प्रधानमन्त्री रोजगारमार्फत् दुई सातामा २१ हजार बढीले पाए रोजगारी « Eglish Khabarhub

प्रधानमन्त्री रोजगारमार्फत् दुई सातामा २१ हजार बढीले पाए रोजगारी



काठमाडौं । बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् दुई सातामा २१ हजार ३ सय ४२ जनाले रोजगारी पाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार दुई सातामा २१ हजार बढी बेरोजगार युवाले रोजगारी पाएको उल्लेख छ ।

मन्त्रालयले गत चैत ६ गतेदेखि १९ गतेसम्मको प्रगति विवरणमा हालसम्मा ७ लाख ५१ हजार ४ सय ९९ जना बेरोजगार यूवा सूचिकृत भएका छन् ।

सरकारले चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ११ अर्ब बजेट बिनियोजन गरेको थियो । उक्त रकमबाट सरकारले करिब २ लाखलाई १०० दिने रोजगारी प्रदान गर्ने बताएका थिए । साथै, चालु आवसम्ममा सरकारले उक्त २ लाख बेरोजगार युवालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी मन्त्रालयले दुई सातामा प्राप्त भएको ८ सय ९९ गुनासो तथा उजुरीमध्येमा ८ सय ५० सम्बोधन भएको जनाएको छ ।
साथै मन्त्रालयसँग सम्बन्धित विभाग र कार्यालयबाट ८१ वटा प्रतिष्ठान निरीक्षण गरिएको छ । साथै, सम्बन्धित विभाग र कार्यालयबाट ८१ वटा बाल श्रम निरीक्षण गरिएको छ ।

त्यसगरी, श्रम सम्बन्धी २७ वटा विवाद तथा गुनासो आएकोमा ७ वटा समाधान भएको छ भने बाँकी २० वटा प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । साथै, औद्योगिक दुर्घटनामा १ जना र घाइते १ जनामा परेको मन्त्रालयको भनाइ छ ।

५ हजार बढीले लिए श्रम स्वीकृति
गत चैत ६ गतेदेखि चैत १९ गतेसम्ममा व्यक्तिगत र संस्थागतबाट ५ हजार ९ सय ६६ जना नेपालीले वैदेशिक रोजगारी जानको लागि नयाँ श्रम स्वीकृति लिएका छन् । साथै, ६ हजार ९ सय २८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार गत चैतसम्ममा ३२ हजार ८५ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने ५४ हजार ४ सय १५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । यससँगै, वैदेशिक रोजगारीमा वैधानिकरणबाट दुई हप्तामै ४ सय २ जना वैदेशिक रोजगारीमा गएका छन् भने गत चैत ६ सम्ममा ३ हजार २ सय ४० जना वैधानिक रुपमा विदेशिएका छन् । तर, ईपिएसतर्फबाट भने कुनै पनि रोजगारीमा जान पाएका छैनन् ।

मन्त्रालयले दुई हप्ताको अवधिमा ३८ जना गैर नेपाली नागरिकको नयाँ श्रम स्वकिृति दिएको छ । त्यस्तै ४२ जनाको श्रम स्वीकृति नवीकरण गरिएको छ । साथै, मन्त्रालयले गत चैत ६ गतेसम्ममा ५ सय ८२ जनाले नयाँ श्रम स्वीकृति र ८ सय ५९ जनाले श्रम स्वीकृति नवीकरण गरिएको छ ।

श्रम मन्त्रालयको मातहतमा रहेको वैदेशिक रोजगार विभागमा ३६ वटा उजुरीमा ५ वटा उजुरी फछ्यौट गरेको छ । जसमा चालु आवदेखि हालसम्ममा २ सय ३५ उजुरी प्राप्त भएकोमा ५१ वटा मात्रै फछ्यौट हुन सकेको मन्त्रालयको भनाइ छ । साथै ५ वटा म्यानपावर व्यवसायीलाई दण्ड जरिवाना गरिएको छ । जसमा गत चैत ६ गतेसम्ममा वैदेशिक रोजगार न्यायधिकरणमा ५१ दर्ताको मुद्दा÷दण्ड गरेकोबाट ४० लाख जरिवाना गरेको प्रगति विवरणमा उल्लख छ ।

दुई सातामा ३१ वटा रोजगारदाता आबद्ध
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा दुई साताको अवधिमा ३१ वटा रोजगारदाता आबद्ध भएका छन् । उक्त ३१ वटा रोजगारदाताबाट ८ सय ४५ जना श्रमिक आबद्ध भएको मन्त्रालयले जनाएको छ ।

जसमा उक्त रोजगारदाता र श्रमिकबाट १५ करोड ३० लाख रुपैयाँ रकम जम्मा भएको छ । कोषमा गत चैत ६ गतेसम्ममा १३ हजार ६ सय १६ रोजगारदाताबाट १ लाख ९४ हजार ५ सय ९३ श्रमिक आबद्ध भएका छन् । उक्त आबद्ध भएको रोजगारदाता र श्रमिकबाट कोषमा ४ अर्ब ८० करोड ९१ लाख रुपैयाँ रकम संकलन भएको छ ।

यस्तै गत चैत ६ गतेदेखि १९ गतेसम्ममा विभिन्न संघसंस्थाका ८७ जना श्रमिकले योजनाको सुविधा प्राप्त गर्न १४ लाख ७४ हजार रुपैयाँ रकम दाबी गरेको छ । साथै, कोषबाट गत चैत ६ गतेसम्ममा २४ सय ९५ जनाले ४ करोड ७३ लाख ८१ हजार रुपैयाँ रकम दाबी गरेको छ ।

मन्त्रालयले मन्त्रालयको मातहतमा रहेको वैदेशिक रोजगार बोर्ड सचिवालयबाट वैदेशिक रोजगारी हुँदा मृत्यु भएका २७ जना मृतक परिवारलाई एक करोड ८९ लाख रुपैयाँ उपलब्ध गराइएको जनाएको छ ।

दुई साताको अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा असक्त भएका ३ जना कामदाहरुलाई ६ लाख ९३ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ । साथै, वैदेशिक रोजगराीको क्रममा मृत्यु भएका ९ जना कामदारहरुको शव व्यवस्थापन गरेको विवरणमा उल्लेख छ ।

Publish on: