अनलाइन देखाएर बजारमा चलखेल गर्ने लगानीकर्ता निरास, अनलाइनबाटै २ अर्ब बढीको कारोबार « Eglish Khabarhub

अनलाइन देखाएर बजारमा चलखेल गर्ने लगानीकर्ता निरास, अनलाइनबाटै २ अर्ब बढीको कारोबार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार भएसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ ।

कोरोनाका कारण सरकारले निषेधाज्ञा जारी गरेसँगै सुरु भएको पूर्ण अनलाइन कारोबारमा अनलाइनबाट नै यति धेरै कारोबार भएको आज पहिलो पटक हो ।

लामो समयदेखि लगानीकर्ताका नेताहरुले अनलाइनबाट कारोबार गर्दा रकम ट्रान्सफर गर्न नसकिने, सेयर ट्रान्सफर गर्न नसकिने आरोप लगाइरहेको बेलामा अनलाइनबाट नै भएको कारोबारमा २ अर्ब १३ करोड ९२ लाख २ हजार ७५ रुपैयाँको कारोबार भएको छ ।

लगानीकर्ताहरुले अनलाइनबाट रकम ट्रान्सफर हुँदैन भनेर भनेपनि नेप्सेले भने २०७५ मंसिर २० गतेबाट नै कारोबार गर्न सकिने सिस्टम रहेको जानकारी गराएको हो ।

‘हामिले कनेक्ट आईपीएसमा जोडेको दिन देखि नै यो भन्दा बढी रकमको कारोबार गर्न सकिने थियो’ नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने ‘बीचमा अनलाइनबाट कारोबार गर्न सकिँदैन, सेयर ट्रान्सफर गर्न सकिँदैन, पैसा लेनदेन गर्न सकिँदैन भनेर चर्चा भयो, त्यो तर्कसहितको कुरा होइन ।’

लकडाउनको अवधिमा अनलाइनबाट कारोबार गर्न नसकिने भन्दा पनि बजार घटछ भनेर केही लगानीकर्ताले बजार बन्द गरेका थिए । अहिले भएको अनलाइन कारोबारले सबैलाई अचम्मित नै बनाएको छ ।

स्रोतका अनुसार अफलाइनबाट कारोबार गर्दा लगानीकर्ताले धितोमा राखेको सेयर फुकुवा नगरी बिक्री गर्न पाउने, अनलाइनमा जाँदा नपाउने, मेरो सेयरबाट कारोबार गर्दा भएको मात्रै सेयर बिक्री गर्न सकिने नभएको सेयर बिक्री गर्न नसकिने व्यवस्था छ । त्यो

व्यवस्थाको विरोधमा रहेकाहरुले अनलाइनको विरोध गरेको केही लगानीकर्ताहरु नै बताउन थालेका छन् ।

सोमबारको कारोबार रकमले लगानीकर्ताले नेताहरुले गरेको विरोधलाई गलत प्रायः सावित गरेको छ ।

सोमबार १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता सेयर २ अर्ब १३ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । बजार मापन गर्ने सूचक २१.२६ अंकले बढेर १४३१.६० बिन्दुमा रोकिएको छ ।  कारोबारमा होटल बाहेक सबै समूहको उपसूचकमा सुधार देखिएको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २१ करोड ६० लाख ४० हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेको इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

Publish on: