
काठमाडौं । साउनको २२ दिनमा वाणिज्य बैंकहरुबाट ६१ अर्ब रुपैयाँ निक्षेप हराएको छ ।
गत असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब रुपैयाँ सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमा मौज्दात थियो । जुन साउन २२ गतेसम्म आइपुग्दा ६१ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ४० करोड रुपैयाँमा सीमित भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । तर सो अवधिमा बैंकको कर्जा प्रवाह भने १२ अर्ब रुपैयाँले थप भएको छ ।
गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा साउन २२ गतेसम्म १२ अर्ब रुपैयाँ थप भएर ३७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा छ ।
कहाँ गयो त बैंकको ६१ अर्ब रुपैयाँ ?
सामान्यतय साउन महिनामा बैंक तथा वित्तीय संस्थामा कर्जाको माग न्यून हुने र डिपोजिट भने बढ्ने हुन्छ । अघिल्ला वर्षहरुका साउन महिनाको ट्रेण्ड यही रहेको बैंकरहरु बताउँछन् ।
असार महिनामा सकारी खर्च बढ्ने, अधिकाँश चेक क्लियरिङस् समेत साउन १५ गतेसम्मै हुने भएकाले साउन महिनालाई बैंकिङ प्रणालीमा अधिक तरलताको रुपमा पनि लिइन्छ । तर, अहिले भने रेमिट्यान्स घट्दै जाँदा आयात भने बढेको अवस्थाले बैंकहरुको डिपोजिट घटेको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए ।
‘वाणिज्य बैंकहरुको मात्र हेर्दा धेरै देखिए पनि क, ख र ग वर्गको बैंकहरुको यो अवधिमा ३४ अर्ब रुपैयाँले मात्र निक्षेप घटेको छ,’ डा. श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘यसका कारकमा–रेमिट्यान्स आप्रवाह कम हुनु, आयात बढ्नु, विभिन्न क्षेत्रको आम्दानी बाहिर लैजाँदा बैंकहरुको निक्षेप घटेको हो ।’
औपचारिक क्षेत्रबाट बैंकहरु निक्षेप आए पनि पछिल्लो समय बैंकको निक्षेप अनौपचारिक क्षेत्रमा खर्च हुनका साथै सहकारी संस्थामा समेत गएको उनको अनुमान छ ।
‘कुन क्षेत्रमा कति गयो तथ्यांक आउन बाँकी छ तर, पछिल्लो समय बैंकहरुको निक्षेपको ब्याजदर घट्दा यताको डिपोजिट सहकारी तिर पनि गएको हुन सक्छ,’ उनले थपे, ‘आयातको खर्चमा हुण्डीमार्फतको आयातमामा पनि पेमेन्टमा भएको हुन सक्छ ।’
कोरोनाका कारण व्यक्तिगत आम्दानी घट्दा र खर्च बढ्दा समेत यसबीचमा निक्षेप घटेको उनको भनाइ छ ।
यता, वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ भने आयात बढ्दा नै बैंकहरुको निक्षेप घटेको बताउँछ ।
कोभिडबीचमा रेमिट्यान्स घटेपनि पनि एलसीका कारोबार भइरहेको हुँदा सोको कुल भुक्तानी आयातकर्ताले गर्दा बैंकको निक्षेप घटेको संघका कार्यकारी अधिकृत अनिल शर्माले बताए ।
SHARE YOUR THOUGHTS