काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले हवाइजहाजका लागि प्रयोग हुने इन्धन नेपालमा महंगो भएको भन्दै इन्धनको मूल्य अन्तर्राष्ट्रियरुपमा समान हुनुपर्ने बताएका छन् ।
नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि हवाई इन्धन महंगो भएको भन्दै लामो समयदेखि चर्चा हुँदै आएको छ । मन्त्री ढकालले यही विषयलाई ध्यानमा राख्दै आइतबार नेपाले पनि अब अन्तर्राष्ट्रिय हवाई उडानमा पनि इन्धनको मूल्य अन्य देशले जस्तै सस्तो बनाउनु पर्ने आवश्यकता रहेको बताए ।
हाल नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलो लिटर ८९३ रुपैयाँ कायम छ । जुन छिमेकी भारत र बंगलादेशको तुलनामा बढी हो ।
मन्त्री ढकालले विमानस्थलभित्रको धावनमार्गको सम्पूर्ण जग्गा विमानस्थलको नाममा नभएको उल्लेख गर्दै विमानस्थलको नाममा ल्याउने प्रक्रिया थाल्न समेत विमानस्थल प्रशासनलाई निर्देशन दिए ।
ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइलाई विशेषरुपमा ध्यान दिन निर्देशन दिएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले विमानस्थलको सरसफाईलाई विशेष ध्यान दिन निर्देशन दिए ।
विमानस्थलमा अनावश्यक सामग्रीहरु पनि यत्रतत्र छरिएर रहेको भन्दै चुस्त दुरुस्त व्यवस्थापन गर्नुपर्ने बताए । सरसफाइका लागि विमानस्थलसँग पर्याप्त कर्मचारी रहेको भन्दै उनले कर्मचारीको कामको निगरानी राख्न पनि विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए ।
मन्त्री ढकालले विशिष्ट व्यक्तिहरुको गाडी हवाइजहाजको ढोकैसम्म पुग्ने गरेको भन्दै निश्चित मापदण्ड बनाइ क–कसको गाडी विमानस्थलभित्र जान पाउने निक्र्योल गर्नुपर्ने आवश्यकता रहेको बताए ।
विमानस्थलभित्र बस्ने ट्याक्सीले महंगो भाडा लिने गरेकाले ट्याक्सीहरुलाई सरकारले अतिरिक्त सेवा दिएर भएपनि मिटरमा हिँडाउनुपर्नेमा पनि मन्त्री ढकालले जोड दिए । ट्याक्सीलाई सिस्टममा हिँडाउनका लागि विमानस्थलभित्रको पार्किङ शुल्क मिनाहा गर्नसम्म सोच्नुपर्ने बताए ।
SHARE YOUR THOUGHTS