वनमन्त्री प्रेम आले भन्छन्- वन माफियाबाट मलाई १ अर्बको आर्थिक प्रलोभन आयो « Eglish Khabarhub

वनमन्त्री प्रेम आले भन्छन्- वन माफियाबाट मलाई १ अर्बको आर्थिक प्रलोभन आयो



काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई एक अर्ब रुपैयाको प्रलोभन आएको खुलासा गरेका छन् ।

मंगलबार काठमाण्डौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषदको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफुलाई बैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाईएको खुलासा गरेका हुन् ।

सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिनापछि विभागिय मन्त्रीले सो कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाईएको बताए ।

गत माघ ११ गते बसेको मन्त्रीपरिषद् बैठकले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो । मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि नै काठव्यवसायी र बनका केही बदमास कर्मचारीले भेट्न प्रयास गरेको तर आफुले कसैलाई पनि भेट नगरि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्ने निर्णय गरेको बताए ।

‘जुन दिन मैले पदको वहाली गरेँ, त्यही दिनदेखि काठव्यवसायीदेखि, वनका केही बदमास कर्मचारीदेखि साराले मलाई भेट्ने प्रयास गरे । मैले कसैलाई भेटिन। कसैलाई पनि भेट्दिनँ भनेँ । मैले कसैलाई भेट्दा पनि भेटिनँ । पछि कुरा कतिसम्म आयो भन्दाखेरी हामी १ अर्ब पैसा उठाएर दिन्छौ भन्ने कुरा पनि आयो । अनि मैले भनेँ १ अर्ब पैसा समातेर आफ्नो मुखमा कालोमोसो आफै दल्ने मैले ? हुदैन भनेर मैले इन्कार गरेँ ।’ मन्त्री आलेले भने ।

उनले बैज्ञानिक वन कार्यक्रमका नाममा मुलुकका विभिन्न स्थानमा बन फडानी गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रम नै बद्नाम पार्ने काम भएकाले प्रधानमन्त्रीले बैज्ञानिक वन कार्यक्रम खारेज गर्नका लागि प्रधानमन्त्रीले आफुलाई वन मन्त्रालयको जिम्मेवारी दिएको पनि बताए ।

‘सार्वजनिक लेखासमितिले निर्णय गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदन बुझायो । छानविन भईरह्यो तर वैज्ञानिक बन कार्यक्रम खारेज हुदैन । यही कारणले गर्दाखेरी सम्माननीय प्रधानमन्त्री ज्युले मलाई यो(मन्त्रीको) जिम्मेवारी सुम्पिनुभयो । छिटो बैज्ञानिक वन खारेज हुनुपर्छ भन्ने उहाँको मान्यता थियो ।’ उनले भने ।

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि गरे ।

‘आफू गतिलो भयो भने कसैले बिगार्न सक्तैन । हामीले र्याल चुहाउने पनि होइन । मन्त्रालय भित्र गर्नुपर्ने कामहरु अघि बढ्छन् । जनतालाई प्रत्यक्ष हानीहुने काम मन्त्रालयले गर्दैन । जनताको अहित हुने काम गर्न बाध्य पार्यो भने मन्त्रीको पद १ मिनेटमा रिजाईन गरेर पद छोड्न म तयार छु ।’ उनले भने ।

मन्त्री आलेले आफु सार्वजनिक लेखा समितिको सदस्य रहेका बेला उपसमितिमा बसेर वैज्ञानिक वन कार्यक्रमको बारेमा अध्ययन गर्दा पनि जिल्ला बन अधिकृत, क्षेत्रिय निर्देशक, काठव्यवसायी कर्मचारी लगायतले विभिन्न किसिमका प्रलोभन देखाएको बताए ।

यद्यपि मुलुकका विभिन्न स्थानको अवलोकन गर्दा कैलाली कञ्चनपुर लगायत स्थानमा वैज्ञानिक वन कार्याक्रमका नाममा चुरेको दोहन भएको देखेपछि आफुहरुले सो कार्यक्रम नै खारेज गर्नुपर्ने र दोषीलाई कारवाही गर्न सिफारिस गरेको स्मरण गरे ।

उनले वन नियमावली बनाउँदा पनि सरोकारवालाहरुसंग परामर्श गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले कुनै पनि किसिमका प्रलोभनमा नपरी देश र जनताको हितलाई मध्यनजर गरि काम गर्न पनि आग्रह गरे ।

Publish on: