काठमाडौं । धितोपत्र बोर्डले उपत्यकामा निषेधाज्ञा लागू भए पनि भोलिबाट बिक्री खुला हुने तय भएको साधारण सेयरमा कुनै रोकतोक नहुने भएको छ ।
पछिल्लो समयमा अधिकांश आवेदन अनलाइन (मेरो सेयर)मार्फत भर्ने भएकाले आईपीओलाई नरोक्ने धितोपत्र बोर्डले जनाएको छ ।
बिहीबार मात्रै २ वटा कम्पनीले आईपीओ जारी गर्दैछन् । जसमा समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ आउँदैछ ।
बोर्डका सह प्रवक्ता रुपेश केसीका अनुसार सरकारले निषेधाज्ञा जारी गरेपनि आजबाट बिक्री शुरु भएको लिबर्टी इनर्जी तथा बिहीबारदेखि बिक्री खुला हुने समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सेयर बिक्री हुनेछ । यसमा कुनै रोकतोक नहुने केसीले स्पष्ट पारे ।
अहिले लगानीकर्ताहरु अनलाइनमा अभ्यस्त हुँदै गएको भन्दै जारी भएको लिबर्टीको आइपीओ नरोकिने र आउने वाला दुई वटा कम्पनीको आईपीओ पूर्ववतरुपमै बिक्री खुला हुनेछ ।
सरकारले बुधबार राति १२ बजेपछि उपत्यकाका ३ जिल्लामा निषेधाज्ञा जारी गरेपनि सेयर बजार भने प्रभावित नहुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा कार्यालय जान सकिने व्यवस्था अनुसार कर्मचारीहरु अफिस जान सक्नेछन् । तसर्थ ब्रोकर कार्यालयहरु पनि बन्द नहुने भएका छन् ।
निषेधाज्ञा जारी भएपनि आइपीओ र दोस्रो बजारको कारोबामा अवरोध नआउने भएको हो ।
यता सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार जारी भएको सेयरमा सिडिएससीका कारण कही पनि रोकतोक हुनेछैन ।
हाल मेरो सेयर लिने लगानीकर्ताको संख्या ६ लाख बढी रहेको उनको भनाइ छ । अहिलेसम्म खुलेको आईपीओमा ८० प्रतिशतको हाराहारीमा मेरो सेयरबाट आवेदन पर्ने गरेको छ ।
SHARE YOUR THOUGHTS