काठमाडौं । नेपाल र कतारबीच पर्यटन प्रर्वद्धनका लागि सहकार्य हुने भएको छ ।
नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमबार भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रर्बद्धन गर्न सकिने पर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको छ ।
बोर्डको निमन्त्रणमा आएका कतारका राजदूतले नेपाल प्रकृतिको अनुपम उपहार भएको उल्लेख गर्दै पूर्वाधार विकासमा थप जोड दिन सके नेपालले पर्यटनबाट आर्थिक विकास गर्न सक्ने बताए ।
‘नेपाल विश्वकै सुन्दर देशमध्ये एक हो । म आफै पनि नेपालका धेरै ठाउँ पुगेको छु । यहाँको प्राकृतिक सौन्दर्यले म सधैँ लोभिने गरेको छु । तर यातायातको उचित प्रबन्ध र महँगो हवाई भाडाले गर्दा चाहेर पनि मानिसहरूले नेपाललाई आफ्नो गन्तव्य बनाउन सकेका छैनन् । यसमा ध्यान दिन सके राम्रो होला,’ उनले भने ।
उनले नेपालको पर्यटन विकासका लागि नयाँ ढंगले सोच्न आवश्यक रहेको उल्लेख गर्दै नेपालको पर्यटन प्रर्वद्धनका लागि कतार सरकार सहयोग गर्न सधै तयार रहेको बताए ।
कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा सरकार र निजी क्षेत्र दुवैले पर्यटन पूर्वाधार विकासमा ध्यान दिइरहको जानकारी गराउँदै पर्यटन बोर्डले कतार सहित मध्यपूर्वमा पर्यटन प्रर्वद्धनका नयाँ योजना अगाडि सारेको बताए ।
उनले कतारबाट नेपाल आउन चाहने पर्यटकको आवश्यकता अनुरूपको व्यवस्थाका लागि नेपाल तयार रहेको बताए ।
‘नेपाल आउन चाहने पर्यटकको स्वागतका लागि नेपाल तयार छ । खासगरी कतारी पर्यटकको लागि ‘हलाल’ खानाको उपलब्धता, प्रार्थना कक्ष जस्ता आवश्यक पूर्वाधारको समेत व्यवस्था भइरहेको छ,’ उनले भने ।
उनले नेपाल र कतारबीच सिधा हवाई सम्पर्क समेत रहेकाले पर्यटक आवागमनमा खासै समस्या नहुने बताउँदै त्यसको लागि बोर्डले थप पहल गर्ने बताए ।
SHARE YOUR THOUGHTS