काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ३ वर्षमा गरेका कामबारे आफू मन्त्रालयपिच्छे बहस गर्न तयार गरेको भन्दै सरकारलाई चुनौती दिएका छन् ।
उनले सरकारले मिथ्यांक प्रस्तुत गर्दै चमत्कार गरेको भ्रम फैलाएको बताए । उनले मेलम्चीमा जस्तै तामाकोसीको अवस्था आउने बताए ।
‘यहाँ कसैले फास्ट ट्रयाकको कुरा कसैले गर्दैन, बुढिगण्डकी, पश्चिम सेती, कर्णाली र कोसी करिडोरलगायत बबइ र सिक्टा सिँचाइ जस्ता राष्ट्रिय गौरवका आयोजनाको कुरा नगर्ने भन्दै प्रधानमन्त्री ओली मिथ्यांक ल्याएर गफ चुटेको अवस्था छ,’ उनले भने ।
उनले सञ्चालन भएको २ वर्षपछि पुल उद्घाटन गर्ने, डीपीआर तयार नहुँदै ठेक्का नलाग्दै सुनकोसी मरिणको उद्घाटन गरेको र १६५ वटा सडकको पैसा बिना उद्घाटन गरेको बताए । उनले प्रधानमन्त्रीले दैनिक १० किलोमिटर बाटो पिच भएको भन्दै भ्रम फैलाएको समेत बताए ।
उनले प्रधानमन्त्री ओलीलाई सरकारले प्रस्तुत गरेको पुस्तकमा भएको तथ्यांकका आधार आफू बहस गर्न तयार भएको समेत बताए ।
SHARE YOUR THOUGHTS