सेयर बजारमा इन्साइडर ट्रेडिङको बिगबिगीः कुन-कुन कम्पनीमा कसरी भयो, के गर्दैछ सेबोन ? « Eglish Khabarhub

सेयर बजारमा इन्साइडर ट्रेडिङको बिगबिगीः कुन-कुन कम्पनीमा कसरी भयो, के गर्दैछ सेबोन ?



काठमाडौं । नेपालको पुँजी बजार प्रत्यक्ष वा परोक्षरुपमा भित्रि कारोबार अर्थात् इन्साइडर ट्रेडिङको मारमा परेको छ । पछिल्लो समय केही कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भएको पाइएको छ ।

कम्पनीको सूचनामा सहजै पहुँच हुने व्यक्तिहरुले सूचना बाहिर चुहाँउदा केही कम्पनीमा इन्साइडर ट्रेडिङ भएको नेप्से उच्च स्रोतको दाबी छ ।

सूचीकृत संगठित संस्थाले लगानीकर्तालाई आर्थिक वर्ष २०७६/०७७ को लाभांश घोषणा गर्नुअघि नै इन्साइडर टे«डिङ भएको देखिएको छ ।

कम्पनीले लगानीकर्तालाई कति लाभांश दिँदैछन भन्ने सूचना बाहिर गएसँगै त्यो सूचना पाउनले निकै नै लाभ लिएका छन् । केही कम्पनीको सूचना लाभांश घोषणा केही दिनअघि मात्रै बाहिर गएको छ भने केही कम्पनीको सूचना धेरै नै अघिदेखि अनुमानको आधारमा बाहिर गएको देखिएको छ ।

सूचीकृत कम्पनीको सूचना भित्री महत्वपूर्ण सूचना कसरी बाहिर गयो भनेर आधिकारीक निकायले अहिलेसम्म पनि खोजी गरेको छैन ।

पछिल्लो समय प्राइम बैंक, अपि हाईड्रोपावर कम्पनी र छिमेक लघुवित्त विकास बैंकमा इन्साइडर ट्रेडिङ मौलाएको छ । इन्साइडर ट्रेडिङका आधारमा प्राइम बैंकको सेयर मूल्यमा धेरै नै चलखेल भएको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नु अघिबाटै बैंकको सेयर मूल्यमा चलखेल शुरु भएको देखिन्छ । गत आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले आर्जन गरेको वितरणयोग्य नाफा हेर्दा प्राइम बैंकको लाभांश दिनसक्ने क्षमता ११ प्रतिशत रहेको थियो ।

बैंकको वितरणयोग्य नाफालाई हेर्दा लाभांश दिन सक्ने क्षमता ११ प्रतिशतमात्रै भएपनि जगेडा कोषबाट केही रकम झिकेर १५ प्रतिशत लाभांश दिएको छ ।

यो लाभांश भनेको यो वर्षको लागि धेरै नराम्रो भन्न मिल्दैन । कोरोनाका कारण अर्थतन्त्रमा आएकोे संकुचनको असर बैंकिङ क्षेत्रमा पनि परेको थियो । त्यो बेलामा पनि १५ बोनस आउनुलाई राम्रो मान्नुपर्ने लगानीकर्ताहरुको तर्क रहेको छ । यो बीचमा सेयर कारोबारमा आएको उछाललाई इन्डाइडर ट्रेडिङ भएको बजारका जानकारहरुको तर्क छ । यो उछाल बैंकको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण आउनुभन्दा पहिलाबाट नै सुरु भएको हो ।

बैंकले कात्तिक २० गते सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गर्यो । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५४.२४ प्रतिशतले बढी हो । यस्तै बैंकको नाफा मात्रै नभएर वितरणयोग्य नाफा पनि ४७.८९ प्रतिशतले बढेको छ ।

तर बैंकको सेयर कारोबारमा कात्तिक २ गतेबाट नै केही सुधार देखियो । जुन दिन बैंकको सेयर मूल्य प्रति कित्ता २८६ रुपैयाँ रहेको थियो । कात्तिक ५ गतेबाट झनै मूल्य बढन थालेको देखिन्छ । कात्तिक २० गते अर्थात् वित्तीय विवरण आएको दिनसम्म बैंकको सेयर मूल्य बढेर प्रति कित्ता ३५१ रुपैयाँ पुगेको थियो ।

त्यसपछि बैंकले पुस ५ गते १५ प्रतिशत लाभांश दिने भनेर सार्वजनिक जानकारी गरायो । त्यो दिनसम्म आईपुग्दा बैंकको सेयर मूल्य बढेर प्रति कित्ता ४०० रुपैयाँमा पुगिसकेको थियो ।

हुन त त्यसअघि नै बैंकले ४२४ रुपैयाँको रेकर्ड कायम गरिसकेको थियो । बरु लाभांश घोषणा पछि पनि सेयर मूल्य उल्लेख्य वृद्धि हुन सकेको छैन । जब प्राइमको सेयर मूल्य बढन थाल्यो त्यो बेला नै बैंकले १४ प्रतिशत वा सो भन्दा बढी नै लाभांश दिन्छन भन्ने चर्चा शुरु भइसकेको थियो । फलस्वरुप बैंकले लाभांश पनि १५ प्रतिशत नै दियो ।

नेप्से स्रोतका अनुसार गत आवको चौथो त्रैमासको रिपोर्ट देखि नै बैंकप्रति लगानीकर्ताको ध्यान धेरै नै लागेको थियो । तर जब बैंकले चालु आवको पहिलो त्रैमासको रिपोर्ट ल्याउन लाग्यो त्यो बेला नै बैंकले कति नाफा आर्जन गरेको छ भन्ने सूचना बैंकका अधिकारीबाट नै बाहिर गएपछि सेयर मूल्य बढेको हो ।

नेप्सेका अनुसार यस्ता सूचना कि त कम्पनीका माथिल्लो तकका कर्मचारीबाट बाहिर जाने हो कि अडिट गर्ने फर्मका कर्मचारी वा राष्ट्र बैंकबाट नै यस्तो सूचना बाहिर जाने हो । कतै न कतैबाट सूचना बाहिर गएपछि कम्पनीको मूल्य बढन थालेको हो ।

‘कतैबाट पनि सूचना बाहिर गएको छैन भने आफ्नै गतिमा रहेको सेयर मूल्य एकाएक बढ्दैन, कम्पनीबाट पहिलो क्वाटरमा यति नाफा कमाउँदैछ र कम्पनीको अवस्था यस्तो छ भनेर सूचना बाहिर गएको हो’ नेप्से स्रोत भन्छ ‘यस्तो सूचना बैंकबाट, अडिट गर्ने कम्पनी वा राष्ट्र बैंकको सम्बन्धित विभागबाट सूचना बाहिर गएको हो, यो इन्साइडर ट्रेडिङ नै हो ।’

कम्पनीको भित्री सूचना बाहिर गएकै कारण पहिलो त्रैमासको वित्तीय विवरण आउनु भन्दा पहिला नै सूचना बाहिर गएका कारण बजार बढाउन चलखेल भएको हो । प्राइम बैंकमा मात्रै होइन, प्रभु बैंकको सेयर मूल्य पनि भित्री सूचनाको आधारमा चलखेल भएको देखिएको छ ।

त्यस्तै छिमेक लघुवित्त विकास बैंकको सेयर मूल्यमा पनि भित्री सूचनाले धेरै नै काम गरेको छ ।

बैंकले मंसिर १८ गते २२ प्रतिशत बोनस र ७ प्रतिशत नगदसहित २९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्यो । बैंकले उक्त लाभांश घोषणा गर्नुभन्दा ४ दिनअघि सूचना चुहावट भयो । त्यो बेला जोसँग त्यो सूचना पुग्यो उनीहरुले एकाएक बजार बढाउन भ्याए ।

मंसिर १० गते प्रतिकित्ता १२३० रुपैयाँ रहेको सेयर ११ गते १२२९ रुपैयाँमा झर्यो । मंसिर १४ गते १२७५ रुपैयाँ पुग्यो । मंसिर १६ गते १३२० रुपैयाँ रहेको सेयर त्यसको भोलिपल्ट १४५२ रुपैयाँ हुँदै लाभांश घोषणा गरेको दिन १५४५ रुपैयाँ पुग्यो । जब लाभांश घोषणा भयो त्यसपछिको कारोबारमा कम्पनीको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर मूल्यमा यसरी एकाएक बढोत्तरी हुनुको कारण भित्री सूचना भएको र त्यसको लाभ केही ठूला भनिएका लगानीकर्ताले लिएका छन् ।

