चेम्बरद्धारा द्धिपक्षिय आर्थिक विषयमा नेपाली राजदूतहरुसँग छलफल « Eglish Khabarhub

चेम्बरद्धारा द्धिपक्षिय आर्थिक विषयमा नेपाली राजदूतहरुसँग छलफल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले  श्रीलंका, बंगलादेश र म्यानमारका लागि नेपाली राजदूतसँग द्धिपक्षिय आर्थिक विषयमा छलफल गरेको छ । कमर्सले श्रीलंका, बंगलादेश र म्यानमारसँग आर्थिक सम्बन्ध स्थापित गर्ने विषयमा राजदूतहरुसँग अन्तरक्रिया गरेको हो ।

श्रीलंकाका लागि नेपाली राजदूत डा विश्वम्भर प्याकुरेलले नेपालले श्रीलंकाका पर्यटकलाई नेपाल भित्रिने वातावरण निर्माण गर्नुपर्ने बताए ।

‘नेपालमा यो वर्ष ७ लाखको हाराहारीमा पर्यटकहरु भित्रिएका छन्, तर, श्रीलंकाका ७ प्रतिशत मात्र पर्यटक भित्रिए,’ प्याकुरेलले भने ।

नेपालबाट श्रीलंकाको सिधा हवाइ सम्बन्ध नभएको र नेपाल र श्रीलंकाको सिधा हवाइ सम्बन्ध स्थापित गर्न सके श्रीलंकाली पर्यटक नेपाल भित्रिने वातावरण निर्माण हुने प्याकुरेल बताउँछन् । श्रीलंकाका जनता बौद्ध धर्ममा विश्वास राख्छन, नेपाल गौतम वृद्धको जन्मभूभि भएकाले श्रीलंकालीले घुम्नु पर्ने देशमध्ये नेपाल उत्कृष्ट गन्तव्य हो,’ प्याकुरेल भने ।

यस्तै म्यानमारका लागि नेपाली राजदूत भीम उदासले म्यानमार ३ लाख नेपालीभाषी बस्ने भएकाले उनीहरुलाई नेपाली संस्कृतिका माध्यमबाट आकर्षण गर्नुपर्ने बताए । ‘म्यानमार ३ लाख नेपाली भाषीको देश हो, नेपाली संस्कृतिको महत्वबारेमा जानकारी दिएर उनीहरुलाई आकर्षित गर्नुपर्ने हुन्छ,’ उदासले भने ।

नेपाली संस्कृतिको महत्वबारेमा म्यानमारका जनतालाई जानकारी गराउनका लागि नेपाल हाउसहरु स्थापित गर्नुपर्ने उदास बताउँछन्।

‘२ दशकपछि नेपाल र म्यानमारको हवाई सम्बन्ध जोडिएको छ, यो सम्बन्धलाई जोगाउनु पर्ने हुन्छ,’ उदासले भने।

बंगलादेशका लागि नेपाली राजदूत डा. चोपलाल भुसालले बंगलादेशले हासिल गरिरहेको व्यापारिक सफलताबाट नेपालले शिक्षा लिनुपर्ने बताए।

‘सन् २०१२ सम्म नेपाल र बंगलादेशको व्यापार समान थियो, हाल नेपालको बंगलादेशसँग ७ अर्ब रुपैयाँको व्यापार घाटा छ,’ भुसालले भने ।

संसारभर आफ्नो प्रभुत्व फैलाएको चीनमा समेत बंगलादेशले उत्पादन बिक्री गर्ने गरेको उनले बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजदूतहरुले आर्थिक सम्बन्ध स्थापित गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्न सहयोगी भूमिका निर्वाह गर्नु पर्ने बताए ।

Publish on: