महामारीका बाबजुद बेलायतमा यसवर्ष आर्थिक वृद्धिदर ७० वर्षयताकै उच्च हुने « Eglish Khabarhub

महामारीका बाबजुद बेलायतमा यसवर्ष आर्थिक वृद्धिदर ७० वर्षयताकै उच्च हुने



काठमाडौं । सन २०२१ मा बेलायतको आर्थिक वृद्धिदर पछिल्लो सात दशकयताकै बढी देखिने अनुमान गरिएको छ ।

बैंक अफ इंल्याण्डले सार्वजनिक गरेको आर्थिक वृद्धिदर लक्ष्यअनुसार यसवर्ष बेलायतले ७.२५ प्रतिशतको वृद्धिदर हासिल गर्नेछ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएका निशेधात्मक आदेशहरु धेरै समय नलम्बिए अर्थतन्त्र चाँडै लयमा फर्किने अनुमान गरिएको छ ।

महामारीकै कारण पछिल्लो २ वर्ष त्यहाँको अर्थतन्त्र धराशायी हुने अवस्थामा पुगेको थियो । गतवर्ष अर्थात सन २०२० मा बेलायतको अर्थतन्त्रमा पछिल्लो ३०० वर्षयता ठूलो संकुचन देखिएको थियो । गतवर्ष त्यहाँको अर्थतन्त्र ९.९ प्रतिशतसम्मले घटेको थियो ।

बैंक अफ इंल्याण्डका गभर्नर एन्ड्रय्रु बेलीेले आर्थिक वृद्धिदर चामत्कारिक भन्दा पनि ‘बाउन्स ब्याक’ का रुपमा बुझ्नुपर्ने बताए ।

‘यो हाम्रा लागि सुखद समाचार हो । हामी यसवर्ष बेलायतको अर्थतन्त्र सन २०१९ को वृद्धिदर बराबर हासिल गर्न सफल हुनेछौं,’ एन्ड्रयु बेलीले भने ।

बेलायतको अर्थतन्त्रको वृद्धिदर सन १९४० मा १० प्रतिशत र १९४१ मा ९ प्रतिशतले बढेको थियो । यदि यसवर्ष अनुमान गरेअनुरुप ७.२५ अंकले बढेमा त्यो दोस्रो विश्वयुद्धयताकै उच्च अंकको आर्थिक वृद्धिदर हुनेछ ।

त्यहाँको अर्थतन्त्रमा उच्च अंकको बाउन्स ब्याक प्रक्षेपण गर्नुका पछाडि मुख्यगरी कोभिड १९ महामारी नियन्त्रणमा आउने अनुमान नै हो । बेलायतले अघि बढाइरहेको कोभिड १९ विरुद्धको खोप अभियानले पनि आर्थिक वृद्धिदरलाई उचाल्ने अनुमान गरिएको छ ।

यसवर्ष बेलायतको बेरोगारी दर घट्ने पनि अनुमान गरिएको छ । सन् २०२० मा बेलायलको बेरोजगारी दर ७.७५ प्रतिशतसम्म पुगेकोमा अहिले घटेर ५.५ प्रतिशतमा सीमित भएको जनाइएको छ । अघिल्लो वर्ष ५० लाख जना व्यक्ति बेरोजगार रहेकोमा आगामी जुनसम्ममा त्यो संख्या घटेर २७ लाखमा सीमित हुने अनुमान गरिएको छ ।

कोभिड १९ महामारीका कारण त्यहाँका नागरिकले खर्चको तुलनामा बचत धेरै गरेको देखिएको छ । ‘वर्क फ्रम होम’ नीतिका कारण गतवर्ष १५० बिलियन पाउण्ड बराबर बचत गरेको तथ्यांक छ ।

यदि यसवर्ष महामारी नियन्त्रण भएमा र अर्थतन्त्र सामान्य अवस्थामा फर्किएमा बेलायतका नागरिकलाई औसत खर्चका अतिरिक्त १० प्रतिशत बढी खर्च गर्ने वातावरण बनाउने नीति बेलायतले लिएको छ ।

अहिले कोभिड १९ महामारी कति समयसम्म लम्बिन्छ भन्ने अनुमान गर्न गाह्रो भएकाले धेरै मानिसहरुले बचतमा ध्यान दिएको पनि बैंक अफ इंल्याण्डले जनाएको छ । अहिले बेलायतको वार्षिक मुद्रास्फीति ०.७ प्रतिशत छ । तर उक्त दर बढेर २ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

Publish on: