![](https://internal.appharu.com/wp-content/uploads/2021/07/sebon-nepal-768x433.jpg)
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि यसअघि दिएको १२ जनाको आवेदन रद्ध भएको छ । यसअघिको आवेदन रद्द गर्दै अध्यक्षको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले नयाँ सूचना निकालेको छ ।
नयाँ सूचना निकालेसँगै यसअघि परेको १२ जनाको आवेदन रद्द भएको समितिका सदस्य अर्थसचिव मधुकुमार मरासिनीले क्लिकमाण्डूलाई बताए । ‘यसअघि गठन भएको समिति विघटन भएर नयाँ समिमि गठन भएको छ’ उनले भने ‘नयाँ समिति मन्त्रिपरिषदको निर्णय अनुसार गठन भएको हो । यो सँगै अध्यक्षको लागि आकांक्षीले पुनः आवेदन दिनुपर्ने छ ।’
बोर्डको अध्यक्ष बन्नका लागि यसअघि १२ जनाको आवेदन परेको थियो । आवेदन दिनेमा अनिल पौडेल, नेपाल नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उप–कार्यकारी निर्देशक डा.नवराज अधिकारीले आवेदन दिएका थिए ।
यस्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्वमहाप्रबन्धक सिताराम थपलिया, बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाई, सेयर बजारका जानकार डा. केशवप्रसाद श्रेष्ठ, जीवन अमगाई, रमेश हमाल, हेमन्त बस्याल र अम्बिका शर्मा लामिछानेले आवेदन दिएका थिए । यी सबैको आवेदन रद्द भएसँगै पुनः आवेदन दिनुपर्ने भएको छ ।
अर्थमन्त्रालयले कात्तिक ११ गते बोर्डको अध्यक्ष नियुक्तिका लागि भन्दै १५ दिन अवधिभित्र शिलबन्दी आवेदन दिन माग गरेको थियो ।
उक्त आवेदन रद्द गरेर दुई महिनापछि पुस १५ गते पुनः अर्को सूचना निकालेको छ ।
धितोपत्र बोर्डको यसअघिका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सीइओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका थिए । उक्त प्रकरणमा परेपछि साउदले राजीनामा दिएका छन् भने ढुंगानालाई सरकारले नै बर्खास्त गरेको छ ।
सरकारले निलम्बन गरेपछि ढुंगाना आफू निर्दोष रहेको पुष्टि गर्न भन्दै सर्वोच्च अदालत पुगेका छन् । बोर्डमा आउने नयाँ नेतृत्वले करिब २ वर्ष मात्रै काम गर्न पाउनेछन् ।
SHARE YOUR THOUGHTS