उखु किसानको पैसा नतिर्ने उद्योगीलाई बचाउन ठूल्ठूला नेताले दबाब दिन थालेः उद्योगमन्त्री भट्ट « Eglish Khabarhub

उखु किसानको पैसा नतिर्ने उद्योगीलाई बचाउन ठूल्ठूला नेताले दबाब दिन थालेः उद्योगमन्त्री भट्ट



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेताहरुको संरक्षणमा उद्योगीले उखु किसानलाई बक्यौता नतिरेको बताएका छन् ।

सार्वजनिक स्थानमा किसानलाई बक्यौता तिर्नु पर्छ भन्दै पहलमा हिँड्ने नेताहरु नै सरकारसँग गोप्यरुपमा उद्योगीको बचाउ गर्न आउने उनको भनाइ छ ।

‘यहाँ न्यायको कुरा गर्दै उद्योगीलाई ठेगान लगानु पर्छ पनि भन्ने अनि ठेगान लगाउन खोज्दाचाहीँ हैन त्यसलाई रोक्नु पर्यो, उद्योगीले त तिर्छु भन्या छन्, ४ दिन त रोक्नुदिनु पर्यो भन्दै दबाब दिने ?’ मन्त्री भट्टले संसदको उद्योग समितिमा आयोजित बैठकमा भने, ‘यस्ता पक्षले भन्न खोजेको के हो र गर्न खोजेको के हो सम्बन्धित पक्षले बुझ्न आवश्यक छ ।’

आन्दोलनमा उत्रिएका उखु किसानलाई बक्यौता भुक्तानी दिनु पर्छ भन्दै सामाजिक सञ्जाल ट्वीटरमा उद्योगीलाई सरकारले दाबव दिएर बक्यौता तिर्न लगाएन भन्ने नेताहरुले नै उद्योगीहरुको पक्षमा सरकारसँग उनीहरुको बचाउ गर्दै बिचौलियाको काम गरिरहेको उनको भनाइ छ ।

‘नेताहरुले किसानले समयमा नै भुक्तानी पाउनु पर्छ भनेर लेख्या छन्, अनि ती नै नेताहरुले फोन गरेर त्यो उद्योगीलाई कारवाही गर्न हुन्न भन्छन्,’ उनले भने ।

नेताहरुको यस्ता खालका चरित्रले गर्दा पनि सरकारलाई समस्या हल गर्न बाधक बनेको उनको भनाइ छ ।

चिनी उद्योग संघको अध्यक्षसमेत रहेका शशिकन्त अग्रवालको श्रिराम सुगर मिल्सले ३ दिनभित्रमा बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता गरेको मन्त्री भट्टले जानकारी दिए ।

उनले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको आन्दोलन र चिनी उद्योगीले बक्यौता नदिएको विषयमा उद्योग समितिले बिहीबार गरेको छलफलमा सो कुरा बताएका हुन् ।

उखु किसानलाई भुक्तानीमा भएको समस्यामा सरकाले समय समयमा अध्ययन, अनुगमन तथा निगरानी र आफ्नो तर्फबाट पहल गरिरहेको मन्त्री भट्टले बताए ।

‘हामीले आफ्नो ठाँउबाट गर्न कहिले पनि छोडेनौँ, किसानले न्याय पाउनु पर्छ भन्ने नै हो, अहिले बैंक ग्यारेन्टरले केही समस्या होला जस्तो छ,’ मन्त्री भट्टले थपे ।

तत्कालिन रुपमा उद्योग मन्त्रालयले उद्योगी, किसानको बीचमा सहजिकरण गर्ने बताए ।

‘भएन गरेनन् भने अन्तिम भनेको कारवाही नै हो तर म गर्छु तिर्छु, किासानसँग मेरो सहमति भएको छ भन्ने उद्योगीलाई त हामीले सहजीकरण गरिदिनु पर्ने हुन्छ,’ उनले भने, ‘श्रीराम सुगर तिर्छु भनेर आएको त्यसलाई सहजिकरण गर्नु पर्ने हुन्छ ।’

सरकारसँग सहजीकरणमा नआउने उद्योगीलाई भने कानुनी कारवाहीको प्रक्रिया शुरु गरिएको उनले जानकारी दिए ।

‘विराटनगरको एक जना चिनी उद्योगको मालिकलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालय हामीले निर्देशन दिइसकेको छ,’ मन्त्री भट्टले भने ‘सुनिता गोयलको नाममा दर्ता भएको चिनी मिललाई अदालती प्रक्रियामा छ ।’

सरकारले जेजस्तो भएपनि कानुनी प्रक्रियामा जाने, कोही बिचौलियाको अनुरोध नसुन्ने, उद्योग क्षेत्र बचाउन मन्त्रालयले सम्बन्धीत निकायमा पहल तथा सम्वन्य गर्ने मन्त्री भट्टको भनाइ छ ।

यसैगरी, चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले श्रीराम सुगर मिलले ३५ करोड रुपैयाँ बक्यौता ३ दिनभित्र सबै किसानलाई भुक्तानी गरिसक्ने बताएका छन् ।

‘श्रीराम सुगर मिलले रकमको व्यवस्था गरिसकेको छ,’ अध्यक्ष अग्रवालले भने, ‘आजैबाट चेक काट्न थाल्छौं, २/३ दिनभित्र सबै बक्यौता भुक्तानी भइसक्छ भनेको छ ।’

उनले बक्यौता राख्ने सबै उद्योगीलाई चाँडै भुक्तानी दिने भन्दै एउटाले गर्दा सबै चिनी उद्योगको बदनाम भएको बताए । उखु किसानलाई रकम भुक्तान गर्न ढिलाइ हुनु किसानमाथि अत्याचार भएको उनको भनाइ छ ।

Publish on: