काठमाडौं । नेपाली आकाशमा २२ वर्षदेखि निरन्तर यात्रुलाई सेवा दिएको यतीले प्रेमदिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ ।
यतीले फ्रेब्रवरी–१४ अर्थात ‘भ्यालेन्टाइन डे’ को दिनमा पर्वतीय उडान गर्ने यात्रुलाई घरबाट विमानस्थलसम्म आउने र घर फर्कनका लागि निःशुल्क ‘पिक एण्ड ड्रप’को व्यवस्था मिलाएको छ । यसका लागि एअरलाइन्सले ‘पिक मी’ संस्थासँग सहकार्य गरेको छ ।
साथै यतीले ‘भ्यालेन्टाइन डे’ को दिनमा उडान गर्ने यात्रुलाई स्मार्ट टेलिकमको तर्फबाट १ हजार रुपैयाँ बराबरको ८ जीबी डाटा, २० मिनेट टकटाइम भएको सिमकार्ड सित्तैमा उपलब्ध गराउनुका साथै ‘किनम्न’ अनलाइन सपिङको तर्फबाट रु ५०० भन्दा बढी मूल्य बराबरको २४ के. रोज गिफ्ट दिने व्यवस्था मिलाएको प्रवक्ता बर्तौलाले बताए ।
पर्वतीय उडानका लागि यतीले यसअघि नै अगाडि सारेको ‘एक टिकट किन्दा अर्को टिकट सित्तैमा’ योजना कायम राख्दै यो थप अफर दिन लागेको हो ।
‘प्रेमी÷प्रेमिकाका लागि विशेष रहेको प्रेम दिवसलाई अझ रोमाञ्चक र यादगार बनाउनका माउण्टेन फ्लाईटमा विशेष अफर अगाडि सारेको हो,’ प्रवक्ता बर्तौैलाले भने । उक्त अफर जोडिलाई मात्र नभएर एकजनालाई पनि लागू हुने एअरलाइन्सले जनाएको छ ।
प्रभावकारी बन्दै ‘यती एअरलाइन्स’को मोबाइल एप
यती एअरलाइन्सले सञ्चालनमा ल्याएको मोबाइल एप पछिल्लो समय हवाई यात्रुमाझ प्रभावकारी बन्दै गएको हो । केही समय अगाडि सञ्चालनमा ल्याएको एप डाउनलोड गरी टिकट खरीद गर्दा यात्रुले हवाई भाडामा आकर्षक छुट पाउने, उडान सम्बन्धि जानकारी सजिलै प्राप्त गर्न सक्ने, दैनिक अफरको बारेमा समेत जानकारी पाउने भएपछि यात्रुहरु मोबाइल एपतर्फ आकर्षित भएका हुन् ।
एअरलाइन्सका प्रवक्ता बर्तौैलाले पछिल्लो समय अनलाइनमार्फत टिकट खरीद गर्नेको संख्या ह्वातै बढेको बताए ।
‘दैनिकरुपमा हुने टिकट खरिदमध्ये ८० प्रतिशतसम्म अनलाइनमार्फत् हुने गरेको छ । साथै एअरलाइन्सको मोबाइल एपमार्फत् टिकट खरिद गर्दा थप छुट पाउने भएपछि आकर्षण बढेको हो,’ उनले भने ।
SHARE YOUR THOUGHTS