‘सापटी सेवा’ ले यसरी मिलाइदिन्छ सजिलै कर्जा



काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट सजिलै कर्जा निकाल्न अप्ठ्यारो मात्रै होइन प्रक्रिया थाहा नपाएकालाई असाध्यै गाह्रो पनि छ ।

भनेका बेला कागजपत्र तयार नहुने तथा बैंक तथा वित्तीय संस्थाका विभिन्न सर्त र नियमका कारण सेवाग्राहीले कर्जा निकाल्न झन्झट बेहोर्दै आएका छन् ।

यस्तो समस्या सानादेखि ठूला कर्जा दिने संस्थासम्म मै छ । त्यसैले व्यापार व्यवसाय चलाउन, घर तथा गाडी खरिदका लागि कर्जा लिन तथा नयाँ उद्योग खोल्न आवश्यक कर्जा लिन जानुअघि ऋणीले अनावश्यक झन्झटका कारण धेरैपटक सोच्नुपर्ने अवस्था छ । अधिकांशले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएरै उद्योग व्यवसाय गर्छन् ।

धरौटी राख्छु भन्दा पनि धेरैले सहज रूपमा कर्जा पाइरहेका हुँदैनन् । ऋणी र निक्षेपकर्ताकै कारण बैंक तथा वित्तीय संस्था सञ्चालन भएका हुन्छन् ।

नेपालमा अहिलेसम्म ऋणी र बैंक तथा वित्तीय संस्थाबीच सहजीकरण गरिदिएर कर्जा निकाल्ने अभ्यास सुरु भइसकेको छैन । विदेशमा यस्तो अभ्यास धेरै पहिलादेखि हुँदै आएको छ ।

त्यसैले निश्चित ब्याज रकम तिरेर पनि कर्जा लिन झन्झटिलो अवस्थाको अन्त्य गर्न ‘सापटी सेवा’को अवधारणा पहिलोपटक नेपालमा शुरु भएको छ ।

यो एक कम्पनी हो । विदेशी अभ्यास र प्रविधिलाई पछ्याउँदै ‘सापटी सेवा’ नामक कम्पनीको स्थापना गरिएको छ ।

यो कम्पनीले बैंक तथा वित्तीय संस्था तथा ऋणीबीच पुलको काम गर्छ । यो संस्थाले प्रचलित ऐन नियमअनुसार सम्बन्धित निकायको स्वीकृति लिनुपर्ने भए लिई विभिन्न बैंक तथा वित्तीय संस्थासँग साझेदारी, सहकार्य गरी व्यक्तिगत एवं संस्थागत कर्जा प्रवाह गर्न सहयोग पुरयाउने लक्ष्य राखेको छ ।

साथै, प्रचलित कानून बमोजिम कर्जा लिन आवश्यक पर्ने पूर्वतयारी सम्बन्धी सेवा, व्यापारिक प्रस्ताव, व्यावसायिक योजना, वित्तीय प्रक्षेपण, बजार सम्भाव्यता लगायत अन्य सुरुदेखि अन्तिमसम्मका सम्पूर्ण सेवा व्यक्तिगत एवं संस्थागत स्तरमा प्रदान गर्ने, सहजीकरण गराउने यस कम्पनीको उद्देश्य छ ।

बैंक तथा वित्तीय संस्थासँग कर्जा लिन चाहनेले ‘सापटी सेवा’को बेवसाइटमा गएर आफूले चाहेको संस्थाका लागि अनलाइन फारम भर्न सक्नेछन् ।

बेवसाइटमा विभिन्न बैंक तथा वित्तीय संस्थाका अधिकतमदेखि न्यूनतम कर्जा तथा साँवा / ब्याजबारे उल्लेख गरिएको हुनेछ । त्यसकै आधारमा सेवाग्राहीले फारम भरी कर्जा लिन चाहेमा ‘सापटी सेवा’ले सहजीकरण गर्ने भएको छ ।

यो सेवा निकै प्रभावकारी र भरपर्दो हुनेमा विश्वास गर्न सकिन्छ । घरमै बसेर प्रविधिको उपयोग गरी आफ्नो व्यापार व्यवसाय तथा अन्य प्रयोजनका लागि चाहेको बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने कम्पनीले जनाएको छ ।

नेपालमा पहिलोपटक सेवा सुरु गर्न थालेको ‘सापटी सेवा’ले कर्जा निकाल्न सहजीकरण मात्रै गर्दैन, अनलाइन इ–कमर्स लगायत भौतिक पसल, सोरुम खोली बिक्री/वितरण गर्ने व्यक्ति एवं निकायसँग सहकार्य, साझेदारी गरी मासिक किस्ता (इएमआई)मा छुट, सहुलियतजस्ता विभिन्न स्किमको प्रवर्दन गर्ने उद्देश्य राखेको छ ।

यस्तै, बैंक वित्तीय संस्थाहरूका विभिन्न कर्जा र निक्षेपसम्बन्धी, अन्य लगानीका क्षेत्रहरूको बजारीकरणका लागि एकै ठाउँबाट जानकारी लिन अनलाइन प्लेटफर्मको निर्माण गरी अत्याधुनिक विज्ञापन गर्ने कम्पनीले जनाएको छ ।