१ पुस २०८२, मंगलबार

वाणिज्य बैंकलाई लघुवित्त कम्पनीको सेयर किन्न कडाइ गर्ने राष्ट्र बैंकको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई लघुवित्त कम्पनीको सेयर किन्न कडाइ गर्ने भएको छ । दोस्रो बजारबाट वाणिज्य बैंकहरुले धमाधम लघुवित्तको सेयर उठाउन थालेपछि राष्ट्र बैंकले कडाइ गर्ने गृहकार्य थालेको हो ।

‘वाणिज्य बैंकहरुले नाफा कमाउने उदेश्यले लघुवित्तको सेयरमा लगानी गरेर मूल्यमा उच्च उतारचढाव गराएको देखिन्छ,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘हामीले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् कडाइ गर्ने तयारी गरेका छौं ।’

राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको १ प्रतिशत दोस्रो बजारमार्फत् सेयर खरिद गर्न सक्छन् । सोही व्यवस्थाअनुसार पछिल्लो समय वाणिज्य बैंकहरुले सेयर बजारमा लगानी बढाएका छन् ।

कोरोनाका कारण अन्य क्षेत्रबाट कर्जाको माग नहुँदा हाल बैंकिङ प्रणालीमा १ खर्ब ११ अर्ब रुपैयाँ बढी लगानीयोग्य रकम (अधिक तरलता) रहेको छ ।

‘कोरोना शुरु हुनभन्दा अघिसम्म थोरै बैंकहरुले मात्र तोकिएको दायरामा रहेर सेयर बजारमा लगानी गरेका थिए,’ स्रोतले भन्यो, ‘पछिल्लो अध्ययनले अधिकांश वाणिज्य बैंकहरुले माइक्रोफाइनान्सको सेयर खरिद गरेको देखिएको छ, जसकारण माइक्रोफाइनान्सको सेयर मूल्यमा दैनिक उच्चतम बिन्दुमा उतारचढाव भइरहेको छ ।’

कुनै एक क्षेत्रका संस्थाहरुको सेयर मूल्यमा दैनिक उतारचढाव हुँदा अर्थतन्त्रमा नकारात्मक प्रवाव पर्ने निष्कर्श निकाल्दै राष्ट्र बैंकले कडाइ गर्ने खोजेको उनको भनाइ छ ।

‘अहिले अध्ययन तथा छलफलको उठान सम्बन्धित विभागमा मात्र भइरहेको छ, मौद्रिक नीति समीक्षामा नै सम्बोधन गर्ने हुने भएमा विभागीय छलफलबाट आउँछ,’ उनले थपे, ‘बैंकले माइक्रोफाइनान्सको सेयर खरिद गरेपछि मूल्य बढ्ने अपेक्षामा साधारण लगानीकर्ताले उच्च मूल्यमा माइक्रोफाइनान्सको सेयर खरिद गर्छन्, तर भोलिपल्टै या एक/दुई दिनमा सोही रेसीयोमा घट्ने पनि हुन्छ ।’

पछिल्लो एक महिनाको तथ्यांक हेर्दा माइक्रोफाइनान्सको उपसूचक ७ सयभन्दा बढी अंकले बढेको छ ।

यसरी अधिकरुपमा सेयर मूल्य अस्थिर हुँदा वा वृद्धि हुनु राम्रो नभएको हुँदा यसले भविष्यमा निम्त्याउने समस्याको समाधानमा राष्ट्र बैंक समजमा नै सजग हुने उनको भनाइ छ । राष्ट्र बैंकले फागुन पहिलो साता चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।