म्याग्दी। स्थानीयवासीको लगानीमा जिल्लामा २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
स्वदेश तथा विदेशमा रहेका जिल्लावासीको लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको सो आयोजना निर्माण कम्पनी दरवाङ कालिका हाइड्रो प्रालिका अध्यक्ष विनोद कुँवरले जानकारी दिए ।
म्याग्दीवासीको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले जलविद्युत् आयोजना अगाडी बढाइएको कुँवरको भनाइ छ । कोरियामा रहेका म्याग्दीका बासिन्दाले लगानीको प्रतिबद्धता जनाएका छन् भने अन्य मुलुकमा रहेका यहाँका बासिन्दा समेत सो आयोजनामा लागानी गर्न इच्छुक देखिएका कुँवरले बताए।
मालिका गाउँपालिकाअन्तर्गत पर्ने सो आयोजनास्थलको माटोको जाँच प्रक्रिया समेत अगाडी बढाइएको छ । आयोजनालाई आवश्यकताअनुसारको सहयोग गर्ने प्रभावित क्षेत्रका बासिन्दाले प्रतिबद्धता जनाएका छन् ।
‘रन अफ द रिभर’ प्रकृतिको दरबाङ–म्याग्दीखोला आयोजना दरबाङदेखि दुई किलोमिटर माथि देवीस्थान र ताकम धारापानी जाने भेदीखोालमा बाँध बाँधेर पाँच किलोमिटर टनेलहुँदै दरबाङ र बाबियाचौर गाविसको सिमानामा अवस्थित सहश्रधाराको रातोढुङ्गामा १०० मिटर अग्लो बाँध निर्माण गरिनेछ ।
सो आयोजनाको प्रारम्भिक कुल लागत तीन अर्ब ९३ करोड रुपैयाँ रहेको छ । सेयरबाट सङ्कलन भएको रकमबाहेक बैंकबाट कर्जा लिएर आयोजना निर्माण गरिने बताइएको छ ।
SHARE YOUR THOUGHTS