धापाखेलमा ८० रोपनीबढी क्षेत्रफलमा हाउजिङ बन्दै, यस्ता हुनेछन् सुविधा « Eglish Khabarhub

धापाखेलमा ८० रोपनीबढी क्षेत्रफलमा हाउजिङ बन्दै, यस्ता हुनेछन् सुविधा



काठमाडौं । ललितपुरको धापाखेलमा ८० रोपनीभन्दा बढी जग्गाको क्षेत्रफलमा डाउनटाउन रेसिडेन्सी निर्माण भइरहेको छ ।

नेपाल जग्गा तथा आवास विकास संघका पूर्वअध्यक्ष तथा पुराना रियल इस्टेट व्यवसायी मीनमान श्रेष्ठले धापाखेलमा ८० रोपनीभन्दा बढी क्षेत्रफलमा डाउनटाउन रेसिडेन्सीमा (एलोन होम) निर्माण गर्न शुरु गरेका हुन् ।

सिटीभ्यू अपार्टमेन्ट, डाउनटाउन अपार्टमेन्ट, डाउनटाउन रेसिडेन्सी इमाडोल निर्माण गरिसकेको डाउनटाउन हाउजिङले धापाखेलमा डाउनटाउन रेसिडेन्सीमा हाउजिङ निर्माण गरिने भएको हो ।

कम्पनीले उक्त क्षेत्रफलमा १ सयभन्दा बढी यूनिट हाउजिङ र ५० वटाभन्दा बढी युनिट भएको टेरेस अपार्टमेन्ट निर्माण गर्नेछ ।

डाउनटाउन हाउजिङले यसअघि दशैं तिहारलाई लक्षित गरेर बुकिङ खुल्ला गरिसकेको छ । कम्पनीले दशैं तिहारलाई लक्षित गरी बुकिङ खुल्ला गरेकोमा हालसम्म ३० प्रतिशत हाउजिङ बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले सो क्षेत्रमा ३ प्रकारले घर निर्माण गर्ने जनाएको छ । जसमा कम्पनीले टाइप एफ/एफ–म्याक्स, टाइप एम र टाइप एस गरी तीन प्रकारका घर निर्माण गर्नेछन् ।

जसमा कम्पनीले टाइप एफ/एफ–म्याक्सको घरहरू २५५० देखि २७२४ स्क्यारफिटमा निर्माण गर्नेछ भने टाइप एम २४६० स्क्यारफिट र टाइप एस २२०५ स्क्यारफिटमा निर्माण हुने बताएको छ ।

डाउनटाउन रेसिडेन्सी धापाखेल परियोजनामा कम्तिमा साढे तीन आनादेखि १० आनाको प्लटमा बंगलाहरु निर्माण गर्ने भएको छ ।

सो बंगलाहरूको मूल्य ३ करोडभन्दा माथि रहेको कम्पनीले जनाएको छ । साथै, सोही क्षेत्रफलमा ५० भन्दा बढी युनिटको टेरेस भएका अपार्टमेन्ट पनि निर्माण गर्ने भएको कम्पनीले जनाएको छ ।

यस्ता हुनेछ सुविधा ?
कम्पनीले विभिन्न ३ प्रकारका घर निर्माण गर्ने भएका छन् । उक्त रेसिडेन्सीमा निर्माण हुने ३ प्रकारका घरमा विभिन्न प्रकारका सुविधा उपलब्ध हुनेछन् ।

जसमा तीनै प्रकारका घरमा ३ वटा बेडरुम, मास्टर बेडरुम, मल्टीपर्पोज रुम, कार पार्किङ, मिनि लन, लिभिङ रुम, डाइनिङ हल, ट्वाइलेट, पुजा कोठा, मिनी टेरेस र लुगाधुने ठाउँ, गजेबो र हिट पम्पकोव्यवस्था हुनेछ । साथै, एक हजार लिटर अट्ने पानी ट्याङकीको व्यवस्था हुनेछ । तर, एफ–म्याक्सको बंगलामा भने सेमी बेसमेन्टसहित आउटडोर पटियो र स्टोर रुम हुनेछ ।

उक्त परियोजनाको मुख्य विशेषता भनेको स्वीमिङ पुल, टेबल टेनिस, कफी सप, सामूदायिक मिटिङ हल, सामूदायिक अफिस, हेल्थ क्लब, वाटर ट्रिटमेन्ट प्लान्ट, व्यक्तिगत ढलको व्यवस्थापन, सडकको इन्टरलकिङ ब्लक, २४ घण्टानै सिसिटिभी क्यामेरा, सेक्युरिटी गार्ड, पर्याप्त गेष्ट पार्किङ क्षेत्रफल, सोलार प्यानल, इलेक्ट्रिक कार चार्जिङ स्टेशन, सवारी साधन धुने स्थान र आफ्नो घरको व्यवस्थापन डेभलपरहरूले गर्नेछन् ।

त्यसैगरी, एलोन होम अर्थात् व्यक्तिगत घरमा पनि विशेष खालको सेवा सुविधाको व्यवस्था गरेको छ । जसमा कम्पनीले व्यक्तिगत घरमा रुफटप गजेबो, टि पम्प, भान्सा, स्मार्ट तरिकाले घर सजिएको, भिडियो डोर फोन, ढलको व्यवस्थापन, ग्राउन्ड र रुफटप वाटर ट्याङ्क, एक/एक वटा कार र बाइक पार्किङ, सबै कोठा र लबीमा लेमिनेट फ्लोरिङ, सबै बाथरुममा सावर, बाल्कोनीमा र टेरेसमा सबै टायलको प्रयोग हुने र डबल गलेज्ड भएको यूपीभीसीको झ्यालको व्यवस्था हुनेछ ।

साथै, सो एलोन होममा स्मार्टलाइट, स्मार्ट र सेफ किचेन, स्मार्ट वाईफाई प्लग, एसी कन्ट्रोल, होम थियटर र अलार्म बज्ने सिस्टम हुनेछ ।

Publish on: