काठमाडौं । सामाजिक सुरक्षा कोषको अव्यवहारिक व्यवस्थाले अन्याय भयो भन्दै निवासमै ध्यानाकर्षण गराउन पुगेका नेपाल वित्तीय संस्था कर्मचारी संघका प्रतिनिधिहरुसँग श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवले अन्याय हुन नदिने बताएका छन् ।
संका बरिष्ठ उपाध्यक्ष धर्मप्रसाद खनाल, महासचिव हरिराज खरेल र उपाध्यक्ष कमल खत्रीको टोली मंगलबार साँझ ६ बजे बल्खुस्थित मन्त्री श्रीवास्तवको निजी निवास पुगेको थियो ।
संघका पदाधिकारीले सामाजिक सुरक्षा कोषले आवद्धताका लागि जवर्जस्ती गरेको जानकारी गराए । साथै, उनीहरुले कर्मचारीहरुको खाइपाइ आएको सेवा सुविधसमेत कम हुने गरी कोषमा आवद्ध हुन नसकिने पनि प्रष्ट पारे । विद्यमान सामाजिक सुरक्षा ऐन र कार्यविधिमा संशोधन गर्नुपर्ने बुँदाहरु मन्त्रीलाई लिखितरुपमै बुझाए पनि ।
‘पेन्सन होइन, टेन्सन दिने’ सामाजिक सुरक्षा कोषमा यसकारण आवद्ध हुन सकिँदैन
ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री श्रीवास्तवले सरोकारवालाहरुसँग छलफल गरेर यो विषयलाई टुंगोमा पुर्याउने बताए ।
‘भर्खरै मन्त्री भएर आएको छु, धेरै कुरा बुझ्न बाँकी नै छ, तपाईंहरुका कुरा विभिन्न सञ्चारमाध्यमबाट पनि सुनिरहेको छु, तपाईंहरुले दिएको लिखित ध्यानाकर्षणपत्रको राम्रोसँग अध्ययन गरेर, मन्त्रालयका सचिव, विभागीय प्रमुख र कोषका पदाधिकारीसँग कुरा गरेर यो विषयलाई टुंगोमा पुर्याउँछु,’ मन्त्री श्रीवास्तवको भनाइ उदृत गर्दै संघका महासचिव खरेलले क्लिकमाण्डूसँग भने ।
कसैलाई पनि लौरो लगाएर कोषमा आवद्ध गराउनु नहुने पक्षमा आफू रहेको मन्त्रीले प्रष्ट पारे ।
‘कसैलाई पनि लौरो लाएर कोषमा आवद्ध गराउन मिल्दैन, यसमा भएका अव्यवहारिक पक्षहरु हटाउँदै जानुपर्छ, ढुक्क हुनुहोस् म तपाईंहरुलाई अन्याय हुन दिन्न,’ मन्त्री श्रीवास्तवले आश्वस्त पारे, ‘लोकतन्त्रमा कसैको पनि खाइपाइ आएको सेवा सुविधा खोसिनु हुँदैन ।’
सामाजिक सुरक्षा कोषको अवधारणा र भावनाअनुसार कोषले काम नगरेको हो कि भन्ने मन्त्रीले शंकासमेत गरे ।
‘तपाईंहरु आउनुभन्दा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरु हामीलाई कोषमा आवद्ध गराउनुपर्यो भन्दै आउनुभएको थियो, अहिले तपाईंहरु हामी आवद्ध हुन सक्दैनौं भनेर आउनुभएको छ,’ मन्त्री श्रीवास्तवले भने, ‘जसले हामी सहभागी हुन्छौं भनिरहेका छन् त्यतातर्फ कोषको नेतृत्वले ध्यान नदिई सहभागी हुँदैनौं भन्नेहरुतिर बढी ध्यान दिएको जस्तो देखियो ।’
निजी क्षेत्रका अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक तथा मजदुरहरुतिर ध्यान नदिइ कोषको नेतृत्वले सामाजिक सुरक्षामा अब्बल मानिएको बैंकिङ क्षेत्रमा बढी ध्यान दिएको छ ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु अहिलेकै व्यवस्थामा कोषमा आवद्ध हुँदा आफूले खाइपाइ आएको सेवा सुविधा तथा रकमसमेत घट्ने भन्दै विरोधमा उत्रिएका छन् ।
SHARE YOUR THOUGHTS