कात्तिक २८ गते कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार नाफा नै ७०.९९ प्रतिशतले घटेको थियो ।

बैंकको नाफा चालु आवको पहिलो त्रैमासमा मात्रै नभएर गत आवको चौथो त्रैमासमा पनि २९.४८ प्रतिशतले घटेको थियो । नेप्से निकट स्रोतका अनुसार बैंकको सेयर मूल्य पनि सञ्चालक, अडिटर र राष्ट्र बैंकका अधिकारीबाट नै सूचना चुहावट भएर एकाएक मूल्य बढेको हो । लाभांश घोषणा गर्ने समयमा केही लगानीकर्ताले भित्री सूचनाको भरपुर फाइदा लिएका छन् ।

भित्री सूचनाको आधारमा सेयर कारोबार अपी पावर कम्पनीमा पनि भएको देखिएको छ ।

अपी पावर कम्पनीले एकै पटक दुई आर्थिक वर्षको साधारणसभा मंसिर ८ गते गर्ने भनेर कात्तिक १६ गते सूचना जारी गर्यो । तर कम्पनीको सूचना कात्तिक सुरुबाट नै बाहिर जान थालेको थियो । कात्तिक भन्दा अगाडि कम्पनीको सेयर मूल्य प्रति कित्ता २०० रुपैयाँ भन्दा कम थियो ।

जब कम्पनीको भित्री सूचना बाहिर गयो तब १८७ रुपैयाँ रहेको सेयर मूल्य बढेर लाभांश घोषणा गरेको दिनसम्म २४० रुपैयाँ पुग्यो । त्यसको केही दिन कम्पनीको सेयर केही दिन स्थिर रहेको थियो । त्यसपछि बढेर २७९ रुपैयाँसम्म पुग्यो ।

कम्पनीको सेयर मूल्य बढनु पर्ने देखिने गरी कुनै कारण नभएपनि भित्री सूचनाले काम गरेको जानकारको तर्क छ । कम्पनीले एकै पटक दुई आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश, तथा आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद लाभांश दिएको छ । त्यही सूचना बाहिरिएका कारण त्यो सूचना पाउने सिमित लगानीकर्ताले लाभ लिएका छन् ।

केहो इन्साइडर ट्रेडिङ ?

धितोपत्र सम्बन्धी ऐन नियमको व्यवस्था बमोजिम लगानीकर्ताहरु समक्ष सार्वजनिक गराउनुपर्ने जानकारी एवं सूचना सार्वजनिक नगरी उक्त जानकारी एवं सूचनाका आधारमा कम्पनीसँग सम्बन्धित व्यक्ति वा निजको नजिकको व्यक्तिले धितोपत्र कारोवार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भनिन्छ ।

यस प्रकारको कारोवार गर्न धितोपत्र सम्बन्धी ऐन÷नियमले बन्देज गरेको छ । इन्साइडर ट्रेडिङमा कम्पनीका अध्यक्षसहित सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, प्रमुख लेखा अधिकृत तथा व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीहरु, लेखा परीक्षक लगायतको संलग्नता हुने सम्भावना उच्च हुन्छ ।

के गर्दैछ धितोपत्र बोर्ड ?

धितोपत्र बोर्डको सह-प्रवक्ता रुपेश केसीले बोर्डबाट सर्भिलेन्स शाखाले म्यानुअल्ली रुपमा हेरिरहेका बताए । अहिलेसम्म हेरिएको मध्ये यो नै इन्साइडर ट्रेडिङ हो भनेर भन्ने आधारहरु नभेटिएको उनको तर्क छ । सबै आधार एकै पटक नभेटी यो नै इन्साइडर ट्रेडिङ हो भन्नलाई समस्या हुने उनको भनाइ छ । कुनै कम्पनीले यस्ताे काराेबार गरेकाे पाएकाे खन्डमा बाेर्डले कारबाही गर्न कुनै कसुर बाँकी नराख्ने केसीकाे भनाइ छ ।

अहिलेसम्म बोर्डले सुरु देखि नै इन्साइडर कारोबार हो भनेर स्थापित गर्न सक्नेकेशलाई मात्रै गर्ने गरेको छ । सुरुबाट नै यो इन्साइडर ट्रेडिङ हो भनेर स्थापित गर्न नसक्ने अवस्थामा ध्यान नदिने गरेको देखिएको छ ।

Publish on: