काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने तयारी गरेको छ । बोर्डले कमिसन घटाएको ६ महिना नबित्दै फेरि ब्रोकर कमिसन घटाउने तयारी गरेको हो ।
यसका लागि बोर्डले आन्तरिक छलफल शुरु गरिसकेको छ । सेयर बजारमा कारोबार रकम र अनलाइमार्फत्को कारोबार बढ्न थालेपछि ब्रोकर कमिसन घटाउने छलफल शुरु गरिएको बोर्डका अध्यक्ष भिष्मराज ढुङगानाले बताए ।
‘यसअघि ब्रोकर कमिसन घटायता कारोबार पनि धेरै हुन थालेको छ, भने अनलाइनमार्फतको काराबार बढेको छ,’ अध्यक्ष ढुङगानाले क्लिकमाण्डूसँग भने, ‘त्यसले गर्दा केही कमिसन घटाउने कुरा बोर्डमा उठान भएको थियो तर अहिले फेरि कारोबार घटेको हुँदा त्यो विषयमा अन्योलता सिर्जना भएको छ ।’
यसअघि बोर्डले गत पुस पहिलो सातामा ब्रोकर कमिसन घटाएको थियो । उक्त समयमा दैनिक ६÷७ अर्ब रुपैयाँको कारोबार ३ साता अघि आइपुग्दा दैनिक १९ अर्ब रुपैयाँ बढीसम्म कारोबार भएको थियो । अहिले बजार घटेको भए पनि पुनः कारोबार बढेमा ब्रोकर कमिसन घटाउने प्रक्रिया बोर्डले शुरु गर्ने उनले जानकारी दिए ।
‘कारोबार रकम बढेसँगै ब्रोकर कमिसन बढी भयो भन्ने कुरा आएकाले घटाउने तयारीमा थियौं, तर अहिले फेरि कारोबार रकम घट्न थालेपछि बोर्ड तत्कालका लागि पछि हटेको छ । अब कारोबार रकम बढेसँगै कमिसन पनि घटाउँऔं,’ ढुंगानाले भने ।
‘कमिसन घटाएपछि कारोबार बढ्न थालेपछि फेरि कमिसन घटाउनका लागि बोर्डमा छलफल भएको हो, तर अहिले कारोबार घटिरहेको अवस्थामै कमिसन घटाउनु पर्छ भन्ने पक्षमा बोर्ड छैन्,’ उनले थपे, ‘तर कारोबार बढ्दै गयो भने ब्रोकर कमिसन पनि घटाउँदै जानुपर्छ, यतिले नै घटाउने भन्नेसम्म अहिलेसम्म बोर्डको छलफल पुगेको छैन ।’
सेयर ब्रोकर कमिसन बढी भएको गुनासो विभिन्न सरोकारवालाहरुबाट आएको कारणले सोमा अध्ययन गरी कमिसन घटाउने तयारीमा बोर्ड रहेको उनले जानकारी दिए ।
यसअघि कति घटाइएको ब्रोकर कमिसन
बोर्डले यसअघि २०७७ पुस पहिलो सातामा ब्रोकर कमिसन ३३ प्रतिशतले घटाएको थियो । सो अघि ५० हजारसम्मको कारोबारमा ०.६० प्रतिशत कमिसन तिर्नुपर्नेमा ०.४० प्रतिशत, ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.५५ प्रतिशतलाई ०.३७ प्रतिशत कायम गरेको थियो ।
साथै, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.५० प्रतिशतलाई ०.३४ प्रतिशत र २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्ने व्यवस्थालाई ०.३० प्रतिशत तिर्नु पर्ने व्यवस्था गरेको थियो । करोड भन्दा माथिको कारोबारको हकमा ०.४० प्रतिशतलाई घटाएर ०.२७ प्रतिशत कायम गरेको थियो ।
SHARE YOUR THOUGHTS