोही कारण ती कम्पनीको सुरक्षा शतप्रतिशत हुने गरेको छ । जलविद्युत् क्षेत्रमा कम्पनी चल्नु भन्दा पहिला नै वा पीपीए गरेको भोलिपल्टदेखि बाट नै साधारण सेयर बिक्री गर्न थाल्छन् ।

हाम्रो कुरा गर्नुहुन्छ भने हामी बत्ती बाल्न तयार भएका छाैं । हामी आगामी तीन महिनामा बत्ती बाल्छौ । हामी के कुरामा ढुक्क छाैं भने हाम्रो आईपीओ बिक्छ । लगानीकर्ताले उचित प्रतिफल प्राप्त गर्नेछन भन्नेमा हामी विश्वस्त छौं ।

हामीले २०६७ सालमा अनुमतिपत्र लिएका हौं । २०७१ सालदेखि निर्माणमा लागेका थियौ । २०७१ मा विद्युत् खरिद सम्झौता गरेर काम गर्न थालेका हौ ।

त्यस बेलाको भूकम्प, नाकाबन्दी जस्ता कारणले निर्माणको काम गर्न केही समस्या भयो । त्यो समयमा भूकम्पले ९ महिना र नाकाबन्दीले ६ महिना धेरै असर पार्यो । त्यो बेला हामीले काम गर्न पाएनौ । २०७३ पछि हामीले निरन्तर काम गरेका कारण अहिले निर्माणको अन्तिम चरणमा पुगेका छौं । यही असोज भित्रमा हामी बत्ती बाल्ने तयारीमा लागेका छौं ।

यी हुन् सञ्चालक

लिवर्टी इनर्जीको सञ्चालक समितिमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी हुनुहुन्छ । इन्भेष्टर फोरमका पूर्व अध्यक्ष डा आत्मराम घिमिरे, सुशिल थापाका साथै स्थानीयका तर्फबाट डा राजेन्द्र वस्ती, १४ नम्बर ब्रोकरका एमडी इश्वरी रिमाल, कुमारकेशर विष्टलगायतकाको  लगानी छ । आयोजनामा फरक फरक जिल्लाका, फरक फरक क्षेत्रबाट आएमा मानिसको सहभागिता रहेको छ । हामी २५ मेगावाट विद्युत उत्पादन गर्ने अन्तिम तयारीमा रहेका छौं । सफल हुने चरणमा छौ ।

कुरा आईपीओका…

लिबर्टी इनर्जीले स्थानीयको लागि खुला गरेको साधारण सेयर पुरै बिक्न सकेन । स्थानीयमा बिक्न नसक्नुको कारण भनेको उहाँहरुमा बैंकको पहुँच पुग्न नसक्नु नै हो । जलविद्युत् आयोजना दुर्गम ठाँउमा हुने गरेको छ । हामीले जुन दिनमा साधारण सेयरको बिक्री खोलेका थियौ । त्यो दिन लमजुङमा १९ वटा घर बगायो । कोरोनाका कारण स्थानीयबासी बैंकमा लाइन लागेर आवेदन दिने सम्भावना थिएन । बैंक नजिक नहुनुको कारण स्थानीयबासीलाई दिइएको सेयर माग अनुसार जान सकेन ।

हिजोका दिनमा स्थानीयमा यसको बारेमा धेरै जानकारी थिएन । अहिले त्यो बढेको छ । उनीहरु अब स्थानीय भन्दा राष्ट्रिय स्तरको साधारण सेयरमा आवेदन दिन चाहन्छन । उनीहरुले भदौ २ गते भरेको सेयर भदौ भित्रै नेप्सेमा सूचिकृत भएर बिक्री गर्न पाँउछन । स्थानीयले आवेदन गरेको सेयरको ३ वर्ष लकिङ अवधि रहन्छ । उनीहरुले त्यो सेयर बिक्री गर्न पाउँदैनन् । उनीहरुलाई डिम्याट खाता भनेको के हो ? सेयर कसरी किन्ने, कसरी बेच्ने भन्ने कुराको जानकारी पनि धेरै छैन । त्यसले पनि समस्या भएको छ ।

हिजोका दिनमा जुन जुन कम्पनीले आईपीओ निकालेर जनताको पैसाबाट आयोजना बनाए, तर आजसम्म पनि बत्ति बालेका छैनन, त्यसको असरले पनि हाम्रो स्थानीय तर्फको सेयर नबिक्नुको कारण । त्यो बेलाको असर अहिले आएर देखिएको छ ।

यस्तो छ लाभांश

हामी लगानीकर्तालाई बिजुली बलेको दोस्रो वर्षदेखि लाभांश दिन थाल्छौं । यो वर्ष हाम्रो बिजुली बल्छ । अर्को वर्षको आम्दानीबाट लगानीकर्तालाई प्रतिफल दिन थाल्छौ । त्यो भनेको न्यूनतम् १२ प्रतिशतको हाराहारी हुनेछ । अहिलेको अवस्थामा बिजुली बल्न लागेको आयोजनाको साधारण सेयरमा आवेदन गर्न पाउनु भनेको लगानीकर्ताको लागि पनि राम्रै हो ।

हामीले विद्युत् खरिद सम्झौता गर्दा पनि निश्चित दर भएका कारण लगानीकर्ताले पाउने मध्यम खालको लाभांश जुन आशा गरे अनुसार कै लगानीकर्ताले पाउने छन् ।

हाम्रो लगानीकर्ताले आयोजना अवधिभरमा १ सय रुपैयाँ लगानी गर्नेले औससतमा १२ सयदेखि १३ सय रुपैयाँ पाउनु हुनेछ ।

थप २ आयोजना निर्माण हुँदै

हामीसँग यो बाहेक अन्य दुई आयोजना रहेका छन् । २४.६ मेगावाटको बडीगार्ड आयोजना विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीको अन्तिम चरणमा रहेको छ । सम्भवतः त्यो नेपालको सबैभन्दा राम्रो आयोजना पनि हुन सक्ने सम्भावना छ ।

उत्तरगंगा बनाउने भनेर प्राधिकरणले काम अघि बढाइरहेको छ । त्यो जलाशययुक्त आयोजना हो । त्यो परियोजना समयमा नै बन्यो भने हामीले त्यसको फाइदा लिएर हिँउदमा पनि २४.६ मेगावाट विद्युत् उत्पादन गर्न सक्छौ । त्यसकारण आयोजना सम्भवतः नेपालको सबैभन्दा राम्रो आयोजना हुनसक्छ ।

अर्को हाम्रो सानो १.६ मेगावाटको आयोजना पनि छ । यसको बार्षिक आम्दानी ६ करोड ४० लाख रहेको छ । यसमा थप खर्च छैन । यसको लागि हामीले थप कर्मचारी पनि राख्नु पर्दैन, थप कार्यालय पनि चाँहिदैन ।

केही राम्रा पक्ष

हामीले अहिले प्रयोग गरेको मेसिन यूरोपमा बनेको हो । जुन अरु मेसिन भन्दा यूरोपमा बनेको मेसिनको इफिसेन्सी राम्रो रहन्छ । यसमा बिग्रने सम्भावना कम हुन्छ । त्यसको असर लगानीकर्ताले पाउने लाभांशमा पनि पर्ने छ । मेसिन बिग्रिएर तीन महिना काम अवरोध भयो भने त्यसको असर एक वर्षको आम्दानीमा पर्छ । हामीले त्यसलाई पनि विशेष ध्यान दिएका छौ ।

Publish on: