शङ्खरापुरलाई सांस्कृतिक र ऐतिहासिक सहर बनाउने « Eglish Khabarhub

शङ्खरापुरलाई सांस्कृतिक र ऐतिहासिक सहर बनाउने



काठमाडौँ । ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्वले धनी शङ्खरापुर नगरपालिकाको विकास र विस्तारका लागि दलहरुले साझा प्रतिवद्धता जनाएका छन् ।

स्थानीय निकायको निर्वाचन आउन केही दिन बाँकी रहँदा उम्मेदवारले आफ्नो पक्षमा मत पार्न त्यहाँको विकासको योजनालाई अगाडि सारेका हुन् ।

काठमाडौँ उपत्यकाकै सबैभन्दा पुरानो सहर मानिने साँखु र त्यस वरपरका क्षेत्रको विकास र विस्तार गरी शङ्खरापुर नगरपालिकालाई सांस्कृतिक र ऐतिहासिक सहर बनाउने प्रतिवद्धता जनाएका हुन् ।

नेपाली काँग्रेसबाट नगरपालिकाको प्रमुख पदका उम्मेदवार शङ्कर तिवारीले शङ्खरापुरमा देखिएको खानेपानी, अव्यवस्थित सडक, भूकम्पपछिको पुनःनिर्माण आफ्नो मुख्य एजेन्डा भएको बताउँछन्। उनी भन्छन्, “ ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय महत्व बोकेको शङ्खरापुरलाई देशकै नमुना सहर बनाउनका लागि आफ्नो उम्मेदवारी हो ।”

ऐतिहासिक महत्व बोकेको साली नदी, स्वस्थानी कथामा आधारित लावण्यदेशको गरिमा बढाउन आफ्नो प्रयास हुने बताउँदै तिवारीले भने “गणेशमान स्मृति पार्क र काठमाडौँदेखि ल्हासासम्मको भगिनी सम्बन्ध स्थापित गर्न शङ्खरापुरको भूमिका महत्वपूर्ण रहने छ ।”

नेकपा (एमाले)बाट प्रमुख पदका उम्मेदवार सुवर्ण श्रेष्ठले भूकम्पपछिको पुनःनिर्माण, गाउँगाउँमा सडक सञ्जाल, गुणस्तरीय शिक्षा, वडा÷वडामा स्वास्थ्य केन्द्र स्थापनालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउँछन् ।

उनी भन्छन्, “नगरकोट जाने वैकल्पिक मार्ग, मिनी इलामको रुपमा प्रसिद्ध सिन्धुपाल्चोकको चियावगान जाने बाटोको विकास गरेर होमस्टे खोल्ने र पर्यटकलाई भित्र्याउने योजना छ ।”

नेकपा (माओवादी केन्द्र)बाट प्रमुख पदका उम्मेदवार कृष्णराज सुवेदीले सिंहदरबारको अधिकार स्थानीय तहमा आएको बताउँदै प्रत्येक वडाबाट तत्काल सेवा दिइने आफ्नो पहिलो पहल हुने बताउँछन् । उनी भन्छन्,“माओवादीको दशवर्षे जनयुद्धको परिणामस्वरुप देश सङ्घीयतामा गएको छ, यसको रक्षा गर्नु नै माओवादीको प्रमुख काम हुनेछ ।”

भूकम्पले सबैभन्दा धेरै थला परेको नगरपालिका शङ्खरापुर भएकाले यसको पुनःनिर्माणमा आफ्नो ध्यान जाने उनी बताउँछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदका उम्मेदवार मीजेन्द्रकाजी श्रेष्ठ ‘हामी सक्छौँ, हामी गर्छौ’ भन्ने नाराका साथ आफू चुनावी मैदानमा उत्रेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “शङ्खरापुरको विकास अरुले आएर गर्ने होइन, हामी नै लाग्नुपर्छ, हामीले नै गर्नुपर्छ, त्यसका लागि मेरो उम्मेदवारी हो ।”

उनी सिल्करोड निर्माण, भ्रष्टचारमुक्त नगरपालिका र सुशासन समाज निर्माणमा आफ्नो पहल हुने बताउँछन् । श्रेष्ठ निर्वाचनसँगै आफ्नो भूमिका शङ्खरापुरको बासिन्दाको चाहना र भावनाअनुरुप काम गर्ने भएको धारणा व्यक्त गर्छन् ।

करिब २७ हजार जनसङ्ख्या भएको शङ्खरापुर नगरपालिकामा १७ हजार ८७२ मतदाता र २५ मतदान केन्द्र छन् । साविक ६ गाविस इन्द्रायणी, पुकुलाछी, सुनटोल, बज्रयोगिनी, लप्सीफेदी र नाङ्लेभारे मिलेर बनेको उक्त नगरपालिकामा ९ वटा वडा रहेका छन् ।

काठमाडौँको सबैभन्दा सानो नगरपालिकाको रुपमा रहेको शङ्खरापुरको विकासका लागि विभिन्न राजनीतिक दलबाट ४७ पदमा २०७ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये  ९ प्रमुख, आठ उपप्रमुख, ५० वडा अध्यक्ष, ७७ वडा सदस्य, ३७ महिला सदस्य र २६ दलित सदस्य गरी जम्मा २०७ जनाले उम्मेदवारी दिइएको निर्वाचन कार्यालय शङ्खरापुरका कम्युटर अधिकृत एलपी मालीले जानकारी दिए।

Publish on: