काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बहुमत मतदाताहरुले भौतिक दूरी कायम गरेर काठमाडौंमै निर्वाचन गर्नुपर्ने सुझाव दिएका छन् ।
महासंघको गत साउन २१ गते बसेको कार्यकारीणी समितिको बैठकले साधारणसभा र निर्वाचनको मोडालिटी तय गर्नका लागि ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको तर्फबाट डीबी बस्नेत र अरुणराज सुमार्गी, वस्तुगत संघको तर्फबाट बिनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ तथा एशोसिएटबाट भरत आचार्य र रञ्जित आचार्य रहेका छन् ।
कार्यदललाई मतदाता, पूर्वअध्यक्ष र विज्ञहरुसँग छलफल गरी १५ दिनभित्र सुझाव पेश गर्न कार्यादेश दिएको थियो । जसअनुसार यही भदौ ४ गते कार्यदलले आफ्नो प्रतिवेदन पेश गर्दैछ ।
कार्यदलले साउन ३२ गतेसम्म सुझाव संकलन गरेको थियो । कार्यदलका सदस्यहरुका अनुसार भदौ १ गतेसम्ममा १ सय १५ वटा सुझाब आएका छन् । जसमध्ये ६० प्रतिशत सुझाव भौतिक दूरी कायम गरेर काठमाडौंमै निर्वाचन गर्नु पर्छ भन्ने छन् । उनीहरुले कोरोना संक्रमण न्यूनिकरण भएपछि काठमाडौंमै भौतिक दुरी कायम गरेर निर्वाचन गर्नुपर्ने र त्यसका लागि जिल्ला/नगर, वस्तुगत र एशोसिएटको निर्वाचन केन्द्र छुट्टाछुट्टै राख्नुपर्ने सुझाएका छन् ।
महासंघको निर्वाचनको मिति र मोडालिटी तय गर्न ६ सदस्यीय समिति गठन, १५ दिनको म्याद
३० प्रतिशत सुझाब विकेन्द्रिकरण अर्थात् प्रदेशमा गराउनुपर्छ भन्ने छन् । यसमा एशोसियट र वस्तुगतको निर्वाचन काठमाडौंमा गरेर जिल्ला नगरको प्रदेश अनुसार गर्नुपर्ने सुझाब छ । खासगरी स्वास्थ मन्त्रालय र अन्य स्वास्थ विज्ञहरुले प्रदेशबाट निर्वाचन गराउन सुझाएका छन् ।
त्यसैगरी, १० प्रतिशत सुझाब डिजिटल माध्यमबाट निर्वाचन गर्नुपर्ने भन्ने छ । कूल सुझावमा ४० प्रतिशत बढीले साधारणसभाचाहीँ भर्चुअल्ली गर्न सकिने राय पेश गरेका छन् ।
त्यसैगरी, ४/५ जनाले ०७७ चैतमा चुनाव गर्नुपर्छ भन्ने सुझाव दिएका छन् ।
‘आज पनि सुझावहरु आइरहेका छन्,’ एक सदस्यले भने, ‘भोलि बिहान बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिन्छौं ।’
सुझावहरु जस्ताको त्यस्तै राखेर कार्यदलले प्रतिवेदनमा आफ्नो राय पनि राख्ने भएको छ । कार्यदलले कोरोना महामारीको अति विषम परिस्थितिलाई मध्यनजर गर्दै सकेसम्म विकेन्द्रिकृत चुनाव गराउनुपर्ने राय पेश गर्ने तयारी गरेको छ ।
कार्यदलले प्रतिवेदन पेश गरेपछि कार्यसमितिले कुन मोडालिटीमा निर्वाचन गर्ने भनेर निर्णय गर्नेछ ।
०७६ चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा र निर्वाचन कोरोना भाइरसको कारण रोकिएको थियो ।
महासंघमा निर्वाचन गर्नुपर्ने र कोरोना भाइरसका कारण स्थगित गर्नुपर्ने दुईथरी आवाज थियो । जसकारण महासंघको पदाधिकारी र कार्यकारिणी समितिको बैठकमासमेत विवाद भएको थियो ।
महासंघको साधारणसभापछि अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा विधानअनुसार अध्यक्ष हुनेछन् । बरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले उम्मेद्वारी घोषणा गरेका छन् ।
ढकालको प्यानलबाट जिल्ला नगरमा गुणनिधी तिवारी, एशोसियटमा रामचन्द्र संघाई, वस्तुगतमा उमेशलाल श्रेष्ठ छन् । यस्तै प्रधानको प्यानलमा जिल्ला नगरमा दिनेश श्रेष्ठ,एशोसियटमा सौरभ ज्योति र वस्तुगतमा अन्जन श्रेष्ठ रहेका छन् ।
SHARE YOUR THOUGHTS