काठमाडौं । बीमा समितिले नयाँ कम्पनीको लाइसेन्स लिन आउन दर्ता भएका कम्पनीलाई पत्राचार गरेको छ । नयाँ निर्देशिका अनुसार प्रक्रिया पुर्याएर २१ दिनभित्रमा आउन १४ कम्पनीलाई समितिले आइतबार पत्राचार गरेको हो ।
समितिले आइतबार नयाँ १४ कम्पनीलाई पत्र लेख्दै २१ दिन भित्रमा आवश्यक कागजात पेश गरेर लाइसेन्स लिन आउन पत्राचार गरेको समितिका प्रवक्ता श्रीमान कार्कीले जानकारी दिए ।
‘समितिमा दर्ता भएका १४ कम्पनीलाई लाइसेन्स लिने भए नयाँ निर्देशिका अनुसार प्रक्रिया पुर्याएर २१ दिन भित्रमा आइसक्न पत्राचार गरिएको छ, त्यो म्यादभित्र प्रक्रिया पुर्याएर आउने सबै कम्पनीले लाइसेन्स पाउँछन्,’ कार्कीले क्लिकमाण्डूसँग भने ।
समितिले ५ वटा निर्जीबन र ९ वटा जीबन बीमा कम्पनीलाई लाइसेन्स लिन आउन पत्राचार गरेको हो ।
बीमा ऐन अनुसार निर्जीबन बीमा कम्पनीको लाइसेन्स समिति आफैले दिन सक्छ । जीबन बीमा कम्पनीको लाइसेन्स भने समितिको सिफारिसमा अर्थमन्त्रालयले दिने ब्यवस्था छ ।
समितिमा जीबन बीमा ब्यवसाय गर्ने भन्दै आइएमइ, सानिमा, सिटिजन्स, रिलायबल, रिलायन्स, सनलाइफ, स्टार, स्टयाण्डर्ड लगायतका कम्पनी दर्ता भइसकेका छन् ।
यस्तै निर्जीबन बीमा कम्पनी तर्फ महालक्ष्मी, ज्योति, युनियनलगायतका कम्पनी समितिमा दर्ता भइसकेका छन् । समितिले कम्पनी रजिस्टारको कार्यालयमा कम्पनी दर्ता गरेका र समितिमा निवेदन दिएका कम्पनीलाई लाइसेन्स लिन बोलाएको हो ।
SHARE YOUR THOUGHTS